शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ कर्णालीमा प्रदेश रङ्गशाला निर्माणको काम

पूर्व मुख्यमन्त्रीले गरे निरीक्षण
सोमबार, ०९ फागुन २०७८, १० : ४०
सोमबार, ०९ फागुन २०७८

कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालामा यतिबेला डिजाईन, फिल्ड निर्माण लगायत पहिलो चरणका काम भइरहेका छन् ।

गत कार्तिक पहिलो साता मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्यालका अनुसार रङ्गशालाको निर्माण ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

रङ्गशाला निर्माणको ठेक्का गत कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले लिएको हो । संज्यालले रातोपाटीसँग भने, ‘निर्माण कम्पनीले ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा छ ।’ उनका अनुसार कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गरेर रङ्गशाला निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

यो योजनाको कुल लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ छ । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने यसमा भलिबल, बास्केटबल लगायतका खेल खेल्न मिल्नेछ ।

यस्तै, भीआइपी वेटिङ रुम, भीआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।

शनिबार मात्रै प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको गौरवको आयोजना प्रदेश रङ्गशाला निर्माण कार्यको निरीक्षण गरेका छन् । उनले कर्णाली प्रदेश सरकारको एकमात्र गौरवको आयोजना भएकाले यो कामलाई जतिसक्दो छिटो सक्ने गरी काममा लाग्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।

पूर्व मुख्यमन्त्री शाही कै कार्यकालमा उक्त योजनाको पहल थालिएको  थियो । ‘कर्णालीमा अहिलेसम्म जति निर्माण कम्पनी आए, उनीहरुले समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाउने काम भएको छ,’ निरीक्षणका क्रममा उनले भने, ‘अहिले काम गरिरहेको कम्पनीले समयमै काम सक्नेमा विश्वास व्यक्त गर्दछु ।’

उनले दिनको यति घण्टा काम गर्ने भन्दा पनि दिनमा कति आउटपुट दिन सक्यौं भन्नेतिर लाग्न निर्माण कार्यमा संलग्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

निरीक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्याल परिषदका कर्णाली प्रदेश सदस्य टक्क बहादुर शाही पनि सहभागी थिए । सदस्यसचिव संज्यालले रङ्गशालाको काम नरोकिने गरी काम अगाडि बढाउन आफूले निर्माण कम्पनीको निरन्तर ‘फलोअप’ समेत गरेको पूर्व मुख्यमन्त्री शाहीलाई जानकारी गराए ।

निर्माण कम्पनीले भने डिजाइनको कामकै लागि ६ महिना लाग्ने र त्यो अब सकिन थालेको जनाएको छ । डिजाइनको काम सकिएपछि आफूहरु भौतिक संरचनाको कामतिर केन्द्रित हुने निर्माण कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप