शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच भेटवार्ता

सोमबार, ०९ फागुन २०७८, १५ : ५०
सोमबार, ०९ फागुन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पौडेलले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए । 

एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उनले जानकारी दिए ।

उनले भने– ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल गर्यौं । एमसीसीको समस्या पनि अहिले हाम्रो अगाडि जटिल रुपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यी कुरा हामीले राम्रैसँग कुरा ग¥यौँ । सैद्धान्तिक रुपमा त हाम्रो बीचमा केही मतभेदजस्तो देखिएन । तर केही प्राविधिक कुराहरु छन् । उहाँहरु मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताए । उनले देशमा संकट नगहिरियोस् भन्नका लागि आफु प्रयत्नशील रहेको बताए । उनले भने– ‘हाम्रो पुस्ता नै एउटा असफल पुस्तामा परिणत हुन थाल्यो । मुलुक नै असफल राष्ट्रतिर जाने हो कि भन्ने मलाई चिन्ता भएर मैले पहिलेदेखि केपी ओलीलाई भेटेको । त्यसपछि मैले यी पाँच दलका नेताहरुसँग कुरा गरेको । त्यही श्रृङ्खलामा मैले अहिलेपनि देशको संकट झन गहिरिदै नजाओस् त्यसैमा म प्रयत्नशील छु ।’

उनले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकि सरकारले गरेको सहयोग भएको बताए । एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पुर्याउने उनको भनाई छ । उनले भने– ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई मार्केटमा लगेर बेच्नका लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’

एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप