शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने

बिहीबार, ०५ फागुन २०७८, १७ : ३८
बिहीबार, ०५ फागुन २०७८

मन्त्रीहरुको कार्य सहजताका लागि बागमती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने भएको छ । बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको कार्य कूशलता वृद्धि गर्न र आवश्यक जानकारी तथा सल्लाह सुझावका लागि कानूनी तथा कार्य सहजताको लागि सहयोग गर्ने गरी अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्नका लागि सो प्रावधान सरकारले थप गर्ने निर्णय गर्दै प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुुसूची हेरेफेरसमेत गरेको छ ।

प्रदेशका मन्त्रीहरुले आवश्यकता अनुसार अवैतानिक र विज्ञ सल्लाहकारको सहयोग लिएर काम गर्न सक्ने भएकाले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश यातयाात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने बैठकले प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रममा सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउने निर्णय गरेको छ । सो कार्यक्रममा सहभागि भए बापत लाग्ने खर्च सरकारले नव्यहोर्ने मन्त्री खनालले बताए ।

बैठकले प्रदेशको विभिन्‍न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालनसम्बन्धि कार्यविधि समेत पास गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर ९ वटा शीत भण्डार निर्माण गरेको र सो शित भण्डार छिट्टै सञ्चालनमा आउने मन्त्री खनालले बताए ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट गत बैशाख २८ गते निधन भएको थियो । बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ फागुन २७ गतेबाट चैत ५ गतेसम्म गर्ने निर्णय समेत बैठकले गरेको छ । खेल तालिका र व्यवस्थापन जिम्मेवारी भने प्रदेशको खेलकुद मन्त्रालयलाई दिएको र आवश्यक तयारी गरेको सो विषय मन्त्रालयले टुंग्याउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप