पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या
हत्या आरोपमा श्रीमानसहित दुई पक्राउ
गाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।
मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो कोइरीलाई फागुन ६ गते नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सोधपुछका क्रममा अमितले योजना अनुसार नै श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रवक्ता विष्टले बताए ।
यस्तो छ हत्याको कारण
प्रहरीका अनुसार अमितले अफसानासँग प्रेम विवाह गरेका थिए । गाउँमा पञ्चायतको भेलाले अर्कै समुदायसँग विवाह गरेकै कारण अमितलाई अफसानासँग अलग रहन निर्देश गरेको प्रहरीको भनाइ छ । पञ्चायतले ४० हजार रुपैयाँ जरिवानासहित भोजभतेर खाएर अलग हुने निर्णय गरेको तर अमितसँग अलग हुन नमानेपछि अमितकै योजनामा अफसानाको हत्या भएको प्रहरीको निष्कर्ष छ ।
भारतको सीतामढी जिल्लास्थित भैरव कोठी बस्ने अफसना खातुनको शव गत मंगलबार फेला परेको थियो ।
प्रहरीका अनुसार उनीहरु सर्लाहीको ईश्वरपुर–१३ स्थित श्रीनगरमा मेला भर्न एक हजार ६ सय रुपैयाँमा टेम्पो रिजर्भ गरी मृतक महिलाका दुई नाबालक छोरालाई साथमा लिएर गएका थिए ।
टेम्पो फिर्ता गएपछि प्रमोद राउतले प्रदेश २–०२–००२ प ७९५७ नम्बरको मोटरसाईकलमा दुई पटक गरी सबै जनालाई पालैपालो बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नगरपालिका वडा नम्बर १२ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा पु¥याएका थिए ।
प्रहरीका अनुसार अमित र अर्का एक व्यक्तिले अफसाना खातुनलाई सागरनाथ जंगलतर्फ लगेका थिए । यता प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट दक्षिण कान्तिबजारस्थित मैया योन्जनको होटलमा पुर्याएका थिए ।
आरोपित अमित महतो कोइरी र अर्का पुरूषले अफसानालाई जंगलमा लगेर पछाडिबाट घाँटीमा सलले तीन फन्को बाँधी लडाएर कञ्चट र अनुहारमा लात्ती हान्दै हत्या गरेको प्रहरीको भनाइ छ ।
पञ्चायतको त्यो फैसला
विवाह गरेर अमितले अफसानालाई आफ्नो घर लगे पनि गाउँसमाजले उक्त विवाहलाई अस्वीकार गरेको बताइन्छ । बेग्लै समुदायकी महिलासँग विवाह गरेको भन्दै पञ्चायतले अफसाना खातुनलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति दिएर अलग हुन फैसला गरेको थियो । सो जरिवाना रकमबाट गाउँसमाजमा उनले भोजसमेत खुवाउनु परेको थियो ।
गाउँ समाजले विवाहलाई मान्यता नदिएपछि उनीहरु दुई नाबालक छोरालाई लिएर विगत ९ महिनादेखि सर्लाहीको मंलगवा नगरपालिका वडा नम्बर ९ मा कोठा भाडा लिई सँगै बस्दै आएका थिए ।
अफसाना गर्भवतीसमेत रहेकीले उनले कानुनअनुसार विवाह गर्न अमितलाई दबाब दिँदै आएकी थिइन् । त्यसपछि तनावमा रहँदै आएका अमितले सँगै काम गर्ने अर्का एक जना पुरुष र प्रमोद राउतसँग मिलेर अफसानाको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।
अफसानाको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ का प्रमोद राउतलाई पक्राउ गरी सोधपुछ गरेको थियो । प्रमोद र अमितले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेसँगै आवश्यक कानुनी कारवाही अघि बढाइएको र फरार अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड