मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रकाश सपूतको सपना पछ्याउँदै भाइ बब्लु

गायन, संगीत, अभिनयदेखि निर्देशनसम्म
शुक्रबार, ०६ फागुन २०७८, ०९ : ५६
शुक्रबार, ०६ फागुन २०७८

‘म हाँसे हाँस्छौ र ?’, ‘भेटै हुन्न कि ?’, ‘दिलदुखो’, ‘मनमाया’ जस्ता गीतबाट नयाँ पुस्ताको रोजाइमा परेका गायक हुन् देवेन्द्र बब्लु । पछिल्लो समय ‘म त पर्खेको पर्खेई छु...’ बोलको गीतबाट उनले धेरै स्रोताको मन जितेका छन् । गायक प्रकाश सपुतको नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान छ । प्रकाशको सहोदर भाइ हुन् देवेन्द्र । उनी पनि गायनमा आफ्नो पहिचान स्थापित गर्न संघर्षशील छन् । संख्यात्मक हिसाब गन्ने हो भने उनका गीत हातको औंलामा अटाउँछन् । तर, उनको सांगीतिक चर्चा धेरै छ ।

गायन र अभिनयलाई करियरको प्यासन बनाएर अघि बढेका देवेन्द्र लेखन तथा निर्देशनमा पनि उत्तिकै सक्रिय छन् । उनी लेख्न रुचाउँछन,् त्यसमा संगीत र स्वर आफै भर्छन् । त्यसमा अभिनय र निर्देशन पनि उनी आफ्नै हाल्छन् । एक हिसाबमा उनी सांगीतिक क्षेत्रमा ‘वान म्यान आर्मी’ बनेका छन् ।

तर, सबै क्षेत्रमा हात हाल्त सफल भइएला त ! उनीमाथि आइपर्ने मध्येको एउटा जिज्ञासा हो । तर, उनी यसलाई सहज रूपमा लिन्छन् । आफ्नो काममा सन्तुष्ट रहेका उनी भन्छन्, ‘एउटै करेसाबारीमा थुप्रै तरकारीका परिकार फलाउन सकिन्छ नि ! मलाई मेरो काम पनि यस्तै लाग्छ ।’

देवेन्द्रमा संगीतको भोक छ अनि अभिनयको प्यास छ । त्यसैले हरेक नयाँ सिर्जनामा नौलोपन पस्कन सक्ने भएका छन् । मौलिकपनको प्रयोगले दर्शक, स्रोताको मन कसरी आफ्नो सिजर्नासम्म खिच्न सकिन्छ भन्ने उनले बुझेका छन् । र, त्यसमै आफूले बढी मिहिनेत गर्ने गरेको सुनाउँछन् ।

‘भइरहेको सामान्य विषयलाई सिर्जनामा ढाल्न सक्नुपर्छ । काल्पनिक कुरा जसले त्यहाँसम्म सोच्न बाध्य बनाउँछ, त्यस्ता विषयबस्तु, शैलीले मात्र दर्शक स्रोताको मन अडिन्छ,’ आफ्नो सफलताको सुत्र सुनाउँछन् उनी ।

देवेन्द्र गाउँले परिवेशका लोभी छन् । त्यसैले त गाउँको माटो सुहाउने सिर्जनामा बढी सिर्जनशील छन् । कारण गाउँसँगको सामिप्यता, बाल्यकालका स्मृति र घाँस दाउरा गर्न जाँदा आमाले गुन्गुनाएका लोकभाकाले उनलाई तान्छ । अनि तिनै ग्रामीण परिवेश सुहाउँदो शब्द भाका र भिडियोले उनी दर्शक तान्छन् ।

बाग्लुङबाट पोखरा झरे अनि दाइ प्रकाश समूतसँगै डेरा बसेर वेटरको जागिर खाए देवेन्द्रले । त्यहीँबाट गाउन थाले । आर्थिक अभावमा रुमलिएका देवेन्द्र भाषा पढेर जापान पुग्ने तयारीमा थिए तर भिसा नलागेर गन्तव्य मोडियो । उनी थिएटरसँग जोडिए, अभिनय सिके । अनि त्यहीँबाट फड्को मारेर गीतकार, संगीतकार, कलाकार, निर्देशक सबथोक बने ।

‘थिएटरमा हुँदा ‘कसरी’ बोलको गीत नाटकका लागि लेखेको थिएँ, नाटक हेरेका सबैले गीत रुचाए अनि रहरै रहरमा रेकर्ड गरेर सार्वजनिक गरेँ’, त्यही गीतबाटै मेरो संगीत यात्राको औपचारिक थालनी भयो ।’ उनले आफ्नो गीतयात्राको सुरुवातको कथा सुनाए ।

हालसम्मको यात्रामा उनले अरु स्टार कलाकर्मीसँग पनि थुप्रै काम गरिसकेका छन् । आफ्नै दाजु प्रकाश र नायक राजेश हमाललाई समेत उनले आफ्नो निर्देशकीय कलामा बाँधिसकेका छन् । यसरी दिग्गज व्यक्तिहरूसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य ठान्छन् उनी । तर, दाजु प्रकाश सपूतको सांगीतिक क्षेत्रमा देखिएको फरक सिर्जना बढ्दो चर्चाका बीच आफ्ना सिर्जनाले न्याय गर्न नसक्ने हो कि भन्ने उनलाई चिन्ता छ ।

भन्छन्, ‘मलाई दर्शकमाझ पुग्न, मेरो सिर्जनामा निखार ल्याउन दाइको ठूलो हात छ, खुसी छु । तर, दाइको जत्तिकै राम्रो सिर्जना पस्कन नसक्ने हुँ कि ! सधैँ डर लागिरहन्छ ।’ यतिका सफल गीत बजारमा ल्याइरहँदा उनको मनमा अर्को पनि डर छ, ‘बजारमा धेरै कलाकर्मी आएका छन्, कतै हराइने त होइन ! त्यसैले केही न केही नयाँ गरिरहन मनपर्छ ।’

देवेन्द्रको एउटा सपना छ, ठूलो क्यानभासमा आफूले आफैलाई हेर्ने चाहना । त्यसैले उनले अबको गन्तव्य चलचित्रका पर्दा केन्द्रीत बनाएका छन् । गीत संगीतमा मात्र नभएर अब उनी चलचित्र ‘गणपति’ र ‘परदेशी–२’मार्फत् पर्दामा देखिने तयारीमा छन् । आफ्नै मौलिक कथा स्क्रीनमार्फत् भन्न रुचाउने उनी आफ्ना लागि त्यो ठूलो क्यानभास यात्रा अझ सफल र सिर्जनशील हुनेमा उनी विश्वस्त छन् ।

प्रस्तुत छ, उनै गायक देवेन्द्र बब्लुसँग रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’ संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप