शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक लाख ६० हजार बढीको मृत्यु, आइसोलेशन सम्बन्धी नियम हट्ने

बिहीबार, ०५ फागुन २०७८, ०६ : ५२
बिहीबार, ०५ फागुन २०७८

बेलायतमा महामारी सुरु भएयता कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक लाख ६० हजार ३८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा थप १९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तर, राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार मृतक संख्या अझ बढी छ ।

 कोरोनाका कारण मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने एक लाख ८१ हजार ४२४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरना संक्रमणका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बितेको २४ घण्टाभित्र ५४ हजार २१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख ४७ हजार ७०६ पुगेको छ । पछिल्लो समय इंग्ल्याण्ड र वेल्समा संक्रमण दरमा केहि गिरावट आएको अधिकारीहरुले बताएका छन् । तर, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा अनिश्चित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ ।

यसैगरी अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल १२ हजार भन्दा बढीको अस्पतालमा उपचार भैरहेको छ भने ३५४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।  

बेलायतमा हालसम्म ९१.३ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ८४.९ प्रतिशतले दोस्रो डोज लगाएका छन् । यसैगरी ६५.९ प्रतिशतले बुस्टर डोज लागेको सरकारी तथ्यांकमा उल्लेख छ ।

करिब ५० हजारको हाराहारीमा दैनिक संक्रमण हुँदै गर्दा सरकारले कोभिड सम्बन्धि बाँकी रहेको आइसोलेशन सम्बन्धि प्रतिबन्ध पनि हटाउने भएको छ । सम्भवत: फेब्रुअरी २४ तारिखबाट सबै आइसोलेशन सम्बन्धि नियम हट्ने अपेक्षा गरिएको  छ । 

आगामी सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडसम्बन्धि दिर्घकालिन योजना घोषणा गर्नेछन् । दुवै डोज खोप लगाएका मानिसहरुलाई बेलायत लगायत अन्य युरोपेली मुलुकहरुले पनि यात्रा प्रतिबन्धमा खुकुलो पार्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप