शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी विरुद्धको आन्दोलनप्रति ओलीको आक्रोश, भने– प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

सोमबार, ०९ फागुन २०७८, १७ : १९
सोमबार, ०९ फागुन २०७८

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसी विरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दह चोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका क्रान्तिकारीहरुले सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको बताए । 

आफूमाथि ढुंगामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी भागेको भन्दै उनले सरकारमा रहेर सडकमा प्रदर्शन गर्ने र प्रहरीमाथि ईटा प्रहार गरेकोमा आक्रोश व्यक्त गरे । 

‘हिजो मैले देखेँ । तीन चारसय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैन । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि  ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किन भने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ अध्यक्ष ओलीले भने, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनेँ– तपाईँहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’ 

सडक भत्काएर प्रहरीमाथि ढुंगा हानेकालाई कसैले नरोकेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएको माओवादी केन्द्र र उसका भ्रातृ संगठनप्रति इंगित गर्दै विरोध गरे । 

‘कत्रो मिहिनेत र कति खर्च गरेर बाटो बनाएको हुन्छ । ती बाटो भत्काइएको छ । तपाईँहरुले देख्नुभयो होला बाटो भत्काएको, सरकारमा हुने क्रान्तिकारीहरु बाटो बनाउनुपर्ने ठाउँमा भत्काएका छन् । बाटो न नभत्काओ भन्ने कोही छैनन् । कस्तो सरकार हो ? अनि प्रहरीमाथि ढुंगा हानेका छन् । बाटो नभत्काओ, प्रहरीमाथि ढुंगा नहान भन्ने कोही छैनन् । प्रहरी कुटाइ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नुपरेन,’ अध्यक्ष ओलीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप