बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सीबीफिन र त्रिविको अर्थशास्त्र केन्द्रीय विभागबीच समझदारी

शुक्रबार, ०६ फागुन २०७८, ११ : ०८
शुक्रबार, ०६ फागुन २०७८

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्नेगरी समझादारीपत्रमा हस्ताक्षर भएको छ ।

सीबीफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सीबीफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले ९ बुँदे  समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझादारीपत्रमा उल्लेख गरिएअनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नात्तकोत्तर र एमफील तहमा अध्ययनरत विद्यार्थीहरूमध्ये छनोट भएका विद्यार्थीहरूले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी ‘सीबीफिन फेलोसिप’ प्रदान गरिने भएको छ । तर, उक्त फेलोसिप अन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरूले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।

त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सीबीफिनको तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रीय विभागको तर्फबाट विभागीय प्रमुख एवम् एकजना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको तर्फबाट एक÷एक जना उच्च पदस्थ अधिकारी रहने गरी उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अघि बढाउने समझदारी भएको हो ।

सीबीफिनले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्र तथा विषयवस्तुमा वार्षिक कम्तिमा २ वटा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र उक्त अध्ययन तथा प्रतिवेदन तर्जुमा वा प्रकाशित गर्दा लाग्ने खर्च सीबीफिनले व्यहोर्ने समझादारीपत्रमा उल्लेख गरिएको छ । साथै, सीबीफिनको व्यवस्थापन र अर्थशास्त्र केन्द्रीय विभागको सहयोगमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवम् विस्तार जस्ता विषयमा अन्तरक्रिया एवम् कार्यशाला गोष्ठी आयोजना गरिने  समझादारीपत्रमा उल्लेख गरिएको छ ।

अध्ययन तथा अनुसन्धानका सम्भावित क्षेत्रहरूमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सीबीफिनको सहयोग एवम् योगदान, बैंक तथा वित्तीय क्षेत्रबाट विविध क्षेत्रमा गरिएकोे लगानी, त्यसको प्रतिफल र योगदान, बैंक तथा वित्तीय क्षेत्रको सुधार एवम् स्तरोन्नती, वित्तीय साक्षरता एवम् पहुँच, डिजीटल बैंकिङ, विद्युतीय भुक्तानी, विदेशी विनीमय नीति, आफ्नै देश सुहाउँदो भुक्तानी प्रणालीको विकास, बैंक तथा वित्तीय संस्थाहरूको संचालनमा प्रत्यक्ष प्रभाव पार्ने ब्याजदर तथा सेवा शुल्क, पूँजी निर्माण, पूँजी बजारको विकास, लगानीका नयाँ–नयाँ क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास, स्वदेशी उत्पादन र उपभोगसहित आत्मनिर्भर अर्थतन्त्रको निर्माण, मौजुदा नीतिहरूको प्रभावकारीता र सुधार सम्बन्धी अध्ययन तथा सुझाव तर्जुमासहित गरिबी, असमानता, बेरोजगारी जस्ता जल्दाबल्दा विषयहरू तोकिएको छ ।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यानले सरोकारवाला निकाय र पक्षहरूसँग सहकार्य गरी नीतिगत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नियामक निकायमा पेश गरी कार्यान्वयनका लागि पहल गर्नु र राष्ट्र एवम् जनताको हित एवम् संमृद्धिका विषयमा नियामक निकाय र सरोकारवाला पक्षहरूसँग सहकार्य गरी अघि बढ्नु रहेको बताए । यस्ता कार्यहरूलाई सीबीफिनले निरन्तरता दिने उनको भनाइ छ ।

त्यसैगरी, अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले नेपालको शैक्षिक क्षेत्रलाई अध्ययनबाट अनुसन्धान केन्द्रमा स्थापित गर्न सीबीफिनले थालेको यस्ता महत्वपूर्ण पहलको प्रसंशा गर्दै आभार व्यक्त गरे । नीतिगत अध्ययन तथा अनुसन्धानका लागि सहकार्य गर्नका लागि  समझादारीपत्रमा उठान गरिएका विषयहरू अत्यन्तै सान्दर्भिक रहेकोले विभागले उक्त कार्यमा सहमती जनाइ समझादारी गरेको उनले बताए । 

सीबीफिन अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, सचिव कुशप्रसाद मल्ली, पूर्व सदस्य विनयकुमार श्रेष्ठ, सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी, सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेल र सीबीफिनका महानिर्देशक गोपालप्रसाद तिवारीको उपस्थिति रहेको उक्त हस्ताक्षर कार्यक्रममा सीबीफिनका वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता भोजबहादुर शाहले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै,  समझादारीपत्रले त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्दीय विभाग र परिसंघकाबीचमा अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्यका लागि नौलो आयामको ढोका खोलेको बताउँदै यसको मर्म र भावना अनुसार प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप