फिचर

ललितपुर नगर प्रहरी : महिला पनि के कम ?

तेक्वान्दोकी ब्ल्याकबेल्ट नगरप्रहरी

person explore access_timeफागुन ७, २०७८ chat_bubble_outline0

मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले । साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।


विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु नगर प्रहरीको प्रमुख काम थियो । लठ्ठी बोक्यो, गुटुङ्टुङ गयो र बिहान बेलुका चुल्हो बाल्नका लागि राखिएका पसल उठायो, कार्यालय ल्यायो र जरिवाना तिरेर फिर्ता गरिदियो । 



यही कामका लागि उनी लगनखेल गएकी थिइन् । फुटपाथमा राखिएका पसल धमाधम उठाउँदै गर्दा एकजना वृद्धाको साग र गाजर पनि उठाइन् । बृद्धाले बिन्तिभाउ गरिन्,‘नानी यस्तो नगरिदिनुस् न,’ तर उनीभित्रको करुणा उजागर गर्ने छुट थिएन उनलाई । भनिएको थियो, ‘डर देखाउनु, नत्र मान्दैनन्’ । उनले त्यसै गरिन् । ती वृद्धाको सामान गाडीमा हाल्दासमेत ‘दिनु न’ भनेर आग्रह गरिरहिन् तर उनले कठोर भएर ‘आमा अफिसमा नै आउनु’ भनेर बाटो लागिन् । वृद्धाको मलिन अनुहार उनको मस्तिष्कमा बसिरह्यो ।



त्यसपछि उनी ८ घण्टे ड्युटी सकेर घर गइन् । खाना बनाउनेदेखि सानो छोराको हेरचाहमा लागिन् । तर जब खाना खाने बेला भयो, ती वृद्धालाई झल्यास्स सम्झिइन् । आफूले पनि बिहान–बेलुकाको चुल्हो बाल्नकै लागि खाएको जागिरले कसैको बेलुकाको गाँस खोस्यो कि भन्ने पीरले उनलाई गाँज्यो । खाना खानै सकिनन् । ‘किन नगर प्रहरीमा जागिर खाएछु,’ उनलाई उकुसमुकुस भयो ।

०००००००

अहिले स्थिति फेरिएको छ । नगर प्रहरी कल्पना श्रेष्ठले पछिल्लो समय यस्ता कुराको सामना गर्नुपरेको छैन । किनभने अब नगर प्रहरीको जिम्मेवारी, काम कारवाहीमा आकाश पातालको भिन्नता आइसकेको छ । अहिले नगर प्रहरीले फुटपाथ पसल राख्न एउटा नियम बनाएको छ । बिहान ८ बजेसम्म र बेलुका पाँच बजेपछि यस्ता पसल सञ्चालनमा अनुमति दिइएको छ ।

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले पनि २ × २ को फुटपाथ पसलेलाई तरकारी बेच्न दिनुपर्ने धारणा राख्छन्, ‘धनीले त पसल राख्ने क्षमता राख्छन्, गरिबले के गर्छ त ? भोकै बस्ने कुरा हुन्न । त्यसैले हामीले उहाँहरुलाई पनि ठाउँ दिएका छौँ । सडकमा गाडीलाई निःशुल्क पार्क गर्न दिइएको छ, फुटपाथ पसलमा तरकारी बेच्न किन नदिने ?’ उनले आफूहरुले कुमारीपाटी, लगनखेलमा फुटपाथ पसल राख्न दिएको बताए ।

‘पहिले नगरपालिकाको गाडी आएपछि सबैजना भाग्थे, गाडी गएपछि फेरि फर्किन्थे । मैले त्यस्तो गर्न रोक लगाएँ । बिहान ८ बजेसम्म र बेलुका पाँच बजेपछि चोकचोकमा समस्या नगरीकन तरकारी पसल राख्न दिएका छौँ । लगनखेलको बस पकेट हटाएर त्यहाँ तरकारी र फलफूल पसल व्यवस्थित गराएका छौँ,’ उनले फुटपाथ व्यवस्थापनबारे प्रस्ट्याए ।

शत्रु ठान्थे, मित्र बन्ने कोसिस

ललितपुर महानगरपालिकामा हाल ७८ जना नगर प्रहरी छन् । तीनजना इन्जिनियर, एकजना सई, चारजना असई र १२ जना हवल्दारसहित ७८ जना नगर प्रहरी हाछेथुको कमान्डमा छन् ।

सुरुमा आफू प्रमुखको रुपमा आउँदा नगर प्रहरीलाई जनताले हेर्ने दृष्टिकोण राम्रो नभएको हाछेथु स्मरण गर्छन् । भन्छन्, ‘नगर प्रहरीलाई फुटपाथ प्रहरी, तरकारी प्रहरी भनिन्थ्यो ।’ प्रहरीलाई पनि फुटपाथ प्रहरी भन्दो रहेछ भनेर उनलाई असाध्यै दिक्क लाग्यो । त्यसपछि उनले यस्तो धारणा कसरी परिवर्तन गर्न सकिन्छ भनेर घोत्लिन थाले । तालिमप्राप्त प्रहरीको आफ्नो इज्जतदार छवि यत्तिकै खेर जाने हो कि भनेर पनि उनलाई साह्रै पिरोल्यो ।

आखिर जनता र नगर प्रहरीबीच यति ठूलो खाडल कसरी भयो त भनेर उनले स्थिति केलाए । बुझ्दै जाँदा उनले सबैभन्दा ठूलो समस्या लठ्ठीमा देखे । यसबारे उनी भन्छन्, ‘पहिला नगर प्रहरीले लठ्ठी बोकेर हिँड्थे । कुट्ने–पिट्ने पनि गर्दथे ।  नगर प्रहरीले गरिबलाई कुट्ने पिट्ने मात्रै काम गर्छन् भन्ने मान्यता थियो ।’ त्यसैले उनले पहिला आफू ठिक हुनुपर्छ भनेर नगर प्रहरीलाई नै तालिम दिए । सम्मानजनक भाषा प्रयोग गर्न लगाए । अब नगर प्रहरीले गल्ती गर्नेलाई पनि ‘तँ, तिमी’ भन्न पाउँदैनन् । ‘तपाईं’ भनेर सम्झाई–बुझाई गर्छन् ।

यस्तै, आफूलाई नगर प्रहरीको युनिफर्म पनि चित्त नबुझेका कारण यूके सिटी प्रहरीको ड्रेसको नक्कल गरिएको असाध्यै स्मार्ट पहिरन पनि उनले भित्र्याए । युनिफर्मले गर्दा नै मानिसलाई काम गर्न जागरुक बनाउने हाछेथुको ठम्याइँ छ ।

महिला पनि के कम ?

हाछेथुले ललितपुर महानगरपालिकाका १४ जना महिला नगर प्रहरीलाई विभिन्न जिम्मेवारी दिइएको र महिलाले निकै राम्रो काम गर्न सक्छन् भन्ने कुराको पुष्टि उनीहरुले गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘गाउँघरमा खेती किसानी गर्ने महिला अहिले यहाँ नगर प्रहरी भएका छन्, बोल्न सकेका छन् । हिजोसम्म परिवारले हेप्ने उनीहरु नगर प्रहरीमा आएपछि हिम्मत बढेको छ । अहिले धेरैले छाती फुलाएर भन्ने गर्छन् कि हाम्री छोरी, बुहारी नगर प्रहरी हो भनेर ।’

युनिफर्म लाउने धोको

कल्पना श्रेष्ठ गाउँमा खेती किसानी गर्थिन् । १५ वर्षको उमेरमै विवाह गरेर १७ वर्षमा छोराकी आमा बनेकी उनलाई काठमाडौंमा ड्राइभिङ गर्ने श्रीमानले खासै पैसा पठाउँदैनथे । खेती किसानीले पनि खासै राम्रो आम्दानी हुँदैनथ्यो । त्यसैले उनले रक्सी पारेर बेच्थिन् । १५ दिनमा रक्सी पार्न मिल्थ्यो, पाँच छ हजार रुपैयाँ हुन्थ्यो । त्यही पैसाले हप्ता दिनमा लाग्ने हाटमा गएर छोराले खान मन गरेको खानेकुरा किनेर ल्याइदिन्थिन् । त्यसैबाट घरमा नुन तेलको जोहो हुन्थ्यो ।

कमाउने र नकमाउनेलाई घरमा पनि व्यवहार भिन्न हुने भइहाल्यो । घरमा उनलाई अलि गाह्रै भयो । श्रीमानले पनि पैसा नपठाउने भएकोले ‘मेरो बच्चालाई भाँडा माझेर भएपनि हुर्काउँछु, पढाउँछु’ भनेर उनी काठमाडौं आइन्, २० हजार पैसा गोजीमा बोकेर । बनेपामा उनको श्रीमान्की फूपू बस्थिन् । उनकै सहयोगमा कोठा खोजिन्, कोठालाई चाहिने केही सरसामान जोहो गरिन् । छोरालाई स्कूलमा भर्ना गरिदिइन् ।

अलिअलि भएको पैसा पनि सिद्धिइसकेको थियो । उता दसैँ आइसकेको थियो । छोरालाई नयाँ लुगा किनिदिने सामर्थ्य  थिएन । त्यसैले उनले एकजना चिनेको दिदीलाई ‘काम लगाइदिन’ आग्रह गरिन् । ज्यामी काम गर्ने ती  दिदीले उनलाई भनिन्, ‘हिँड न त इट्टा बोक्न त आइहाल्छ नि अरु काम गर्न नजाने पनि’ । उनी बाध्य थिइन् । यसरी श्रीमानलाई थाहै नदिई उनी काममा जान थालिन् ।

छोरालाई बिहान ९ बजे स्कूल पठाएर उनी काममा जान्थिन् । ५ बजेसम्म छोरालाई स्कूलमा नै राख्ने बन्दोबस्त मिलाइन् । १ घण्टा उनकी फूपू सासुले बच्चा हेरिदिन्थिन् । ६ बजे त उनी आइहाल्थिन् । यसो गरेर उनी दिनको ५–६ सय कमाउँथिन् । मासिक १६ सय छोराको स्कूलमा बुझाउँथिन् । तर पछि उनले यस्तो काम गरेको श्रीमान्ले थाहा पाए, ‘यस्तो काम गर्नुपर्दैन’ भनेपछि दुई महिनापछि उनी काममा जान छोडिन् ।

काम त नगर्ने, तर मामको जोहो कसरी गर्ने ? उनलाई यो कुराले पिरोल्यो । लगनखेलमा उनकी दिदी बस्थिन् । उनैलाई काम खोजिदिन भनिन् । कुकिज प्याक गर्ने काम पाइन् । महिनाको ६ हजार तलब थाप्थिन् । त्यो काम पनि असाध्यै गाह्रो भएको उनी स्मरण गर्छिन् । ‘दिनभरी उठिरहनुपर्ने । जाडो महिनामा त औंलाको टुप्पोबाट रगत नै आउँथ्यो,’ उनले त्यो काम दुई वर्षभन्दा बढी गर्न सकिनन् । त्यतिबेलासम्म उनी बनेपाबाट लगनखेल कोठा सरिसकेकी थिइन् ।

त्यसपछि उनले स्कूलमा मान्छे खोजेको छ भन्ने थाहा पाइन् । काम गर्नेको एउटा बच्चालाई निःशुल्क पढाइदिने भन्ने पनि बुझिन् । ‘ओहो, यो काम चाहिँ ठिक हुन्छ कि ?’ उनलाई लाग्यो । तत्काल काम सुरु गरिन् । त्यहाँ पनि  उनले दुई वर्ष काम गरिन् ।

उनले एकपटक आफ्नी घरबेटी आमालाई ‘मलाई पनि ड्रेस लगाउने ठाउँमा काम लगाइदिनु न माँ’ भनेकी थिइन् । सायद बाल्यकालमा देखेको सपनालाई यत्तिको हण्डर र ठक्करले ढाल्न सकेको थिएन । सानो बेला उनलाई कसैले ‘के बन्छौ ?’ भनेर सोध्दा उनी ‘पुलिस’ भन्थिन् । उनलाई साँच्चै रहर थियो, प्रहरी बन्ने । घरबेटी आमाकै सल्लाहमा नगर प्रहरीका लागि आवेदन दिएकी उनी आफ्नो सपनासँग मिल्दोजुल्दो विपनामा हाल बाँच्न पाउँदा असाध्यै पुलकित र सन्तुष्ट छिन् ।

८ कक्षा मात्रै पास गरेकी उनी यसपाली एसईई दिने योजनामा छिन् । आजकाल उनलाई पढाईभन्दा ठूलो केही पनि रहेनछ भन्ने महसुस हुन थालेको छ ।  त्यसैले पनि कम्तीमा एसईईसम्म पढ्ने उनको धोको छ ।

तेक्वान्दोकी ब्ल्याकबेल्ट नगरप्रहरी

यस्तै प्रसन्न छिन् सोलुखुम्बु घर भएकी हाल ढोलाहिटी बस्ने सिर्जना भुजेल । घरको आर्थिक अवस्था कमजोर भएको बताउने सिर्जनाले नगर प्रहरीको जागिरले आफ्नो घरको चुल्हो बलिरहेको र आफ्ना आमाबुवाको चित्तमा आनन्दको फूल फुलाइरहेको बताउँछिन् ।

नगर प्रहरीमा काम गर्नु अघि उनी सेक्युरिटी गार्ड थिइन्, त्यहाँ काम गरेको दुई वर्ष पुगिसकेको थियो । उनलाई सरकारी जागिरको रहर थियो । उनका आमाबुवाको पनि छोरीले सरकारी जागिर खाओस् भन्ने उत्कट चाहना थियो । त्यसैबेला नगर प्रहरीमा आवेदन खुलेको थाहा पाएपछि आवेदन दिइन् । र, छनौट भइन् ।

‘पुलिस आर्मी नभएपनि नगर प्रहरी त भयो नि भन्नुहुन्छ । बुवाआमा त्यसमै गर्व गर्नुहुन्छ । छरछिमेकलाई पनि मेरी छोरी यस्ती छे, उस्ती छे, उसैले घर व्यवहार चलाइरहेकी छे भनेर भन्नुहुन्छ,’ आमाबुवाको सन्तोषलाई उनले यसरी व्यक्त गरिन् ।

तेक्वान्दोकी ब्ल्याक बेल्ट उनको खासमा आर्मी बन्ने सोच थियो । तर उनलाई अहिले आर्मी बन्न नपाउँदाको कुनै अफसोच छैन । पछिल्लो समय नगर प्रहरीमाथि जनताको फेरिएको दृष्टिकोणले पनि उनलाई यो पेशा अँगाल्न पाउँदा गर्व महसुस हुन्छ ।

व्यक्तित्वमा निखार

पछिल्लो समय फेरिएको दिनचर्याका कारण आफ्नो व्यक्तित्व विकास भएको उनी ठान्छिन् । पहिला कार्यालय आउने जाने मात्रै हुने गरेको तर हाल विभिन्न काम सिकिरहेको उनी बताउँछिन् । ‘पहिला ८ घण्टा ड्युटी गर्यो, गयो । पहिला हाम्रो मुख्य काम भनेको फुटपाथ मात्रै हेर्ने थियो ।  अहिले त धेरै काम भइरहेको छ ।’

अहिले पनि नगरप्रहरीले फुटपाथ पसलको निगरानी गर्छ । एक दुईपटक आग्रह गर्दा पनि अटेर गर्नेलाई अहिले पनि उठाउने गर्छन् । सिर्जना भन्छिन्,  ‘पहिले पनि एकदमै बूढा, बूढीलाई जबर्जस्ती गर्दैनथ्यौँ । पहिला धेरै सामान उठाउँथ्यौ भने अहिले हामीले तोकेको समयभन्दा अघि नै उहाँहरु उठ्नुहुन्छ, त्यसैले त्यस्तो जबर्जस्ती गर्नुपरेको छैन ।’

सिर्जना थप्छिन्, ‘पहिल फुटपाथ पसलेहरु जबर्जस्ती गर्थे । हामी पनि लछार पछार गर्न बाध्य हुन्थ्यौँ । तर अहिले सहयोग गर्छन् । गरेर खान दिनुपर्दैन भन्दै पहिला हामीलाई गाली पनि गर्थे । हप्कीदप्की पनि लगाउँथे, अहिले भने मित्रवत् व्यवहार गर्छन् ।’

महानगरको खम्बा

नगर प्रहरीले अहिले बाटोमा फोहोर देख्दा उठाउँछन् । घर बनाउँदा फोहोरहरु फुटपाथमा राखिएका हुन्छन्, त्यो उठाएर घर बनाउने ठाउँमा राखिदिन्छन् । अहिले नगर प्रहरीको ड्युटी समय पनि फेरिएको छ । हप्ताको दुई दिन ब्यारेकमा बस्नुपर्छ । त्यतिबेला २४ घण्टे ड्युटी पर्छ ।  त्यतिबेला आगलागी भयो भने दमकलसँगै जान्छन् ।

कुनै बेला फुटपाथ प्रहरी भनिने नगर प्रहरीले जात्रा, चाडपर्वमा सुरक्षा दिन्छन् । ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडकको स्पिड ब्रेकर हटाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याएको छ । उनीहरुले अल्झिरहेको तार बाँध्नेदेखि फुटपाथ अतिक्रमण गरेर बनाइएका ट्रस काट्ने काम समेत गर्छन् । ट्राफिक नियमको कक्षा लिएर वान वेमा काम गर्न सक्षम भएका छन् । ललितपुर महानगरपालिकाका मेयर तथा उपमेयरको सुरक्षार्थ पनि नगर प्रहरी नै खट्ने गर्छन् ।

ललितपुरका धेरै बस्ती नेवारी भएकोले संवादमा सहज होस् भनेर नगर प्रहरीले नेवारी भाषा पनि सिकिरहेका छन् । नगरप्रहरीले बाटो घाटो सरसफाइदेखि लिएर, कतै पोल ढल्दा अनाधिकृत रुपमा राखिएको होर्डिङ बोर्ड हटाउनेदेखि लिएर पोलमा हरियो रङ लगाएका छन् । ९ हजार ८ सय ५६ वटा पोलमा रङ लगाइ सकिएको छ । रुख काँटछाँटका कामहरु पनि नगर प्रहरीकै जिम्मामा छ । पाटी पौवाको सरसफाई पनि नगर प्रहरीले नै गर्दै आएका छन् ।

हाछेथुका अनुसार ललितपुर उपनगरपालिकाको खम्बा भनेको नगर प्रहरी पनि हुन् । यहाँका नगरप्रहरी ललितपुरलाई स्वच्छ, सफा राख्न र जनताका लागि काम गर्न सदा तत्पर छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।