बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीबारे जसपा अझै अनिर्णीत

बाबुराम एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्छ : खतिवडा
शनिबार, ०७ फागुन २०७८, १८ : २९
शनिबार, ०७ फागुन २०७८

जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।

गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीका नेताहरूले व्यक्तिगत रुपमा धारणा दिइरहनु भएको छ । त्यो पार्टीको आधिकारिक धारणा होइन । पार्टीको संसदीय दलको बैठक बसेर त्यसको बारेमा आधिकारिक निर्णय लिन्छ ।’

फागुन ८ गतेको संसद् बैठकमा एमसीसी टेबल भए त्यसको बारेमा धारणा बनाउन पार्टी संसदीय दलको बैठक बस्ने उनले बताए । सदनमा एमसीसी प्रस्तुत भइसकेपछि त्यसको पक्षमा उभिने कि विपक्षमा उभिने त्यसको बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्ने उनले बताए ।

जसपामा एमसीसीको विषय लिएर दुईटा धार देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विरुद्धमा छन् । तर उनले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । पार्टीको आन्तरिक बैठकहरूमा अध्यक्ष यादवले एमसीसीको विरुद्धमा नै आफ्नो धारणा राख्ने गरेका छन् । तर पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।

जसपा नेपालका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीका अध्यक्ष यादवले बैठक नै नबसाएको कारण एमसीसीको बारेमा पार्टीमा आधिकारिक धारणा नबनेको बताए । उनले भने, ‘उपेन्द्रजीले पार्टीको बैठक बसाएर त्यसमा छलफल गराएको भए हुन्थ्यो । त्यस्तो नगरेको कारण अन्योल छ, पार्टीका नेताहरूले आआफ्नो धारणा दिइरहनु भएको छ ।’ आफू पनि एमसीसीको पक्षमा रहेको बताउँदै उनले पार्टीका परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि एमसीसीकै पक्षमा रहेको बताए ।

अब पार्टीले एमसीसीको विपक्षमा निर्णय गरे पनि त्यसको विरुद्धमा अध्यक्ष भट्टराई जाने बताइएको छ । संसद्मा एमसीसी प्रस्तुत भएपछि त्यसको विपक्षमा मतदान गर्न जसपाका संसदीय दलले ह्वीप जारी गरे पनि अध्यक्ष भट्टराईले त्यसलाई उल्लङ्घन गरेर एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘अध्यक्ष भट्टराई आफू प्रधानमन्त्री भएको बेला यो एमसीसी आएको हो । त्यसलाई त्यतिकै छाड्न मिल्दैन, त्यसले वहाँले पार्टीबाट एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्छ,’ उनले भने ।

यता, अध्यक्ष भट्टराई पक्षधर मानिएका जसपाका केन्द्रीय सदस्य रामरिझन यादवले पनि एमसीसीको बारेमा धारणा बनाउन पार्टीको बैठक बस्नुपर्ने बताएका छन् । एमसीसीको सन्दर्भमा प्रायः सबै राष्ट्रिय राजनीतिक दलको बैठक बसेको तर जसपामा त्यसो हुन नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए । कमसेकम बैठक बसेर एउटा औपचारिक निर्णय हुन सकेको भए राम्रो हुने बताउँदै उनले तत्काल पार्टीको बैठक बसाएर एमसीसीको बारेमा निर्णय लिन अध्यक्ष यादवसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप