शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

आइतबार, ०८ फागुन २०७८, ०८ : ३७
आइतबार, ०८ फागुन २०७८

मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।  उद्यान निर्माण गर्न सम्झौता गरेको रु एक करोड ५० लाख अनुदान मेलम्ची –१ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए ।

मेलम्ची बाढीले प्राविधिकरूपमा सम्झौताअनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीको आग्रहअनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको उनले जानकारी दिए । रु १६ करोड अनुमानित लागतमा पर्यटकीयस्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे–ठूलो ढुङ्गा तथा केदार मन्दिरबाट पातल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ–ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापनलगायतका काम हुने मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष कृष्ण चौलागाईँले जानकारी दिए ।

मेलम्चीको निवेदनानुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफीकेशन’ र लागतअनुसार निर्माणकार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो । ती दुई स्थानीय तहका बीच विसं २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप