बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानपछि व्यवसायीहरू उत्साहित

आइतबार, ०८ फागुन २०७८, १० : १२
आइतबार, ०८ फागुन २०७८

बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक चेकजाँचसहितको क्यालिब्रेसन उडान सुरु भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । शुक्रबारदेखि एरो थाईको विशेष जहाजले प्राविधिक परीक्षण र क्यालिब्रेसन उडान सुरु गरेको छ । यो क्रम फागुन १५ गतेसम्म चल्ने छ ।

आगामी वैशाख १ गते यो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने र जेठ २ देखि नियमित उडान भर्ने तयारी छ । अन्तर्राष्ट्रिय उडान हुने भएपछि लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरू उत्साहित भएको उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

उद्योग वाणिज्य संघले छिटो विमानस्थल निर्माण हुनुपर्छ भन्ने माग पटकपटक गर्दै आएको र अहिले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने भएपछि उद्योगीहरू उत्साहित भएको उनको भनाइ छ । लुम्बिनीमा रहेका ठुला उद्योगहरूले विदेशबाट कच्चा पदार्थ ल्याउनेदेखि विभिन्न सामान विदेश पठाउने गरेका छन् । यहाँबाट कार्गो सुविधासमेत प्रयोग गर्न सकिने भएपछि स्वाभाविक रूपमा लागत कम हुने र सामान छिटो आउने व्यवसायीहरू बताउँछन् ।

पर्यटन व्यवसायी बढी उत्साहित

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने छ । विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गीहरु सिधै भैरहवा आउन सक्नेछन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले लुम्बिनी आउने विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने बताए ।

उनले रातोपाटीसँग भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनासाथ लुम्बिनी आउने विदेशी पर्यटक दुई गुणा वृद्धि हुने अपेक्षा गरेका छौँ । छिट्टै उडान हुने भएपछि हामी निकै उत्साहित बनेका छौँ ।’

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पनि पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय विमानस्थललाई अवसरको रूपमा लिएको बताए । उनले पर्यटन व्यवसायीहरू कोरोना महामारीका कारण थला परे पनि अब विमानस्थल सञ्चालनमा आएपछि त्यसको हिसाबकिताब मिल्ने गरी व्यवसाय बढ्ने हुँदा आफूहरू उत्साहित भएको बताए । उनले भारतीय पर्यटक धेरै आउने नाका पनि यही रहेकाले यहाँका व्यवसायीहरूले सुखद भविष्यको अपेक्षा गरेको बताए ।

लुम्बिनीमा रहेका होटल व्यवसायीहरू पनि हर्षित छन् । स्थलमार्ग हुँदै लुम्बिनीमा सबैभन्दा धेरै भारतबाट पर्यटक आउने गरेका थिए भने विमानस्थल सञ्चालन भएपछि श्रीलंका, थाईल्यान्डबाट धेरै पर्यटक आउने अपेक्षा रहेको होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले रातोपाटीलाई बताए ।

उनले भने, ‘विगतको भन्दा अब केही चेन्ज आउँछ किनकि सिधै धेरै राष्ट्रका पर्यटकहरू आध्यात्मिक स्थल लुम्बिनी आउने छन् । त्यसको प्रभाव हामी व्यवसायीहरूमा पर्नु स्वाभाविक नै भयो ।’ 

यसरी हुँदैछ परीक्षण

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतम बुद्ध इन्टरनेशनल विमानस्थलको काम ७ वर्षमा पूरा भएको छ । २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि ७ पटक म्याद थप गरी हाल आयोजना पूरा गरिएको छ ।

आयोजना निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनले विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप गरेको थियो ।

फागुन ६ गते दिउँसो ३ बजेबाट एरो थाईको जहाजबाट परीक्षण उडान सुरु भएको छ । फागुन १५ गतेसम्म दैनिक एरो थाईको यो जहाजले भैरहवामाथिको खाली आकाशमा दिउँसोको समयमा उडान भरिरहने छ । यात्रुबिना नै पाइलट र केही प्राविधिक लिएर उड्ने विमानले विमानस्थलमा जडान भएका उपकरणहरूको परीक्षण गर्नेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल आयोजना ‘आईसीबी टु’का प्रमुख प्रवीन न्यौपानेले उपकरणहरु राम्रोसँग जडान भएको छ कि छैन, उपकरणले राम्ररी काम गरेको छ कि छैन भनेर चेक गर्नको लागि आईकाओको नियमअनुसार ग्राउण्ड टेस्ट र फ्लाइट टेस्टको काम भएको बताए ।

विमास्थलमा कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ । यस्तै आगमन, प्रस्थानसहितको टर्मिनल भवन, प्रशासकीय भवन, खानेपानी, फायर स्टेशन, मौसमसम्बन्धी जानकारी दिने उपकरणसहित अत्याधुनिक एयर ट्राफिक टावरसमेत निर्माण गरिएको छ । विमानस्थल करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको छ ।

क्यालिब्रेसन फ्लाइट लगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट पनि परीक्षण गरिने छ । रिपोर्ट आएपछि गौतमबुद्ध विमानस्थल उडानयोग्य भयो भनेर विश्वव्यापी रूपमा सन्देश प्रवाह गरिने छ । अन्तर्राष्ट्रिय विमानस्थल आयोजना ‘आईसीबी वान’का प्रमुख प्रवेश अधिकारीले परीक्षण उडानले बुद्ध जयन्तीअघि नै व्यावसायिक उडान सुरु हुने आशा पलाएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअन्तर्गत ‘आईसीबी वान’तर्फ ७ अर्ब र ‘आईसीबी टु’तर्फ ५० करोड खर्च हुने आयोजनाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप