मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा एक सातादेखि फोहोर उठ्न छाड्यो, काठमाडौं महानगरले गर्‍यो यस्तो आग्रह

शनिबार, ०७ फागुन २०७८, ०८ : ३२
शनिबार, ०७ फागुन २०७८

काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फाहोर उठन छाडेको हो । काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ । महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आआफ्नो  घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएको छ ।

उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर,मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।  निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर-ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् । 

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप