शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्ध चर्को आन्दोलन : ३० राउण्ड रबरको गोली चल्यो, प्रहरीसहित दर्जनौँ घाइते

संयुक्त आन्दोलन हुने, माओवादी नेतृत्वलाई सरकार छाड्न दवाव
आइतबार, ०८ फागुन २०७८, १८ : ५०
आइतबार, ०८ फागुन २०७८

सत्तारुढ गठबन्धनभित्रको विवादका बीच सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गरेपछि दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनका साथै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन गरेका थिए भने एमसीसी टेबल नै भएपछि आन्दोलन थप उग्र बन्यो । 

सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् भने कम्तिमा ५० जना पक्राउ परेका छन् । घाइते हुनेमा नेपाली प्रहरीतर्फ मात्रै १७ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फपनि ७ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भइरहेको छ । यस्तै नेपाल प्रहरी तर्फबाट घाइते भएकाहरुको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  

प्रहरीका अनुसार आन्दोलनकारीतर्फ ३ जना मात्रै घाइते भएको जानकारी आएको छ । तर, आन्दोलनकारीले बताएअनुसार दर्जनौँ घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएलका सहयोजक सुवोध श्रीपालीसहित दर्जन बढी घाइते भएका हुन् । यस्तै साना कम्युनिस्ट घटक तर्फपनि दर्जनौँ घाइते भएका छन् । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले प्रहरीले ब्यापक दमन गरेको र सो क्रममा दर्जनौँ घाइते भएको रातोपाटीलाई बताए ।  उनले आज आन्दोलनकारीलाई पक्राउ गर्ने भन्दा पनि प्रहरी नियन्त्रणमा लिएर भाटा प्रहार गर्ने कार्य गरेको भन्दै विरोध गरे । 

५० जना पक्राउ, ३० राउण्ड गोली प्रयोग
प्रहरीले झडपका क्रममा ५० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ जना अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको जनाएको छ । यस्तै प्रहरीले ढुंगामुढा छेक्ने २५ वटा ढाल फुटेको पनि जनाएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसपी सन्तोषसिंह राठौरका अनुसार प्रहरीतर्फ झडपमा १७ जना घाइते भएका छन् । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा पानीको फोहोरा पनि प्रयोग भएको जानकारी दिए । 

संयुक्त आन्दोलन हुने, सरकार छाड्नुपर्ने घाइतेको माग
यसैबीच एमसीसीको विरोधमा माओवादी र एकीकृत समाजवादी पार्टीले संयुक्त आन्दोलन गर्ने तयारी थालेका छन् । झडपमा घाइते भएकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई भेट्न पुगेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अब संयुक्त आन्दोलन गर्नेगरी तयारी भएको बताए । उनले अब बैठक बसेर आधिकारिक रुपमा संयुक्त आन्दोलन गर्ने भन्दै एमसीसीको बारेमा नेतृत्वले गरेको गलत निर्णयको विरोध गरिने बताए । 

यस्तै वाईसीएलका सहसंयोजक सुवोध श्रीपालीले पार्टीले  तत्काल सरकार छाड्नुपर्ने बताए । उनले प्रहरी दमनको भत्सर्ना गर्दै पार्टीले एमसीसीको प्रतिवाद गर्नुपर्ने बताए ।  तुरुन्त पार्टीले सरकार छाडेर सडकमा आउनुपर्ने उनको जोड छ । 
आइतबार बिहान बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने सहमति भएको थियो । गठबन्धन बैठकको  सहमति अनुसार सरकारले एमसीसी प्रतिनिधिसभाको बैठकमा पेश गर्यो । संसद् सचिवालयको कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुपर्ने भएपनि सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गरेका थिए ।

 गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि सहमति जनाएका थिए । सोही निर्णय अनुसार उनीहरुले संसदमा एमसीसी पेश गर्न दिएका थिए । तर सत्ता पक्षका केही सासंदहरुले भने विरोध जनाएका थिए । 

विरोध जनाउनेमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले नेता भीम रावल, प्रचण्डकी बुहारी विना मगरसमेत रहेका छन् ।  एमसीसी पेस गर्नमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप समेत लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप