बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : सरदार बल्लभ भाइ पटेलको अठोट

सोमबार, ०९ फागुन २०७८, १२ : २२
सोमबार, ०९ फागुन २०७८

सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै ध्यान दिने गर्थे । जनहितका लागि जस्तोसुकै जोखिम उठाउन परे पनि पछि पर्नुहुन्न भन्ने उनको मान्यता थियो ।  

कुरा त्यतिबेलाको हो, जति बेला उनी पहिलो दिन स्कूल जाँदै थिए । त्यतिबेला अहिलेको जस्तो जताततै स्कूलको पहुँच थिएन । एउटा सामान्य स्कूल भेट्न पनि निकै बाटो हिड्नुपथ्र्यो । हिडन् साधन पनि अहिले जस्तो प्रचुर थिएन । नजिक पुँडो जहाँ पुग्ने भए पनि पैदलै हिँड्नुपथ्र्यो । जुन दिन उनी स्कूल जाँदै थिए केही पर पुगेपछि बाटामा गाडिएको एउटा बडेमानको ढुङ्गा देखे । साथीहरू सदा झ्यैँ वास्तै नगरी अघि बढे त। उनले भने बेवास्ता गर्न सकेनन् र त्यसलाई उखालेर फाल्न लागे । तर, ढुङ्गा निकै गाडिएको थियो । उनको बलले फाल्न त के हल्लाउनसम्म सकिरहेको थिएन । तैपनि उनी सकिनसकी हल्लाउन लागे । उनको व्यवहार देखेर साथीहरूले आश्चर्य मान्दै भने–

‘होइन हो साथी ! के गर्न लागेको यो ? स्कूल पुग्न बेर भइसक्यो । हामी स्कूल जान हिँडेका हौँ, खेल्न होइन बुझ्यौ ?’

साथीहरूको कुरा सुनेर उनले आशय प्रष्ट पार्दै भने–

‘साथीहरू ! त्यसो नभन्नुस्, खेल्न लागेको होइन । देखेनौ बाटोको बीचमा ढुङ्गा गाडिएको । यसले बाटो हिँड्ने बटुवाहरूलाई कति वाधा पारेको होला ? हुन सक्छ कतिलाई ठेस लाग्यो होला । कतिको रगत बगेको होला । त्यसैले उखेलेर फाल्न खोजेको हुँ । केही छैन तिमीहरू जाँदै गर । म यसलाई उखालेर फाल्छु र दौडिँदै आएर भेट्ने छु ।’

उनको कुरा सुनेर साथीहरूले ढुङ्गाको नालीबेली बताउँदै भने–

‘होइन साथी ! त्यत्तिकै गाडिएको ढुङ्गा होइन यो । यो त किसानले आफ्नो सिमाना छुट्याउन ठोकेको किला हो । त्यसैले यसलाई हटाउनु हुन्न । यसै पनि यो धेरै पहिले गाडिएको ढुङ्गा हो । यसको गहिराइ पनि निकै तललम्म पुगेको छ । तिमीले एकछिन प्रयास गरेको भरमा हल्लिन्न । उखेलेर फाल्ने कुरा त परै राखौँ । त्यसैले यतातिर लागेर समय फाल्नु व्यर्थ छ । आउँ बरू जाउँ ,स्कुल पुग्न बेर भइसक्यो ।’

साथीहरूको भनाइ उनलाई मन परेन तर यसको छनक दिनु राम्रो लागेन र सम्झाउँदै भने–

‘कुरा त्यसो होइन साथीहरू ! जसले, जहिले, जुन कारणले गाडेको भए पनि यस ढुङ्गाले बीचबाटोमा रहेर धेरैलाई दुःख दिइरहेको छ । चाहे ढुङ्गा होस् चाहे अरू नै कुनै यदि कसैले अरूलाई बाधा दिएको छ उसलाई उखेलेर फाल्नैपर्छ । बाटो सबैको हो । सबैको हो भने निर्वाध हिँड्न पाउने अधिकार पनि सबैलाई हुन्छ । यसलाई रोक्ने छुट कसैलाई पनि हुँदैन ।’

उनको अडान देखेर यस्तासित के कुरा गर्ने भन्दै साथीहरू बाटो लागे । उनी भने ढुङ्गो हल्लाउनतिरै लागे । नभन्दै एकैछिनको प्रयासमा ढुङ्गो हल्लाउन मात्र होइन उखेर फाल्नसमेत सफल भए । बल्ल उनलाई सन्तोष मिल्यो र दौडिँदै गएर साथीहरूको समूहमा सामेल हुन पुगे ।

यो एउटा दृष्टान्त हो । वास्तबमा हामी सबैको जीवनमा यही नियमले काम गरेको हुन्छ । कसैको अधिकारमा बाधक बनेर रहेको छ भने काँडा जति नै तिखो भए पनि पन्छाउनै पर्छ । जनताभन्दा ठूलो अर्को हुन्न र जनहितभन्दा ठूलो कुरा पनि अर्को हुन सक्दैन । यसमा बाधक बनेर रहेको छ भने जो भए पनि उखेलिनै पर्छ, उखेलेर फाल्नै पर्छ । यहाँ यो वा त्यो र यसको वा उसको भन्ने कुरा आउन्न र कसैलाई पनि हुन्न र हुन्न र सकिन्न भनेर पन्छिने छुट पनि हुँदैन ।

प्रयास गरे समस्या जति नै ठूलो भए पनि समाधान गर्न सकिन्छ । नगरे सानै समस्या पनि समाधान गर्न सकिन्न । हो, सुरूमा एक्लै पर्न सकिन्छ तर सुरू गरेपछि सहयोग गर्नेहरू बढ्दै जान्छन्, सहयोगी हात थपिँदै जान्छन् । सुरू नै भएको छैन भने थप्ने कसले, थपिने कसरी । 

न रामले आफूभन्दा बलियो छ, धनीमानी छ भनेर प्रयास नगरेका भए रावणमाथि विजय पाउन सक्थे न कृष्णले आफ्नै मामा त हुन् भनेर मुख हेर्न लागेका भए कंशको अत्याचारबाट मथुरावासीलाई मुक्त गर्न सक्थे । उनीहरू बलियो, निर्धो र आफ्नो अर्को नभनी लागि परेकाले नै त्यस्ता समाजका बाधकहरूलाई पन्छाउन सफल भएका हुन् । उद्देश्य राम्रो लिनुपर्छ सहयोगीको अभाव हुँदैन । रामलाई रावण पन्छाउनका लागि बाँदर र भालुको मात्र होइन उनकै भाइ विभीषणको सहयोग मिलेको थियो, कृष्णलाई कंश पन्छाउनका लागि कंशकै बाबु उग्रसेनको सहयोग मिलेको थियो । 

त्यसैले अर्कोले गरेको छैन भन्दै हात बाँधेर बस्न पनि हुँदैन र कसले केही भन्ने हुन् कि  भनेर निच मारे बस्न पनि हुँदैन । जे गर्नुपर्ने हो आफैँ अघि सरेर गर्ने हो, गर्न सिकाउने हो । अरूले केही भन्छन् कि भन्ने कुरा पनि त्यस्तै हो । कसले के भने भनेर हेर्ने पनि होइन,  आफूले के भनिएको छ भनेर सोच्ने हो । जोजो अगाडि बढ्छन् उनीहरूले जनसमर्थन पनि पाउँदै जान्छन् र एक दिन ठूला नेता बनेर दुनियाँका हाइहाइ हुन पुग्छन् । सरदार बल्लभ भाइ पटेल यसैका उदाहरण हुन् ।

देशलाई स्वतन्त्र बनाएरै छाड्ने उनको उद्देश्य थियो । यसै निम्ति उनले सानैदेखि व्यवहार पनि त्यस्तै देखाउँदै थिए र उनलाई सहयोग गर्नेहरू पनि थपिँदै गएका थिए । यसैका कारण कहिल्यै घाम नअस्ताउने साम्राज्य खडा गरेर बसेको तत्कालीन बृटिश सरकारसमेत भारतबाट भाग्न वाध्य भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप