शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको सकस : प्रचण्डभन्दा माधव नेपाल लचक !

शुक्रबार, ०६ फागुन २०७८, १५ : १६
शुक्रबार, ०६ फागुन २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘लफडा’ थप दुई दिन लम्बिएको छ । सत्तारुढ दलका नेताहरुबीच बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै छलफलमा आगामी आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्न र त्यसबेलासम्म दलहरुबीचको वार्ता र संवादलाई पनि निरन्तरता दिँदै निकासको बाटो पहिल्याउन नेताहरु सहमत भएका हुन् । सत्तारुढ दलबीच आइतबार बिहान पुनः छलफल गरी सोही दिन एमसीसी टेबल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।

त्यसअघि फागुन ७ गते शनिबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्नेछ । फागुन सात गते बस्ने एकीकृत समाजवादीको बैठकले एमसीसीबारे पार्टीको स्पस्ट धारणा सार्वजनिक गर्नेछ । शुक्रबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने जोडबलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा आइतबारसम्म कुर्न तयार भएका हुन् । नेकपा माओवादीसँगै एमसीसीको विरोधमा रहेको नेकपा समाजवादीले अहिलेसम्म संस्थागत निर्णय नगरेपनि सकारात्मक बन्न सकेको छैन । यद्यपी बिहीबार बेलुका र शुक्रबार बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष नेपाल एमसीसीप्रति केही ‘लचक’ बनेको काँग्रेस नेताहरुको दावी छ ।

‘माधव नेपालले चाही एमसीसी टेबल गर्ने विषयमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुअघि सहमति जनाउनुभएको हो, त्यो सहमतिमा उहाँ अहिले पनि इमान्दार हुनुहुन्छ । गठबन्धनको पछिल्लो बैठकमा पनि उहाँले सोही सहमतिअनुसार अघि बढन तयार भएको प्रतिवद्धता जनाउनुभएको छ’, काँग्रेसका एक नेताको दावी छ । काँग्रेस महामन्त्री समेत रहेका नेता गगन थापाले पनि एमसीसी अघि बढाउने कुरामा माधव नेपाल लचक देखिएको आफूले पाएको बताए ।

‘सात गतेसम्म कुरिदिनुस् भन्ने कुरा नै उहाँको हो । सात गते उहाँको पार्टीबाट एमसीसीबारे संस्थागत निर्णय नै आउछ । उहाँ एमसीसीको पक्षमै उभिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ’, महामन्त्री थापाको भनाइ छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा पनि अध्यक्ष नेपाल अन्य दिनको तुलनामा फरक शैलीमा प्रस्तुत भएका थिए ।

‘पार्टीमा छलफल गरेर सहमति जुटाउने प्रयास गर्छु । त्यसैले दुई दिन एमसीसी टेबल गर्न नहतारिऔँ’, अध्यक्ष नेपालले बालुवाटार छलफलमा भनेका थिए  । अध्यक्ष नेपालको यस्तो आग्रहपछि प्रधानमन्त्री देउवा पनि कन्भिन्स हुँदै आइतबारसम्मका लागि पर्खन  तयार भएका थिए ।

‘प्रधानमन्त्रीजी आजै एमसीसी टेबल गराउने पक्षमा हुनुहुन्थ्यो, मैले ८ गतेसम्मका लागि यो विषय अगाडि नबढाउन भनेर आग्रह गरेँ, उहाँले त्यो कुरा मानेर एमसीसी टेबल गर्ने विषयमा दुई दिन कुर्न तयार हुनुभयो’, देउवासहितको छलफलपछि नेपालले बालुवाटारमा प्रतिक्रिया दिदै भनेका थिए । बालुवाटार बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि (एमसीसी) को अन्तिम निर्णय लिन आईतवार हुने बताए ।

‘एमसीसी परियोजनालाई सार्वभौम संसदमा छलफल गराएर एउटा निष्कर्षमा पु-याउने विषयमा नै संक्षिप्त छलफल भयो । अर्को बैठक ८ गते विहान १० बजे बसेर हामी यसलाई निर्णयमा पु¥याउँछौँ’, मन्त्री कार्कीको भनाइ छ । उनले  संसदको अवरोध हटाउनकै लागि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीसँग बिहीबार बेलुका कुराकानी गरेको भन्दै यसकै निमित्त प्रधानमन्त्री देउवा बालकोट गएको जानकारी गराए । ‘विपक्षी दलको नेताबाट जुन परियोजना छ यसलाई निष्कर्षमा पु¥याउने प्रधानमन्त्रीजीको प्रस्तावमा सकारात्मक विचार विमर्श भएको छ’, कार्कीको दावी छ ।

विकल्पको खोजीमा देउवा

फागुन १६ सम्म जसरी पनि एमसीसी टेबल गर्ने र पास फेल संसदकै जिम्मामा छोड्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा एमसीसी प्रकरणमा गठबन्धनमा गडबड भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर सम्वादमा छन् । यदि एमसीसीमा सत्तारुढ दलले साथ नदिए एमालेको सहयोग लिएर भएपनि पास गर्नुपर्ने अडानमा देउवा छन् । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति सकारात्मक बन्न नसक्दा देउवा विकल्पमा ओलीको सहयोगका लागि हात अघि बढाएका हुन् । संसदमा एमाले र काँग्रेसका सांसद संख्या १४९ छन् । तर एमालेको साथ लिएर देउवा अघि बढ्न खोजे गठबन्धन टुट्ने निश्चित रहेको सत्तारुढ दलकै नेताहरुले स्वीकार गरिसकेका छन् । यस्तो अवस्थामा वर्तमान राजनीतिक समीकरणमा समेत उथलपुथल आउने र अगामी बैशाख ३० गतेलाई तोकिएको स्थानीय निर्वाचन समेत प्रभावित हुने निश्चित छ । देउवाको यस्तो प्रयास भएपनि एमालेले अहिलेसम्म एमसीसीको पक्ष वा विपक्षमा के गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन । एमालेमा एमसीसीका सम्बन्धमा दुई लाईन दृष्टिकोण रहदै आएको छ ।

नेपाली जनमत समेत एमसीसीका सवालमा धु्रविकृत भइरहेकाले एमालेलाई सहजै एमसीसीको पक्षमा उभिन निकै कठिन हुने देखिन्छ । एमसीसीको पक्षमा उभिदा अराष्ट्रवादीको ट्याग लाग्ने र निर्वाचनमा जनताले भोट नदिने भय एमालेमा कायमै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप