शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

न्याय सेवा आयोगको बैठक आज, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने अपेक्षा

आइतबार, ०८ फागुन २०७८, १० : ४३
आइतबार, ०८ फागुन २०७८

जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि आइतबार न्याय सेवा आयोगको बैठक बस्न लागेको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार आइतबार अपरान्ह १ः३० बजेका लागि आयोगको बैठक बोलाइएको छ ।
कामु प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हालेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार आयोगको बैठक बोलाएका हुन् ।

महाभियोग प्रस्ताव दर्ता हुनुअघि तीनपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगको बैठक बोलाएपनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले आयोगको बैठक बहिष्कार गरेका थिए । 

आइतबारका लागि बोलाइएको बैठकमा भने कानुनमन्त्री बडु, वरिष्ठतम् न्यायाधीशका रुपमा न्यायाधीश मीरा खड्का र महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि उपस्थित हुने बताइएको छ ।  आइतबार अन्य कुरा यथावत रहेको अवस्थामा आयोगको बैठकले यसअघि परीक्षा लिइएको जिल्ला न्यायाधीशको नतिजा प्रकाशन गर्नेछ । 

गत साउन महिनासम्म रिक्त रहेको २३ जिल्ला न्यायाधीश पदका लागि १८ जना छनोट गर्न न्याय सेवा आयोगले परीक्षा लिएको थियो । बाँकी ५ जना भने वरिष्ठता र योग्यताको आधारमा न्याय सेवा र सरकारी वकिल समूहबाट न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति दिनेछन् । यद्यपि आइतबारको बैठकमा भने परीक्षाको नतिजाफल मात्रै प्रकाशन गर्ने कार्यसूची रहेको छ । हाल विभिन्न जिल्लामा ४१ जना जिल्ला न्यायाधीशको पद रिक्त रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप