शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तारका क्रममा वातावरण विनाश गर्नेमाथि कारबाहीको माग

शनिबार, ०७ फागुन २०७८, १० : २२
शनिबार, ०७ फागुन २०७८

नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनाश गर्नेमाथि कारबाहीकाे माग गरेको छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरूको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस समूहले राख्दै आएको छ ।'

नेफेजका अनुसार पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक बिस्तारको क्रममा २५ माघमा तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनाश गरियो । गत वर्ष पनि गिद्धले प्रजनन गरेको यो रुखमा गिद्धको फूल भएको र त्यसबाट बच्चा कोरलेपछि मात्रै रुख काट्न संरक्षणकर्मीले जिम्मेवार निकायलाई दिएको सुझावको बेवास्ता गर्दै सडक आयोजनाले रुख काटेर बिचल्ली बनाएको दाबी नेफेजले गरेको छ ।

त्यस्तै, टिकौलीको जंगलमा खनिएको खाडलमा परेर दुर्लभ वन्यजन्तु गैँडा मरेको घटनाप्रति पनि नेफेजले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।  '९ माघको यो घटनाले पनि संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । वन्यजन्तु कोरिडोरमा सडक निर्माणको क्रममा तिनको निर्वाध आवागमनलाई व्यवस्थित गर्न अण्डरपास जस्ता वातावरणमैत्री संरचनाहरूको निर्माण गर्नु स्वागतयोग्य छ तर, वन्यजन्तुलाई पासो थापेजस्तै खाडल खनेर त्यो त्यतिकै छोड्नु सडक आयोजनाको गम्भीर लापरबाही हो,' नेफेजले भनेकाे छ ।

'सडक बिस्तारको क्रममा कुन हदसम्म लापरबाही गरिन्छ भन्ने प्रतिनिधि पात्रको रूपमा यी घटनाहरूलाई लिन सकिन्छ । उपरोक्त घटनाहरूले दुवै सडक आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन र त्यसमा आधारित वातावरण व्यवस्थापन योजना कार्यान्वयनमा प्रश्न चिन्ह खडा भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यी घटनाबारेमा जिम्मेवार सडक विभाग र राज्यका अन्य निकायहरूले समयमै सत्यतथ्य सार्वजनिक गर्ने, दोषीहरूलाई विद्यमान कानुनको कठघरामा उभ्याउनुको साटो छानबिनका नाममा आलटाल गर्ने, एक अर्कामाथि दोष थोपार्ने, निर्माण व्यवसायीको दोष देखाउने लहर चलेको छ ।'

तनहूँ शुक्लागण्डकीमा सिमलको रुख काट्न अनुमति दिने निकाय, सडक निर्माणको अनुगमन गर्ने सडक आयोजनाका जिम्मेवार अधिकारी र निर्माण व्यवसायीलाई तत्काल निलम्बन गरी छानबिन गरी दोषीमाथि विद्यमान कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप