बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले थप्यो कर्जा भुक्तानीको समयावधि

बिहीबार, ०५ फागुन २०७८, २० : ३२
बिहीबार, ०५ फागुन २०७८

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने सुविधा प्रदान गरेको छ । बिहीबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले यस्तो व्यवस्था गरेको हो । 

यसै व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म एक हजार ५५८ ऋणीको ५ अर्ब २८ करोड कर्जाको भुक्तानी अवधि थप गरिएको बैंकले जनाएको छ ।  निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआईइक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरुको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म १२ हजार ३०० ऋणीको १३ अर्ब ८८ करोड कर्जाको भुक्तानी अवधि थप भएको समेत बैंकले जनाएको छ । 

कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको बैंकले बताएको छ । 

कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म एक हजार ५२३ ऋणीको ८ अर्ब ४५ करोड रुपैयाँ कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गरिएको बैंकले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप