शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

‘हेभिवेट नेता’को चुनावी क्षेत्रमा स्थानीय तह निर्वाचन : लोसपा र काँग्रेसलाई टक्कर दिने अभियानमा जसपा

शुक्रबार, ०६ फागुन २०७८, १० : २१
शुक्रबार, ०६ फागुन २०७८

धनुषा–३ काँग्रेसका हस्ती स्वर्गीय महेन्द्रनारायण निधिदेखि उनका छोरा विमलेन्द्र निधिको गढको रुपमा रहदै आएको छ । निधिको गृहनगर क्षेत्र रहेतापनि २०७४ सालको संसदीय चुनावमा भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई हराए । महतोले ३०७५० मत पाएका थिए भने निधिले २७८४७ मत ल्याइ टक्कर दिएका थिए । हाल लोसपाका वरिष्ठ नेता महतो सो क्षेत्रको स्थानीय निर्वाचनमा आफ्नो पकड कायमै राख्न चाहन्छन् । 

उता निधि मधेसी दलको टुटफुटको फाइदा उठाउँदै काँग्रेस जनप्रतिनिधि जिताउन उद्यत छन् । उनी कार्यकर्ता भेटघाटमा सक्रिय छन् । यही क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिले धनुषा–३ लाई विशेष मध्यनजर गर्दै काँग्रेसको गढ तोड्न सक्रियतापूर्वक पार्टी प्रवेशलाई निरन्तरता दिएका छन् । 

हालै जसपा अध्यक्ष यादवले मुखियापट्टी मुसरहनीया गाउँपालिका तथा धनौजी गाउँपालिकामा निकै तामझामका साथ ठूलो संख्यामा काँग्रेस र एमालेबाट नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याए । सो क्षेत्रमा हुने विभिन्न धार्मिक कार्यक्रमहरुमा पनि उनी सहभागी हुन थालेका छन् । 

लोसपाका वरिष्ठ नेता महतो आफ्नो निर्वाचन क्षेत्रलाई सुरक्षित राख्न  घरदैलो गर्नेदेखि जनगुनासो सुन्ने कार्यक्रमलाई अघि बढाएका छन् । उनले कार्यकतो भेट्ने बहानामा मोर्निङ वाकलाई समेत प्राथमिकता दिन थालेका छन् । धनुषा–३ बाटै पुनः प्रतिनिधिसभामा उम्मेदवारी दोहोर्याउने भएपछि उनले स्थानीय तहको निर्वाचनमा समेत सक्रियता बढाएको लोसपा  धनुषाका जिल्ला सदस्य रोहित चौधरीले बताए ।

बुद्धिजीवी नित्यानन्द मण्डल विगतदेखि अहिले पनि काँग्रेसको पकेट एरियाको रुपमा धनुषा क्षेत्र–३ रहँदै आएको बताउँछन् । तर मधेस केन्द्रित दलले अझै पनि काँग्रेसलाई यस क्षेत्रमा काउन्टर दिने उनको भनाइ छ । यस क्षेत्रमा सांगठनिक रुपमा अत्यन्तै बलियो मानिएको काँग्रेस चुनावी प्रतिस्पर्धामा भने दिनप्रतिदिन कमजोर सावित हुँदै गएको छ । धनुषा–३ को २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेस नगराइन नगरपालिका र धनौजी गाउँपालिका गरी दुई वटा पालिकामा मात्र झण्डा फहराउन सफल भएको थियो । मुखियापट्टी मुसरहनीया गाउँपालिकामा भने नेकपा एमाले जनप्रतिनिधि निर्वाचित भएका थिए । यो क्षेत्रमा एमाले,  माओवादी दुबै कमजोर छन् । तर आफ्नो बलिया उपस्थिति देखाउन संगठन सुदृढीकरणमा लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप