शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : दुर्गा पौडेल

शनिबार, ०७ फागुन २०७८, १९ : ३९
शनिबार, ०७ फागुन २०७८

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले एमसीसी को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । शनिबार सम्पन्न राजमो बागमती प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन् । ‘गठबन्धन नभत्किए आगामी चुनावमा एमालेको स्थिति दयनीय हुन्छ भन्ने एमालेले बुझेको छ’ उनले भनिन्, ‘त्यसकारण उनीहरू जसरी पनि गठबन्धन भत्काउन लागिपरेका छन् ।’

एमसीसीको विषयलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नै बालकोट पुगेको बताउँदै उनले भनिन– ‘त्यहाँ ओलीले गठबन्धनलाई भत्काएर आफूलाई प्रधानमन्त्री दिए एमसीसी पारित गर्ने वचन दिएको जानकारी हुन आएको छ ।’

सम्बोधनको क्रममा उनले एमालेले काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरूलाई गठबन्धन भत्काउन उचालेको आरोपसमेत लगाइन् । ‘आफूले दुई दुईपटक संसद् विघटन गर्नु सही थियो भन्ने पुष्टि गर्न एमालेले पाँचदलीय गठबन्धन भत्काएर संसद् नै विघटन गराउन खोजिरहेको छ’ उनको भनाइ थियो ।

‘एमसीसी संसद्मा टेबुल हुनु भनेको नै पास हुनु हो’ एमसीसी पारित हुने÷नहुने भन्ने सवालमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पौडेलले भनिन्– ‘त्यसकारण एमसीसी टेबल हुन नदिनु नै त्यसलाई रोक्ने एउटा उपाय हो ।’ एमसीसी सैन्य परियोजना नभएको तर्कलाई खण्डन गर्दै उनले भनिन्, ‘एमसीसीमा अमेरिकी राष्ट्रिय सुरक्षा नीति विरुद्ध नजाने प्रावधान राखिनु नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनु हो ।’

उनले भनिन्– ‘कानुन बाझिएमा एमसीसीको कानुन मान्य हुनु भनेको नेपाली सार्वभौमसत्ता विरुद्धको कुरा हो ।’ सम्बोधनको क्रममा नेतृ पौडेलले एमसीसीको बारेमा यथार्थ कुरा नेपाली जनतामाझ लैजान आह्वान पनि गरिन् ।
सम्मेलनमा सम्बोधन गर्दै राजमो नेता आनन्द शर्माले अहिले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षाताको रक्षा तथा सङ्घीयता र एमसीसी विरुद्धको मोर्चामा लडिरहेको बताए ।

जनआन्दोलनको उपलब्धी गणतन्त्र भएको र त्यसको रक्षा सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरूको कार्यभार भएको उनले बताए। ‘प्रतिगमन कति भयावह हुन्छ ? त्यो २०१७ साल र २०१९ सालको प्रतिगमनलाई हेर्दा हुन्छ’ उनले अगाडि भने– ‘यी दुईपटक भएका प्रतिगमनलाई सच्याउन नेपाली जनताले कति लामो लडाइँ लड्नुप¥यो ? त्यो सबैलाई थाहा छ ।’

सम्बोधनको क्रममा उनले प्रतिगमनको खतरा अहिले पनि यथावत रहेको बताउँदै त्यसको विरुद्धमा पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि रहेको बताए । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले एमसीसी तात्कालिक राजनीतिको धेरै नै जटिल समस्या बनेको बताइन् ।

अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले एमालेले राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसको क्याम्पमा जाँदै छ भने भ्रम फिँजाइरहेकाले त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप