सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राजा महेन्द्र र वीपीको बेमेलः देशको दुर्भाग्य

आइतबार, ०८ फागुन २०७८, १२ : १३
आइतबार, ०८ फागुन २०७८

 साँच्चै नेपाल सतीले नै सरापेको मुलुक रहेछ । यो देशमा कहिल्यै विकास हुन सकेन र देशको भलो गर्नेको पनि राम्रो हुँदै भएन । यहाँ जनप्रिय नेता नै भएनन्, भएकाले पनि राम्रो गर्नै पाएनन् । हुन त राजा महेन्द्र र जननेता वीपी देश र जनताको लागि राम्रै गर्न खोज्ने राजनेता थिए । दुवै देशभक्त, विकासप्रेमी थिए । दुवैको पवित्र चाहना देशको छिटो विकास गर्ने जनतालाई सुखी र सुसम्पन्न बनाउने नै थियो । तर, दुर्भाग्य दुवैबाट विकास लक्ष्य पूरा हुन पाएन । किनभने दुवैको ऐन मौकामा मेल हुन सकेन । 

तत्कालीन परिस्थितिमा सेनाको पूरा साथ भएकाले शक्ति सम्पन्न राजा महेन्द्र थिए भने जनताको ठूलो साथ र भरोसा जननिर्वाचित प्रधानमन्त्री वीपीमा थियो । दुवैको एउटै चाहना र भिजन हुँदा हुँदै पनि ब्यक्तिगत आफै सर्वेसर्वा भई अगाडि बढने चाहनाले एकापसमा टकराव भयो । त्यहा भित्री बाहिरी शक्तिहरुले पनि आवश्यक मलजल गरे होलान्, फलस्वरुप मेल हुन सकेन । महेन्द्र र वीपीमा धेरैजसो समान गुण थिए । जनतालाई सुख सुविधा दिने, देशमा छिटो विकास गर्ने, विदेश तथा मित्र राष्ट्रहरुसँग अनावश्यक नझुक्ने, भ्रष्टाचार नगर्ने, गर्न नदिने, सक्षम र इमान्दार ब्यक्तिलाई नै उचित जिम्मेवारी दिने जस्ता राम्रा काम कुराहरुमा दुवैको जोड थियो । तर एकापसमा मेल हुन सकेन ।

त्यसो त वीपीलाई महेन्द्रको स्वभाव, चाहना घमन्डको राम्रै ज्ञान थियो । उनको इच्छा राम्रैसँग बुझ्दा बुझ्दै पनि समयमा त्यसको आँकलन र समाधान गर्न नसक्नुले वीपी त्यहाँ चुकेकै हुन् । महेन्द्रलाई साह्रै नजिकबाट बुझेका र चित्त बुझाउनु पर्ने ठाउँमा वीपी नै भएको भएकाले उनीप्रति नेपाली जनताको धेरै आशा हुनु स्वाभाविकै थियो । महेन्द्रले पनि आफ्नो चाहना प्रस्ट पार्नु पर्ने थियो तर उनले अनावश्य कु गरे । 
राजा महेन्द्रको चाहना बुझी सुवर्ण शमशेरलाइ प्रम बनाई आफू बाहिर बसी सहयोग गर्ने सल्लाह वीपीलाई उनकी जीवनसंगिनी सुशीलाले दिएकी थिइन् । यदि उक्त सल्लाह समयमा नै मानी त्यही अनुरुप कदम चालेको भए शायद त्यसबेला प्रजातन्त्र जोगिने थियो । 

हुन त आजसम्म यो देशले वीपीजस्तो स्वच्छ छविको विकासप्रेमी कुशल नेता पाउनै सकेको छैन । वीपी जनप्रिय राजनेता हँुदाहुँदै पनि त्यो बेलामा त्याग र दूरदर्शिता नपुगेकोले राजा महेन्द्रसँग मेल हुन सकेन । दुवै मिलेको भए यो देशको मुहारै बदलिन्थ्यो, जनताका सुखका दिन आउँथ्यो । प्रजातन्त्र दीगो हुने थियो । शायद अझैसम्म राजतन्त्र पनि जोगिन्थ्यो कि ? 

अब त नेपाली जनतामा धेरै चेतना आइसक्यो । नेताहरुले इतिहासबाट राम्रोसँग पाठ सिक्न सक्थे । तर जनताले खबरदारी गर्दा पनि कुनै पाठ सिकिरहेका छैनन् । राजा फालेर आफै राजा हुने मोह सबै पार्टीका नेताहरुमा बढ्दो छ । त्यसैले, सबै देशभक्त नेपालीहरु पार्टीका निस्वार्थी र विकासप्रेमी नेता कार्यकर्ताहरु मिलेर संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई मजबुत बनाई निस्वार्थ भावले अगाडि बढ्न सक्नुपर्ने देखिन्छ । तब मात्र हाम्रो देशको विकास हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप