शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन पटक–पटक फुट्छ उपेन्द्र यादवको पार्टी ?

सोमबार, ०९ फागुन २०७८, १३ : ५५
सोमबार, ०९ फागुन २०७८

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः फुटको सँघारमा पुगेको छ । यसअघि महन्थ ठाकुर पक्षले सो पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनाइसकेको छ । लोसपा बनेको सात महिना नपुग्दै पुनः जसपा विभाजनको संघारमा पुगेको छ ।

सामाजिक संस्थाका रूपमा रहेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाललाई मधेस आन्दोलनसँगै ०६४ मा निर्वाचन आयोगमा दर्ता गराएर विधिवत् पार्टीका रूपमा सञ्चालन गर्न थालेपछि यादव नेतृत्वको पार्टी पटक–पटक फुट्दै आएको छ । आखिर प्रश्न उठ्छ– उपेन्द्र यादवले नेतृत्व गरेकै पार्टी पटक–पटक किन विभाजन हुन्छ ?

यादव नेतृत्वको पार्टी यसअघि जति पटक विभाजित भए पनि ती सबैको मुख्य कारण सत्ता नै थियो । चाहे विजयकुमार गच्छदारले विभाजन गरेको होस् या जेपी गुप्ताले । वा महन्थ ठाकुरले गरेको  विभाजन नै किन होस् । फोरम, संघीय समाजवादी वा जसपाका सबै विभाजनका पछाडिको कारण सत्ता नै रहँदै आएको छ ।

अहिले पनि उपेन्द्र यादवले मन्त्रिमण्डलमा मन्त्रीहरू एकलौटी ढङ्गबाट पठाएको भन्दै डा.भट्टराई पक्षको असन्तुष्टि छ । यसअघि महन्थ ठाकुरले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेपछि उपेन्द्र यादव असन्तुष्ट भएका थिए र पार्टी विभाजन भएको थियो । त्यसअघि गच्छदारले माधवकुमार नेपालको सरकारमा दाबी गरेका थिए भने उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने दाबी गरेका थिए । सोही विवादमा पार्टी विभाजन भएको थियो । डा.भट्टराईको नेतृत्वमा सरकार निर्माण हुँदा पनि त्यही विवाद दोहोरिँदा जेपी गुप्ता फोरमबाट अलग भएका थिए ।

फुटको शृङ्खला

मधेस आन्दोलन चलिरहेकै बेला सरकारसँग २१ बुँदे सम्झौता हुँदा त्यसबाट असन्तुष्ट भएर भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, किशोर विश्वास, जितेन्द्र सोनललगायत नेताहरू अलग भएर मधेसी जनअधिकार फोरम मधेस बनाएका थिए । त्यसपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम हालका जसपा शृङ्खलाबद्ध रूपमा विभाजन हुँदै गयो ।

यादव नेतृत्वको फोरमबाट अमर यादवसहितका नेताहरू अलग भएर मधेस फोरम गठन गरेका थिए । त्यस लगत्तै सोही पार्टीबाट अलग भएर विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि सोही पार्टीबाट जेपी गुप्ता अलग भएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टी गठन गरेका थिए ।

त्यो बीचमा कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि तत्कालीन फोरमसँग एकीकरण गरेको थियो । तर, त्यो एकीकरण एक वर्ष पनि टिक्न सकेन । फोरमबाट लोक दल अलग भयो ।

त्यस्तै, फोरमबाट अलग भएका अमर यादव पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण ६ महिना पनि टिक्न सकेन । अमर आफ्नो समूह लिएर अलग भए ।

यस्ता साना–साना पार्टीसँग एकीकरण गरेर अलग भएका थुप्रै घटना छन् । नेपाल सद्भावना पार्टी लिएर सरिता गिरीले पनि तत्कालीन फोरमसँग एकीकरण गरेकी थिइन् । तर, उनी पार्टीबाट कारवाहीमा परेर अहिले अलग भएकी छिन् ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यराति महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल बनेको थियो । तर, २०७८ भदौमा सो पार्टी विभाजन भयो ।

२०७६ बैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भएको थियो । दुई दलबीच एकीकरण भएको अढाई वर्ष नपुग्दै दुई नेताबीच अहिले खटपट सुरु भएको छ । पार्टीमा चिरा परिसकेको छ, विभाजनको घोषणा मात्र हुन बाँकी छ ।

आखिर प्रश्न उठ्छ– यसरी उपेन्द्र यादव नेतृत्वको पार्टी शृङ्खलाबद्ध रूपमा किन विभाजन हुन्छ ? के यादवले पार्टी चलाउन नजानेका हुन् ?

फुटको कारण

उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी सिद्धान्त र विचारको विवादभन्दा पनि सरकारको भागबण्डा र नेतृत्वको लडाइका कारण पटक–पटक विभाजन हुँदै आएको नेताहरूको स्वीकारोक्ति छ । यादवलाई नजिकबाट चिनेका वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्छन्, ‘उपेन्द्र यादवको व्यक्तिगत शैली र सोचका कारण उहाँ नेतृत्वको पार्टी पटक–पटक विभाजन भएको हो ।’

अध्यक्ष यादवले आफ्नो शैली र सोचमा परिवर्तन नल्याएसम्म यो शृङ्खला नरोकिने बताउँदै उनले अब फेरि पार्टी विभाजन भयो भने यादवले अझ बढी मेहनत र आत्मसमीक्षा गर्नुपर्ने बताए ।

