आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जंगलमा भेटिएको शवको पहिचान हुनै सकेन, बोरामा भेटिएको थियो टाउको

सोमबार, ०९ फागुन २०७८, २० : १०
सोमबार, ०९ फागुन २०७८

विराटनगर । सुनसरीको धरान–४ स्थित धरान–भेडेटार सडक छेउको जंगलमा गत बुधबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन । शवको पहिचान नहुँदा प्रहरीलाई घटनाको अनुसन्धान गर्न पनि सकस भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले शवको पहिचान हुन नसक्दा घटनाको अनुसन्धान प्रभावित भएको बताए । गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।

‘हामीले अहिलेसम्म शवको सनाखत गर्न सकेका छैनौं, अनुहार हेर्दा नेपाली नै हो भन्नेचाहिँ पहिचान भएको छ, उसले जनै लगाएको छ,’ बिसीले भने ।

केही समय अगाडि मोरङको कटहरीको उखुबारीमा गाडिएको अवस्थामा शव फेला परे पनि प्रहरीले घटना अनुसन्धान तीव्र गतिमा गरेको थियो । तर, धरानको जंगलमा भेटिएको शवको विषयमा भने अनुसन्धान लम्बिने देखिएको प्रहरीकै भनाइ छ ।

‘उखुबारी हत्याकाण्डमा सीमकार्ड भेटियो र अनुसन्धान सफल भयो,’ बिसीले भने, ‘धरानमा भेटिएको शवका बारेमा अन्य केही क्लु भेटिएन । मानिस चिन्ने अवस्था पनि रहेन । उनको लुगा बाहेक अन्य केही अनुसन्धानलाई सहयोग हुने कुरा भेटिएन, मुख्य कुरा त उनको पहिचान नै भएन ।’

प्रहरीले शव फालेको कहिले भन्ने पनि कन्फर्म गर्न सकेको छैन । बुधबार भेटिए पनि ३ दिन अगाडि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने देखिएको प्रहरीको अनुमान छ । ‘एउटा बोरामा दाहिने खुट्टा र टाउको छ । त्यसदेखि अलिक पर अर्को बोरामा शरीर छ । हामीले सबै खोजी ग¥यौं,’ बिसीले भने, ‘धरान, भेडेटारतिरको हो जस्तो छैन । अलिक टाढाकै मान्छे हो जस्तो छ ।’

बिसीले हत्याको घटना नयाँ नयाँ रुपमा आउन थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘प्रहरीको अपराध अनुसन्धानमै चुनौती थपेको छ । अहिलेको सामाजिक सञ्जाल र युट्युवले अपराध गर्नेलाई नयाँ नयाँ आइडिया दियो,’ उनले भने, ‘अनुसन्धानमा प्रहरी पनि उत्तिकै अब्बल बन्नु आवश्यक छ ।’

उक्त शव ३० देखि ३५ वर्षको व्यक्तिको रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवको पहिचानका लागि स्केच सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप