२३ भाषा सङ्कटापन्न अवस्थामा
प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतले मातृभाषासम्बन्धी विविध कार्यक्रम गर्दै आएका छन् । भाषा आयोग, युनेस्को, बङ्गलादेशको राजदूतावास लगायतले मातृभाषा दिवसमा सहकार्य गर्दै आएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा (व्याकरण तथा शब्दकोश) विभागका प्रमुख प्राज्ञ योगेन्द्र यादवका अनुसार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष दुई दिने कार्यक्रम गर्छ । २० फेब्रुअरीमा भाषासम्बन्धी गोष्ठी तथा २१ फेब्रुअरीमा मातृभाषा कविता महोत्सवको आयोजना हुन्छ । आइतबार मातृभाषासम्बन्धी ४ वटा कार्यपत्र प्रस्तुत गरिए । जसमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, डा. बालकृष्ण बल, डा. सोमबहादुर धिमाल, डा. सुलोचना मानन्धरले मातृभाषाको विविध पक्षबारे कार्यपत्र प्रस्तुत गरे । डा अवस्थीको कार्यपत्रमा एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषा रहेको त्यसमध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको उल्लेख छ । सोमबार २१ फेब्रुअरीमा उपराष्ट्रपति नन्दबहादुर पुनको समुपस्थितिमा मातृभाषा कविता महोत्सव हुँदैछ । कविता महोत्सवमा ४० भाषाको कविता वाचन गरिँदैछ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि प्रत्येक वर्ष मातृभाषा दिवस मातृभाषी कविता वाचनका साथै स्रष्टालाई पुरस्कत गरी मनाउने गरेको छ । यस वर्ष कवि बैरागी काँइलालाई प्रतिष्ठानले पुरस्कृत गरेको छ ।
मातृभाषा साहित्य विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार प्रज्ञा प्रतिष्ठानका ११ मध्ये २ वटा मातृभाषासम्बन्धी विभाग छन् । एउटा मातृभाषा व्याकरण तथा शब्दकोश विभाग र अर्को मातृभाषा साहित्य विभाग । मातृभाषा साहित्य विभागबाट विभिन्न मातृभाषाको करिब ११ वटा पुस्तक आफ्नो कार्यकालमा प्रकाशित भएको मालीले जानकारी दिइन् । माली भन्छिन् “जो अलि अनुसन्धानमा जागरुक छ, भाषाभाषीहरूका अभियन्ताहरु हुनुहुन्छ, उहाँहरुका अनुसन्धानमूलक साहित्यिक कृति अलि बढी निस्किन्छन् तर कतिपय निष्क्रिय हुनुहुन्छ, उहाँहरुलाई बोलाउँदा पनि आउनु हुन्न, उहाँहरुको भाषाको चाहिँ कमै छ ।”
लोपोन्मुख भाषाहरुका साहित्यलाई महत्त्व दिएर सकेसम्म खोजी खोजी प्रकाशन गर्ने गरेको र लिखित साहित्य नभेटिए पनि त्यसका वक्ताहरुलाई बोलाएर मौखिक परम्परामा रहेको उखान, टुक्का, लोककथा, गीत सङ्कलन गर्न अनुरोध गरी प्रकाशन गर्ने गरेकाे उनी बताउँछिन् । एकजना मात्र वक्ता बाँकी रहेका लमजुङको एउटा गाउँबाट दुरा जातिको कथाहरु सङ्कलन गरेर दुरा भाषाको लोककथा सङ्ग्रह भर्खरै छापिएको उनले बताइन् ।
कति छ भाषा ?
२०६८ सालको तथ्याङ्कअनुसार नेपालमा १२३ वटा भाषा छन् । ती भाषालाई सुरक्षित, लोपोन्मुख, लोप भएका र मृतप्रायः भाषा भनी वर्गीकरण गरिएको पाइन्छ । भाषाविद् अमृत योञ्जनका अनुसारका अनुसार लोप भाषा २१ वटा छन् । १० लाखभन्दा बढी वक्ता भएका भाषालाई सुरक्षित भाषा (सेफ लेङ्ग्वेज) भनिने र नेपालका पाँचवटा भाषा मात्रै सुरक्षित भाषा भएको उनी बताउँछन् । त्यस आधारमा भन्दा नेपाली, मैथिली, भोजपुरी, थारू र तामाङ सुरक्षित भाषा हुन् । १० लाखभन्दा कम र एक हजारभन्दा बढी वक्ता भएका भाषा लोपोन्मुख भाषाभित्र पर्छन् । तीमध्ये पनि २४ वटा भाषा नेपाल बाहिरका भाषा छन् । चाइनिज, कोरियन, फ्रन्च, जापानिजलगायतलाई नेपाल बाहिरका भाषा हुन् भनिएको छ ।
२०६८ को जनगणनाले १२३ मातृभाषा भनेकोमा भाषा आयोगले थप ८ वटा भाषाको पहिचान भएको बताएको छ । जनगणना अनुसार नेपालका अधिकांश भाषा भारोपेली तथा चिनियाँ–तिब्बतेली भाषा परिवारका छन् । जसमध्ये मातृभाषाका रूपमा नेपाली ४४.६४५, मैथिली ११.६७५, भोजपुरी ५.९८२, थारु ५.७७४, तामाङ ५.१, नेपाल ३.१९५, बज्जिका २.९९४, मगर २.९७६, डोटेली २.९७३, उर्दु २.६१ प्रतिशत छन् । दुरा, कुसुन्डा, काइके, वनकरिया, कागते, बराम, लिखिम, सुरेल कुर्माली, मालपाडे फाङदुवाली लगायत २२ वटा मातृभाषा लोप हुने अवस्थामा छन् । सरकारले एक हजारभन्दा कम मानिसले बोल्ने भाषालाई मृतप्रायः भाषाको सूचीमा राखेको छ ।
भाषा आयोग तत्पर
संविधानले नेपालका भाषाहरुको अध्ययन, अनुसन्धान तथा संरक्षण संवर्द्धन गर्न धारा २८७ मा भाषा आयोग गठनको व्यवस्था गरेको छ । भाषा आयोगले लोप हुन लागेका भाषालाई जोगाउन अहिले ४७ वटा भाषाको वर्ण निर्धारण, शब्द सङ्कलन, शब्दकोश, व्याकरण र इतिहास लेखनको काम गरिरहेको जनाएको छ । लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाली, भोट, शेर्पा, थामी, स्युवा, राजवंशी, उराउ, लोहरुङ, सुनुवार, गोपाली, ताजपुरिया, याम्फु, सोनाह, जुम्ली, याक्खा, चाम्लिङ, सम्पाङ, बेलहरे, लाप्चा, आठपुरिया, वाम्बुले आदि भाषाको अभिलेखीकरण भइसकेको छ ।
यसैगरी मातृभाषाको संरक्षण र अभिलेखीकरणका लागि नेपालको सबैभन्दा जेठो पत्रिका गोरखापत्रले पनि विभिन्न भाषाका सामग्री प्रकाशन गर्दै आएको छ । २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृभाषा) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन गर्दै आएको छ । यो कार्य विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास हो । टेलिभिजन, एफएमहरुले पनि मातृभाषाका सामग्री प्रकाशन, प्रसारण गर्दै आएको छन् ।
मातृभाषाको संरक्षण र संवर्द्धन गर्न प्रशस्त कानुनी व्यवस्था भएको देखिन्छ । हरेक समुदायलाई आफ्नो भाषासंस्कृतिको संरक्षण गर्न पाउने अधिकारको व्यवस्था संविधानमै भएको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै नेपाल बहुभाषिक मुलुक भएको स्वीकार गरेको छ भने धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ । यस्तै धारा ७ ले सरकारी कामकाजको भाषा बारे उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भनिएको छ ।
यसैगरी धारा ३२ मा भाषा तथा संस्कृतिको हकअन्तर्गत प्रत्येक व्यक्ति र समुदायदाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ । यसलाई हेर्दा संविधानले मातृभाषाबारे निर्णय गर्ने अधिकार प्रदेशलाई नै जिम्मा दिएको छ । भाषाविद् अमृत योन्जन भन्छन्, ‘विद्यालयमा मातृभाषाको पठनपाठन नहुँदासम्म कुनै पनि मातृभाषा जोगिँदैन ।’
अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिलेबाट ?
बोली फुट्दा, हुर्कंदा बालकले जुन भाषा बोल्छ, त्यो नै उसको मातृभाषा हो । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सुरुवातको सन्दर्भलाई हेर्दा सन् १९५२ मा बङ्गलादेशमा सरकारी कामकाजका लागि मातृभाषा (बङ्गाली भाषा) प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलन भएको थियो । त्यो आन्दोलनका क्रममा चार विद्यार्थीको हत्या भएको र भाषाकै कारण पाकिस्तानबाट बङ्गलादेश छुट्टिएको थियो । त्यो दिनलाई युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा विशेष दिनका रूपमा घोषणा गर्यो भने संयुक्त राष्ट्र सङ्घले २००० मा सोही दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गर्यो । यसपछि २१ फेब्रुअरीलाई विश्व मातृभाषा दिवस भनेर मनाउन थालिएको हो ।