अरू पार्टी पनि विभाजन भएका छन्, तर उपेन्द्र यादवको पार्टी अलि बढी नै विभाजन भएको बताउँदै अग्रहरीले यसको यथार्थ के हो भन्नेबारे यादवले बुझ्नुपर्ने सुझाए । उपेन्द्र यादवको मनमा त्यो भावना छ कि छैन आफूलाई थाहा नभए पनि उनीमाथि जातिवादको आरोप लाग्ने गरेको अग्रहरी बताउँछन् ।

मधेसको राजनीतिमा उपेन्द्र यादवलाई माइनस गरेर राजनीति सम्भव नहुने अग्रहरीको तर्क छ । मधेसका लागि उपेन्द्र यादव चाहिने व्यक्ति भएको बताउँदै उनले पार्टी एकीकरण गर्दा वा नेता भित्र्याउँदा ध्यान नपुर्‍याएका कारणले पनि विभाजनको यो अवस्था सिर्जना उनी बताउँछन् ।

अग्रहरीका अनुसार पहिलेको फोरम फुटमा भारतको पनि हात थियो । उनी भन्छन्, ‘भारत कुनै मधेसी लिडरसीप आफ्नो प्रभावबाट बाहिर गएको सहन सक्दैन ।’ उनी भन्छन्, ‘यसअघि राजपा नेपालसँग गरिएको एकीकरण अप्राकृतिक थियो, बाबुरामसँग त झन् कुनै मेल खाने कुरै थिएन, तर त्यो कुरामा यादवले समयमा ध्यान नदिएका कारण आज क्षति व्यहोर्नुपर्यो ।’

लामो समय उपेन्द्र यादवको साथमा काम गरेर अलग भएका जेपी गुप्ता भन्छन्, ‘उपेन्द्र यादवमा आफूबाहेक अरूलाई नेता मान्नुमा समस्या रहेका कारण पटक–पटक पार्टी विभाजन भएको हो ।’

पार्टीमा आफूबाहेक अरू सबैलाई उनले प्रतिस्पर्धी देख्ने गरेको टिप्पणी गर्दै गुप्ताले उपेन्द्र यादवमा सामूहिक नेतृत्वको संस्कार नरहेको कारणले पनि उनको नेतृत्वमा नेताहरू टिक्न नसकेको बताए ।

अध्यक्ष यादवले आफ्नो पार्टी विभिन्न षड्यन्त्रका कारण विभाजन हुँदै आएको कुरा भन्दै आएका छन् । उनले आफ्ना निकट नेताहरूलाई आफ्नो पार्टी कुनै नेताले होइन, देशी विदेशी शक्तिले विभाजन गर्दै आइरहेको चर्चा गर्ने गरेका छन् ।

जसपा निकट नेपाल इञ्जिनियरिङ्ग समाजका सल्लाहकार ई.वीरेन्द्र यादव भन्छन्, ‘उपेन्द्र यादव जब–जब आफ्नो पार्टी राम्रो बनाउन थाल्नुहुन्छ, संगठित गर्न थाल्नु हुन्छ अनि कतै न कतैबाट उहाँमाथि षड्यन्त्र सुरु हुन्छ ।’

उपेन्द्र यादवलाई कमजोर गर्नका लागि देशी विदेशी शक्ति लागेर पार्टी विभाजन गर्ने गरेको थुप्रै उदाहरण रहेको वीरेन्द्रको बुझाइ छ । यादवसँग फुटेर गएका नेताहरू सबै समाप्त भएका तर उपेन्द्र यादव झन् शक्तिशाली भएर आएको उनको दाबी छ । उनी भन्छन्, ‘गल्ती अरू नेतामा पनि रहेको बताउँदै इञ्जिनियर यादवले भने, ‘उपेन्द्र यादवको सोच, सिद्धान्त र विचारमा हिँड्न नसकेका नेताहरूले पार्टी छाडेर हिँड्नुभएको छ ।’

जसपाको पछिल्लो सङ्कट

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पछिल्लो समय पार्टीको कार्यकारी भूमिका खोजेको आरोप उपेन्द्र यादव पक्षको रहेको छ । पार्टीमा तीन कलस्टर अनुसार तीनजना अध्यक्ष रहनुपर्ने अध्यक्ष भट्टराईको माग रहेको छ भने त्यसमा उपेन्द्र यादवको सहमति देखिएको छैन ।

जसपाको अन्तरिम विधानअनुसार पार्टीमा दुईजना अध्यक्षको व्यवस्था छ । तर, अहिले महन्थ ठाकुर अलग भएपछि उपेन्द्र यादव मात्र अध्यक्ष छन्, अर्को अध्यक्ष राख्नका लागि भट्टराई पक्षले यादवलाई दबाव दिइरहेको छ ।

पार्टी एकीकरणको समय डा.भट्टराई आफू परिषद्को अध्यक्षमै बस्ने सहमति गरेका थिए । आफू पार्टीमा सेरेमोनियल भएर बस्न तयार रहेको भनेका थिए । तर, आज उनमा कार्यकारीको महत्त्वाकाङ्क्षा जागेको पत्रकार अग्रहरी बताउँछन् ।

जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले भने बाबुरामले कार्यकारी पद नखोजेको बताए । उनले भने, ‘बाबुरामजीले कहिल्यै पनि कार्यकारी खोज्नुभएको छैन, उहाँले सामूहिक नेतृत्वको कुरा मात्र गर्नुभएको छ ।’

उता डा. भट्टराई निकट अर्का एक नेता भन्छन्, ‘उपेन्द्र यादव सामूहिक नेतृत्व प्रणालीमा नचल्नु र एकलकाँटे प्रवृत्ति देखिनु नै पटक–पटक पार्टी फुट्ने मूल कारण हो । अहिले पनि जसपामा यही कारणले समस्या देखिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप