ट्रक साहित्य : जीवनको यथार्थदेखि राष्ट्रियता र सामाजिक सचेतनासम्म
तपाईं हामीले यात्राको दौरानमा ट्रक पछाडि लेखिएको साहित्य पक्कै पढेको हुनुपर्छ । ससाना भ्यानदेखि बसमा समेत शायरी, मुक्तक लेखिए पनि त्यसलाई ट्रक साहित्यकै नाममा जानिन्छ । रफ्तारमा रहेका गाडीको पछाडि लेखिएका भनाइ पढ्न नसकिए पनि जाम परेको बेला ट्रकका पछिल्तिर लेखिएका सिर्जना पढ्न सकिन्छ । ती सिर्जनाले कहिले गललल्ल हँसाउने, कहिले मर्मस्पर्शी, कहिले विनोदपूर्ण, प्रेम रसले युक्त एवं कहिले पीडाले घनीभूत हरफ कोरिएको हुन्छ ।
यति मात्र नभई ट्रक साहित्यमा कहिले देशप्रतिको चिन्तन ओतप्रोत रूपले छताछुल्ल हुन्छ । हजारौँ पाठकको आकर्षणको केन्द्र बनेर ट्रक साहित्य पूर्व मेचदेखि पश्चिम महाकालीसम्मको गाडीको गतिसँग सडकमा बगिरहेका छन् । ती गाडीहरूसँगै धेरैको आशा, भरोसा, रोजीरोटी, जीवनका अप्ठ्याराहरू पन्छाउँदै हिँडिरहेको हुन्छ ।
ट्रक साहित्यको सुरूवात कहिले र कहाँबाट भयो ? यसको यकिन उत्तर छैन । ट्रक साहित्य नेपाललगायत सार्क राष्ट्र भारत, पाकिस्तान जस्ता देशमा पनि यसको प्रयोग व्यापक छ । मेरो विचारमा जहिलेदेखि यातायात र ढुवानी सेवाको सुरुवात भयो, त्यस बेलादेखि नै ट्रक साहित्यले स्थान पायो ।
ट्रक साहित्य कुनै महान साहित्यकारहरुले सिर्जना गरेका होइनन् । यो त परिवारका सम्झना र मायालाई सँगाल्दै मेचीदेखि महाकालीसम्म जनजनको भरिया भई सेवा गर्ने गुरुजी र सहचालकहरुका वेदना, हर्ष, प्रेम, वियोग, वासना, कुण्ठा, पारिवारिक बिछोडको पीडा आदिलाई अभिव्यक्त गरेको जीवनको खाँटी भोगाई हो । ट्रक साहित्यमा गुरुजीहरू देशप्रेम, राष्ट्रियता, स्वाधीनताको चाहना पनि पोख्छन् । त्यस्तै समसामयिक अधिकारको कुरा पनि यसमा आएको देखिन्छ । जस्तो अहिले ‘नो एमसीसी’ लेखेर एमसीसीप्रति असहमति जनाउने गुरुहरु पनि छन् भने प्रदेश २ को नाम मधेस नामकरण नगरिँदै मधेस सरकार लेखेका सवारी साधन पनि देखिए ।
ट्रक साहित्य कृतिमा भष्टाचार र दलाल नेताले गर्दा देश बिग्रिएको आक्रोश, अस्थिर राजनीतिक परिस्थितिले विरक्त जनता, छिमेकीले सीमा मिच्दा केही नबोल्ने सत्ता मोहमा फसेका नेतालाई दह्रो कटाक्षको अभिव्यक्ति पनि पाइन्छ । त्यस्तै, कतिपय अवस्थामा सामाजिक सन्देशमूलक चेतनाका स्वरहरू समेत प्रवाह गरेको देखिन्छ ।
यसै क्रममा इटहरीका पत्रकार तथा साहित्यकार सुविद गुरागाईले ‘ट्रक साहित्य’ पुस्तक नै लेखेका छन् । उनले बीच बीचमा ‘ट्रक साहित्य’ सामाजिक सञ्जालमा पोस्ट पनि गरिरहेका हुन्छन् । लेखकका अनुसार यसको पहिलो संस्करण सकिएर दोस्रो संस्करण प्रकाशित गरिएको छ ।
लेखक अभय श्रेष्ठले हालै ‘ट्रक साहित्य’ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । धेरै विरोध आएपछि सो पोस्ट हटाएका छन् । उनले भनेका छन्, ‘ट्रक साहित्यका नाममा सार्वजनिक गरिएको जथाभावी सामग्रीले महिला हिंसालाई कसरी दुरुत्साहन गर्छ भन्ने नसोची मैले गरेको गरेको एउटा पोस्टका लागि सबैसँग क्षमाप्रार्थी छु । त्यो कुरा बोध भएपछि मैले पोस्ट हटाएको छु ।’ गुरुजीहरूले पनि ट्रक या कुनै सवारी साधनमा सस्तो मनोरञ्जनको अभिव्यक्ति राख्नु भन्दा पहिला गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म