बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या

हत्या आरोपमा श्रीमान्सहित दुई पक्राउ
सोमबार, ०९ फागुन २०७८, १० : ५०
सोमबार, ०९ फागुन २०७८

गाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण  महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।

मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो कोइरीलाई फागुन ६ गते नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सोधपुछका क्रममा अमितले योजना अनुसार नै श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रवक्ता विष्टले बताए ।

यस्तो छ हत्याको कारण

प्रहरीका अनुसार अमितले अफसानासँग प्रेम विवाह गरेका थिए । गाउँमा पञ्चायतको भेलाले अर्कै समुदायसँग विवाह गरेकै कारण अमितलाई अफसानासँग अलग रहन निर्देश गरेको प्रहरीको भनाइ छ । पञ्चायतले ४० हजार रुपैयाँ जरिवानासहित भोजभतेर खाएर अलग हुने निर्णय गरेको तर अमितसँग अलग हुन नमानेपछि अमितकै योजनामा अफसानाको हत्या भएको प्रहरीको निष्कर्ष छ ।

भारतको सितामढी जिल्लास्थित भैरव कोठी बस्ने अफसना खातुनको शव गत मंगलबार फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरु सर्लाहीको ईश्वरपुर–१३ स्थित श्रीनगरमा मेला भर्न एक हजार ६ सय रुपैयाँमा टेम्पो रिजर्भ गरी मृतक महिलाका दुई नाबालक छोरालाई साथमा लिएर गएका थिए ।

टेम्पो फिर्ता गएपछि प्रमोद राउतले प्रदेश २–०२–००२ प ७९५७ नम्बरको मोटरसाईकलमा दुई पटक गरी सबै जनालाई पालैपालो बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशला नगरपालिका वडा नम्बर १२ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा पुर्‍याएका थिए ।

प्रहरीका अनुसार अमित र अर्का एक व्यक्तिले अफसाना खातुनलाई सागरनाथ जंगलतर्फ लगेका थिए । यता प्रमोद राउतले मोटरसाईकलमा २ बच्चालाई सो स्थानबाट दक्षिण कान्तिबजारस्थित मैया योन्जनको होटलमा पुर्‍याएका थिए ।

आरोपित अमित महतो कोइरी र अर्का पुरूषले अफसानालाई जंगलमा लगेर पछाडिबाट घाँटीमा सलले तीन फन्को बाँधी लडाएर कञ्चट र अनुहारमा लात्ती हान्दै हत्या गरेको प्रहरीको भनाइ छ ।

पञ्चायतको त्यो फैसला

विवाह गरेर अमितले अफसानालाई आफ्नो घर लगे पनि गाउँसमाजले उक्त विवाहलाई अस्वीकार गरेको बताइन्छ । बेग्लै समुदायकी महिलासँग विवाह गरेको भन्दै पञ्चायतले अफसाना खातुनलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति दिएर अलग हुन फैसला गरेको थियो । सो जरिवाना रकमबाट गाउँसमाजमा उनले भोजसमेत खुवाउनु परेको थियो ।

गाउँसमाजले विवाहलाई मान्यता नदिएपछि उनीहरु दुई नाबालक छोरालाई लिएर विगत ९ महिनादेखि सर्लाहीको मंलगवा नगरपालिका वडा नम्बर ९ मा कोठा भाडा लिई सँगै बस्दै आएका थिए ।

अफसाना गर्भवतीसमेत रहेकीले उनले कानुन अनुसार विवाह गर्न अमितलाई दबाब दिँदै आएकी थिइन् । त्यसपछि तनावमा रहँदै आएका अमितले सँगै काम गर्ने अर्का एक जना पुरूष र प्रमोद राउतसँग मिलेर अफसानाको हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।

अफसानाको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ का प्रमोद राउतलाई पक्राउ गरी सोधपुछ गरेको थियो । प्रमोद र अमितले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेसँगै आवश्यक कानुनी कारवाही अघि बढाइएको र फरार अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप