शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अनुदान विवादले नेपालको राजनीति जटिल मोडमा पुगेको छ : मुख्यमन्त्री पाण्डे

शनिबार, ०७ फागुन २०७८, १० : ५७
शनिबार, ०७ फागुन २०७८

 बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताएका हुन् ।

उनले एमसीसीलाई लक्षित गर्दै भने ‘विदेशबाट आएको अनुदान सहायताको कारण हामी विवाद र अप्ठेरोपनाहरू झेल्दै आएका छौँ । यसले देशको राजनीतिलाई नै जटिल मोडमा पुर्‍याएको छ ।’ उनले वर्तमान गठबन्धनको सरकारले विगत देखि नै देशको समस्याको समाधान गर्दै आएको भन्दै अहिलेको समस्या पनि समाधान गर्ने विश्वास व्यक्त गरे ।

‘विगतमा हामीले सबै राजनीति दलहरूसँग मिलेर पनि धेरै समस्याको समाधान मिलेर गरेका छौँ । विगतमा शान्ति सम्झौता पनि हामीले मिलेर नै गरेका थियौँ । अब यो समस्यालाई पनि मिलेर नै समाधान गर्छौँ,’ उनले भने ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताए । जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाको लागि सबै लाग्नुपर्ने उनको भनाई छ ।  

मुख्यमन्त्री पाण्डेले जनताको बलमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको बताउँदै मुलुकमा अझै पनि जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन आउन नसकेको बताए ।  

लामो समय जेल नेट सहँदै नेपालको राजनीतिक परिवर्तनको लागि भूमिका खेल्दै आएको बताउँदै यो क्रममा आफू ४ शहीदप्रति उच्च सम्मान व्यक्त गरे । उहाँहरूले हाँसीहाँसी व्यवस्था परिवर्तनको लागि मृत्यु वरण गर्न तयार भएको उनले बताए ।

प्रजातन्त्र र राज्य व्यवस्था परिवर्तनका लागि विगतमा नेपाली काँग्रेसका नेता कार्यकर्ता र कम्युनिस्ट आन्दोलनका नेताहरूले पनि ज्यान गुमाउनुपरेको उनको भनाई छ । उनीहरूको योगदानकै कारण आज मुलुकमा प्रजातन्त्र स्थापना भएको र प्रजातन्त्रलाई अझ बढी सुरक्षित गर्न आफूहरू लागेको उनले दाबी गरे ।

‘विगतमा हामीले जहानियाँ राणा शासनको अन्त्य गर्‍यौँ । त्यो ठाउँमा फेरी राजतन्त्र आयो । त्यो राजतन्त्रलाई पनि संवैधानिक राजतन्त्रको रूपमा कायम गर्‍यौँ । २०४६ पछि फेरी त्यो राजतन्त्र फर्केर शक्तिशाली राजतन्त्रको रूपमा परिणत हुन कोसिस भयो । फेरी लामो शान्तिपूर्ण आन्दोलन सडक आन्दोलन, जनयुद्ध, जनसंघर्षलगायत अनेकौँ आन्दोलनलाई संयोजन गर्दै हामीले २०६२/०६३ को जनआन्दोलनपछि २४० बर्ष लामो शाही राजतन्त्रलाई पनि बिदा गर्‍यौँ । नेपाल झण्डै १५/१८ सय वर्षभन्दा बढी राजतन्त्र र २४० वर्षभन्दा बढी शाही राजतन्त्र भएको देश हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेका थियौ ।’ उनले भने ।

नेपालका पीडित जनताले पनि सेवा सुविधा प्राप्ति तथा देशलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै प्रगतिपथमा अघि बढाउनका लागि २०७२ सालमा नयाँ संविधान जारी गरिएको उनले बताए । ‘विगतमा भएको क्रान्ति पश्चात् पुरानो संरचना बदलियो, जनताको छोराछोरी शासन गर्ने ठाउँमा पुगे, तर अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन सकेको छैन ।’ उनले भने ।

अब देशको आर्थिक सामाजिक क्षेत्रमा पनि राम्रो सुधार गर्नुपर्ने बेला आएका उनले बताए । सबै दलका राजनीतिकर्मीहरूले भोटको डर त्यागेर देश र जनताको पक्षमा उनीहरूको अधिकारका लागि वकालत गर्नुपर्ने समय आएको उनको भनाई छ ।

‘सबै राजनीतिकर्मीहरू पनि भोटका डरले हामी सही कुरा बोल्न सकिरहेका छैनौँ । हामी जस्तै नेता भएको धेरै ठाउँमा सामाजिक कुरीतिहरू कायमै छ । तर हामी त्यसका विरुद्ध बोल्न सकिरहेका छैनौँ । अब देश र जनताको पक्षमा वकालत गर्ने बेला आएको छ ।’ उनले भने ।

बागमती प्रदेश सरकार पनि ३ वटा पार्टीको गठबन्धनको सरकारले जनता लक्षित योजनाहरू न्यूनतम साझा कार्यक्रम मार्फत् अघि सारेर प्रदेशको समग्र विकासको लागि काम गरिरहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले भने ‘हामी केही कामलाई व्यवस्थित गर्दै लैजाने प्रयत्नमा छौँ । प्रदेशलाई उज्यालो र सफा प्रदेशको रूपमा विकास गर्दै आर्थिक तथा सामाजिक विकासका लागि केही महत्त्वपूर्ण कामलाई अघि बढाउने प्रयत्न गरिरहेका छौँ । केही समयमा नै तपाईंले नतिजा देख्न पाउनुहुनेछ ।’

प्रदेश सरकारले विज्ञ सल्लाहकारहरू सहित राखेर प्रदेशलाई व्यवस्थित गर्ने तथा जनताको अधिकार र सुविधाको सवालमा आफूहरूले ध्यान केन्द्रित गरेर लागिरहेको बताए । बागमती प्रदेशसँगै सिङ्गो राष्ट्रलाई नै नयाँ ढङ्गबाट अघि बढाउने प्रयत्न अनुसार संघीय सरकारको निर्देशन अनुसार प्रदेश सरकार सक्रिय रूपमा लागि रहेको उनले बताए ।

विगतको राजनीतिक उपलब्धिहरूलाई संस्थागत गरेर देश विकासमा लाग्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेको भनाई छ । उनले आगामी दिनमा देशमा लोकतन्त्र राष्ट्रियताको रक्षाको लागि, देशको समृद्धिको लागि नेपाली एक जना जनताले पनि रगत बगाउनु पर्ने अवस्थाको सृजना नहोस् भन्दै सरकारले राष्ट्रियताको संरक्षण तथा देशको भूभागको रक्षा र जनताको संरक्षणमा अग्रसर हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप