शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निबन्ध  : सुल्टो मरण

शनिबार, ०७ फागुन २०७८, ०७ : ३१
शनिबार, ०७ फागुन २०७८

कहिलेकाहीँ गाउँघरमा सुल्टो मरण र उल्टो मरणको विषयमा खुब चर्चा–परिचर्चा हुन्छ । हिजै मात्र चिरन्जीवी खपाङ्गी भाइको मृत्युको घटना सुनेँ । सुनाउने बहिनीले भनिन्, “उल्टो मरण भो दाइ ! परिवारको सबभन्दा कान्छो सदस्य । ऊ माथि बूढा बूढा चार भाइ दाजु थिए । तीनचार बहिनी दिदी थिए । रोलक्रममा ऊ कान्छो थियो । तर, कालले रोल हेर्दाे रहेनछ । उल्टो मृत्यु भयो । कान्छोले पहिले जानु पर्यो ।”

अलि अस्ति नै छिमेकी काका काइँला राउतको लक्का जवान बीस बर्षे नाति फ्याटै मर्यो । नातिको किरिया बूढो बाजेले गर्नुपर्यो । मृतकका आफन्ती परिजन भेट्न आउँथे । उनीहरुका वीचमा कुरा हुन्थ्यो, “कस्तो उल्टो भयो । बाजे जाने ठाउँमा नाति पहिले गयो । नातिको किरिया बाजेले गर्नुपर्यो । कालले सुल्टो उल्टो केही हेर्दैन ।”

केही महिनाअघि खैजनपुर अधिकारी भिनाजुको कान्छो छोरा मोटरसाइकल दुर्घटनामा बिते । किरिया–काजमा बस्ने कोही आफन्ती तयार भएनन् । बाबु आफै कपाल खौरेर कोरा पस्नु पर्यो । सबैलाई कति नमीठो भयो भने बूढो बाउले जवान छोराको किरिया गर्नुपर्यो । सतगतको बेलामा छोराको मृत्युको असह्य वेदनामा भिनाजु आलाप–विलाप गरी मूर्च्छा परेको दृश्य कम हृदय विदारक थिएन ।

“उल्टो भयो ! नानी !! उल्टो भयो !! विधाताले ममाथि यो के अन्याय गरे ? म जानुपर्ने बेलामा लाऊँ लाऊँ खाऊँ खाऊँ उमेरको छोरो गयो । छोरालाई लाने काल पहिले मलाई आउनू नि । मैले बूढेसकालमा के खेप्नु परेको यस्तो !!” उनी विधातालाई धिक्कारिरहेका थिए ।

बाउ–आमा छँदाछँदै छोरा छोरी बित्नु, नाति–नातिनी बित्नुलाई हाम्रो समाजले उल्टो मरणको संज्ञा दिँदै आएको छ । बूढो बाजेदेखि क्रमशः ज्येष्ठ क्रमले कनिष्ठ सदस्यतिर मृत्यु ओरालो झर्यो भने त्यसलाई सुल्टो मरण भनिन्छ । बाजे मर्यो, बाबु भयो, छोरो मर्यो नाति मर्यो । यस क्रममा मृत्यु घटित हुँदै गयो भने यसलाई प्राकृतिक मृत्यु मानिन्छ । यसलाई निसर्ग सुल्टो मृत्यु मानिन्छ । तर, तलको नाति पहिले मरेर मृत्यु उकालो लाग्नुलाई त्यति जाति मानिन्न । यस्तो मृत्युलाई अपशकुनकारी मृत्युकै रुपमा व्याख्या हालिन्छ  र यस्तो मरणलाई उल्टो मरणको उपमा दिइन्छ ।

मानव समाजमा सर्वथा सुल्टो मरणमात्र भएको हुन्न । उल्टो मरणका दारुण दृश्य पटक पटक घटित भैराखेका हुन्छन् । यसको मूल कारण त मृत्यु हाम्रो अधिनमा छैन । औषध विज्ञानको चकाचक विकासले मानव–आयु लम्ब्याए पनि काल टार्ने दवाई भने निकाल्न सकेको छैन । फेरि मृत्युको नियमै यस्तो छ कि जहाँ धनपति बाँच्ने, कंगालीजन मर्ने यस्तो हुन सक्तैन । बूढा मर्ने, बच्चा बाँच्ने यस्तो पनि भैरहेको हुन्न । यसले धनी गरिब पनि हेर्दैन । वृद्ध बाल वनिता पनि हेर्दैन । जाति पनि हेर्दैन । धर्म पनि हेदैन, जसलाई जतिखेर पनि लैजान स्वतन्त्र छ ऊ ।

उल्टो मृत्युको दृश्य मैले वाल्यकालमा नै नजिकबाट देखेको छु । मेरा छिमेकी केरावारी जेठाबाजेका पँैतीस छत्तीस वर्षका लक्का जवान छोरो मर्दा ती बाजे एक वर्षसम्म जोसित भेट हुँदा पनि पिलपिल रोइहाल्थे । आपmू बाँचेर छोरो गुमाउनु पर्दा काललाई धिक्कार्थे । जति धिक्कारे पनि कालले कहिल्यै कसैको कुरा अहिलेसम्म सुनुवाई गरेको छ जस्तो लाग्दैन ।

उल्टो दिशाबाट मृत्यु मास्तिर आरोहण गरेपछि रोएर पनि हुन्न, कराएर पनि हुन्न । आत्तिएर आलाप–विलाप गरेर पनि हुन्न । जीवित मानिसले पाएको आयु बाँच्नै पर्छ । मर्ने सँगसँगै जान पनि सकिँदैन । उहिल्यै सती प्रथाको समयमा त पत्नीहरु करकापवश या स्वेच्छावश पतिको चितामा सँगसँगै आत्मदाह गर्नुपथ्र्याे । त्यो झन् क्रुर अमानवीय प्रथा थियो । मर्नेसितै जानलाई कम्ति कठिन कुरा छैन । मृत्युका करले आफ्नो आलिङ्गनमा नबेरुन्जेल बाँच्नु मान्छेको एक मात्र नियति हो ।

गाउँघरमा एउटा प्रचलित आहान छ– हुने बेलामा बाजेदेखि मर्दै जान्छ, नहुने बेलामा नातिदेखि मर्दै आउँछ । अर्थात् यसलाई अर्काे रुपमा पनि सुन्न पाइन्छ । झाँगिने, फैलिने बेलामा बूढो बाजे पहिले मर्छ, नासिने मासिने बेलामा नातिदेखि मरण सुरु हुन्छ ।

मृत्युलाई जीवनदेखि पृथक राखेर बुझ्ने चेष्टा गरियो भने त्यो सर्वथा गलत हुन्छ । मृत्यु जीवनकै एक भाग हो । मानिसको जन्मसितै यो अविभाज्य रुपमा गाँसिएर आएको हुन्छ । मृत्युको मुखमा पर्ने उमेर तल माथि हुन सक्छ । छिटो ढिलो हुन सक्छ । बूढो भएर जाने कि, विमारी भएर जाने कि, कुनै भवितव्यवश दुर्घटनामा परेर जाने कि, कुन तरिकाले जाने हो त्यसको अलग अलग विधि र तौरतरिका हुन सक्छन् । तर, जान चैँ एक दिन जानैपर्छ । मृत्युबाट जोगिन्छु, भाग्छु, लुक्छु भनेर लुक्ने ठाउँ काहीँ छैन ।

मृत्यु जीवनको नैसर्गिक अन्त्य हो । त्यसैले मृत्युलाई जीवनकै नैसर्गिक नियम मान्न सकिन्छ । मृत्यु जीवनसितै अभिभाज्य रुपमा गाँसिएर आएको तत्व हो । यस तत्वबाट कोही पनि अछुतो छैन । चाहे महाखरबपति बेजोस् होस् या विलगेट होस् अथवा रुखको छहारीलाई छानो बनाइ, हातको अँजुलीलाई मानो बनाइ भिख थापेर खाने भिखमङ्गा होस् । यी दुवैखाले मानिसलाई उही समान गति र लयमा मृत्युका करले आलिङ्गन हाल्दछ । सिकन्दरलाई लाने मृत्यु पनि उही थियो, डायोजनिजलाई लाने मृत्यु पनि उही थियो । त्यसैले त मृत्यु जीवनको नैसर्गिक नियम हो ।

यस सन्दर्भमा म एक झेन गुरु सेनगाईको घतलाग्दो विचारबाट भित्रैबाट प्रभावित छु । झेन परम्परामा सेनगाई एक रहस्यदर्शी सद्गुरु थिए । जीवन र मृत्युलाई हेर्ने उनको अन्र्तदृष्टि अत्यन्त गहन र सूक्ष्म थियो । यति सूक्ष्म र सांकेतिक कि कतिपय बेलामा सर्वसाधारणजनले उनको कुरा सजिलै बुझ्न पनि सक्तैनथे ।

उनी आफ्ना कुरालाई प्रतीकमा भन्थे । व्यञ्जनामा बोल्थे, लक्षणामा मृत्यु सिकाउँथे । एकचोटि एउटा ज्यादै धनी मानिस सेनगाईसित भेट्न आयो । धनीमानी मानिस भौतिक सम्पत्तिले त भरिपूर्ण हुन्छन् । तर उनीहरुको भित्री आत्मा खोक्राको खोक्रै रहन्छ । त्यो धनाढ्य सम्पत्तिमा त समृद्धशाली थियो । तर, ऊ भित्र केही न केही चिजको अतृप्ति बाँकी नै थियो ।

अरु धनाढ्यलाई जस्तै उसलाई पनि सम्पत्ति र समृद्धिको नशाले वशिभूत गरिरहेको थियो । सेनगाईसित उसले भन्यो, “मेरो परिवारको निरन्तर समृद्धि कसरी हुन सक्ला ? र, त्यो समृद्धिको पूँजी मेरा सन्तान दरसन्तानसम्म कसरी जारी रहन सक्छ ? यसका बारेमा के के उपाय छन् ? कागजमा स्पष्टसित लेखिदिनुस् ता कि ती उपाय अप्नाउन सकुँ ।”

सेनगाईले एउटा कागजको ताउ लिए । अनि त्यसमा लेखे, “पिता मर्दछ, पुत्र मर्दछ, अनि नाति मर्दछ ।” सेन्गाईको यस लेखाइले त्यो मानिस रिसले चुरचुर बन्यो । ऊ आवेशमा आयो ।

उसले सेनगाईलाई भन्यो, “मैले त तपार्इंसित मेरो परिवारको खुशीको लागि केही लेखिदिनुस् भनेको थिएँ । यस्तो के लेखिदिनु भएको हो ? मप्रति यस्तो मजाक गर्ने तपाईं ?” ऊ साँच्चै क्रोधित थियो । उसले सन्तान दरसन्तान सम्मको खुशी र समृद्धिको उपाय खोजेको थियो । तर सेनगाईले मृत्युको कुरा लेखिदिएका थिए ।

सेन्गाईले उसलाई शान्त भावमा सम्झाए, “हेर ! मेरो कुनै पनि मजाक योजनारहित हुँदैन । मेरो लेखाइको सार कुरा बुझ्ने चेष्टा गर न । यदि तिमी जीवित छँदै तिनी भन्दा अगाडि तिम्रो छोरो मर्यो भने तिम्रो गति के होला ? सुख होला ? आनन्द होला ? अहँ हुँदैन । बहुत ठूलो सन्ताप हुन्छ । यदि तिम्रो नाति, तिमी र तिम्रो छोरो अगाडि नै यो संसारबाट गयो भने त्यो अवस्थामा झन् तिम्रो गति के होला ? तिमी बाउछोराकै निम्ति ठूलो कष्ट र पीडाको विषय हुनेछ ।   त्यसैले तिम्रो परिवारमा मैले कागजमा लेखे बमोजिम एक पिँढीपछि अर्काे पिँढी, अनि अर्काे पिँढीमा मृत्यु हस्तान्तरण हुँदै जाओस् । त्यही नै जीवनको नैसर्गिक दिशा हो र म त्यसैलाई जीवनको सच्चा समृद्धि मान्दछु ।”

सेनगाईका कुराले धनी मानिसका आँखा खुले । खुशी भएर बाटो लाग्यो । वास्तवमा धनमा अन्धो बनेका धनी व्यापारीका केही उदाहरण हेरेको छु । सम्पत्ति र भोगविलासको उपल्लो चुली टेकेका मान्छेको आफू अगाडि छोरो बितेर, नाति बितेर बेहाल पागल बनेको दृश्य हाम्रै वरिपरि घटिरहेका छन् ।

यसबाट अनुमान लाउन सकिन्छ, साँचो सुख त धनमा पनि रहेनछ, पदमा पनि रहेनछ । यो त मृत्युको नैसर्गिक दिशा जुन हो, त्यसमै रहेछ । अर्थात् आफ्नो खान्दानमा सुल्टो मृत्युको चक्र घुमेको छ भने त्यो भन्दा समृद्धि–सुख के हुन सक्छ ?

आफ्नो साथमा अकुत धन छ । पद प्रतिष्ठा छ, तर बाउले छोराको शोक बोक्नु परेको छ, छोराले नातिको शोक बार्नुपरेको छ भने त्यहाँ भन्दा घोर नारकीय पींडा के हुनसक्छ ? सेनगाईले सुल्टो मरणलाई समृद्धिको सूचक मानेका थिए । सुल्टो मरणलाई जीवनको नैसर्गिक दिशा ठहर्याएका थिए ।

हरेक दिन कफन बाकसमा प्याक भएर आएका लाशका थुप्राले जीवनको नैसर्गिक दिशा उल्टो गतिमा घुमेको बोध हुन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा दिनहुँ मलेशिया र खाडी राष्ट्रबाट, कोरिया र अन्य मुलुकबाट दर्जनौँको संख्यामा लक्का जवान युवायुवतीका लाश बन्द–बाकसमा झरिरहेका छन् ।

गएका थिए उनीहरु, वृद्ध बाआमाको मुहारमा सुखसमृद्धि ल्याउनै गएका थिए । पुस्तौँपुस्तादेखि अभाग र अँध्यारोको रुमलोबीच जकडवन्दीमा परेको घरद्वारमा उज्यालो पोत्न विदेश हान्निएका थिए । तर, डाँडामाथिका जून–घाम सिद्ध भैसकेका आमाबाउ बाँचेर यसरी छोरो मर्नु, छोरी मर्नु के जीवनको नैसर्गिक दिशा भयो त ?

आज बाउआमाको थामी नसक्नु रोइलो छ । बाजे बजै जिउँदै मरेतुल्य भएका छन् । उनीहरुको छातीमा सुसाएको शोकको सागरले सबैका आँखा जलमग्न बनाउँदछ । छोराछोरीको स्मृतिमा उनीहरु बाँचुन्जेल एकचोटि होइन, हजारचोटि मर्ने गर्छन् । सुल्टो मरणले एउटालाई एकचोटि मार्दछ । उल्टो मरणले मृतकका अनेका अग्रज आफन्तीलाई अनेकचोटि मार्दछ । अनेकचोटि प्राण खिच्तछ ।

यतिखेर पिताजीका आप्त वचन याद भैरहेको छ । मेरा पिताजीले बयानब्बे वर्षमा देहत्याग गर्नुभयो । मलाई याद छ, जीवनका आखिरी वर्षहरुमा कसै–कसैले उहाँलाई सोध्थे, “यत्रो बर्ष बाँच्नु भयो । अव के चाहना बाँकी छ ? मरण कस्तो हओस् भन्ने चाहनु हुन्छ ।”

बा भन्नुहुन्थ्यो, “अब केही चाहना बाँकी छैन । सबै कुरा देखेँ, भोगेँ, चाखेँ । तर, मेरो एउटै कामना छ । मेरो सुल्टो मरण हो, उल्टो मरण नहोस् ।”

पिताजीका यी आप्त वचनमा सेनगाईकै मृत्यु दर्शनको रहस्य छिपेको अनुभूति हुन्छ । जय सुल्टो

मरण !!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप