आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैठकमा बोलाइएन, ५ दलीय गठबन्धनबाट अलग गर्न खोजियो : राष्ट्रिय जनमोर्चा

आइतबार, ०८ फागुन २०७८, १२ : २९
आइतबार, ०८ फागुन २०७८

राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो । अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ’, जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीबारे मतभेद भएता पनि अन्य पक्षहरुको बीचमा मतभेदहरूका बीचमा सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयत्न भइरहेको छ । तर हाम्रो पार्टी एमसीसीबारे त्यसप्रकारको कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा छैन । त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ ।’

विज्ञप्तिमा एमसीसीलाई सम्पूर्ण रुपले अस्वीकार गर्नुपर्छ भन्ने पार्टी पहिलेदेखि नै दृढ रहेको स्पष्ट गरिएको छ। एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरु हुने पनि जनमोर्चाको जिकिर छ । त्यो अवस्थामा त्यसलाई संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको भन्ने समाचार सत्य नभएको पौडेलको विज्ञप्तिमा उल्लेख छ । 

‘कतिपय पक्षहरु एमसीसीका लागि सहमत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामी त्यसका लागि सहमत नभएको कुरा सर्वविदित नै छ । हाम्रो पार्टी पनि पाँच दलीय गठबन्धको एउटा घटक हो । त्यो अवस्थामा हाम्रो पार्टी सहमत नहुँदै गठबन्धनमा त्यसका लागि सहमति भएको भन्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ । 

गठबन्धनका गत कतिपय बैठकहरुमा समेत आफ्नो पार्टीलाई आमन्त्रित नगरिएको पौडेलले बताइन् ।  ‘सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउदा सर्वसहहति हुन नसक्ने भएकोले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकोले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरुबाट अलग राखिएको हुन सक्दछ’, जनमोर्चाको भनाइ छ । 

जनमोर्चाले गठबन्धनलाई तोड्ने कुरा अदूरदर्शीतापूर्ण हुने चेतावनी पनि दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप