शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तारानाथ शर्मा : झर्रोवादी आन्दोलनका एक योद्धा

बुधबार, ०४ फागुन २०७८, १७ : ०८
बुधबार, ०४ फागुन २०७८

इलाममा जन्मिएका, अङ्ग्रेजी साहित्यमा एमए गरेका डा. तारानाथ शर्माले जन्मस्थान इलामबाहेक दार्जिलिङ र बनारसमा पनि अध्ययन गरेका थिए ।  अर्का भाषाविद् महानन्द सापकोटा पनि इलाममै जन्मिएका थिए । उनी नेपाली भाषामै काम गर्दथे, जनजिब्रोअनुसार भाषाको प्रयोग गर्नुपर्छ भन्थे । उनको जस्तो बोलिन्छ, त्यस्तो लेख्नुपर्छ भन्ने जनजिब्रोवाद थियो । त्यसबाट तारानाथ शर्मा पनि प्रभावित भए । सन्तज्ञान दिलदास रुम्जाटारमा जन्मिए पनि इलाम नै गएर बसेका थिए । सन्त ज्ञान दिलदासका भजन ठेट नेपालीमा लेखिएका थिए, त्यसको प्रभाव पनि शर्मामा थपियो । 

अध्ययनका क्रममा शर्मा दार्जिलिङ जाँदा गङ्गाप्रसाद प्रधान, टर्न्बुलहरूले नेपाली भाषामै काम गरिरहेका थिए । प्रधान बाइबलको नेपालीमा अनुवाद गरिरहेका थिए । उनले अनुवाद गरेको बाइबल झर्रो नेपालीमा थियो । उनी नेपालीभाषी फादर पनि थिए । बनारस, काशी लगायतका ठाउँबाट नेपाली भाषामा लेख्ने सूर्यविक्रम ज्ञवालीहरूले संस्कृतबहुल नेपाली भाषाको प्रयोग गर्दथे । संस्कृतका धेरैभन्दा धेरै शब्द प्रयोग भएको नेपाली भाषा सर्वसाधारणले बुझ्दैनथे । त्यो नेपालीलाई गङ्गाप्रसाद प्रधान​ले काशीभाषे बोली भन्ने गर्दथे अर्थात् काशीमा बस्ने नेपालीले बोल्ने नेपाली बोली भन्थे ।    

सन्त ज्ञान दिलदास जोसमुनि सन्त थिए भने टर्न्बुल चाहिँ क्रिस्चियन थिए । दुवै विद्वान्हरूबीच एक दिन शास्त्रार्थको होड परेछ । त्यो होडमा टर्न्बुललाई दिलदासले जिते भने सबैका अगाडि टर्न्बुलले आफ्नो बाइबल जलाउनुपर्ने, टर्न्बुलले जिते भने ज्ञान दिलदासले आफ्ना साहित्य सबै डढाउनुपर्ने सम्झौता भएछ । त्यस होडमा सन्त ज्ञान दिलदासले जितेछन् अनि सबैका अगाडि टर्न्बुलले बाइबल जलाए । 

यसले संस्कृत प्रधान नेपाली भाषा र अङ्ग्रेजी प्रधान नेपाली भाषाका ठाउँमा नेपालीले कसरी बोल्छन्, त्यस्तै भाषा लेख्य रूपमा कैद गर्नुपर्छ भन्ने भयो । अनि इलामको त्यो भाषिक वातावरण, सन्तज्ञान दिलदास, महानन्द सापकोटा, टर्न्बुल आदिको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव तारानाथ शर्मालाई सानैदेखि परेको हुनुपर्छ ।  

जोसमुनि सम्प्रदायका मानिस वामपन्थीहरुले हेर्दाखेरि आफूहरू जस्तै देख्थे । किनभने तिनीहरू निर्गुण भक्तिधाराका थिए । उनीहरू मूर्ति पूजा गर्दैनथे । आचार, विचार, देखावटी त्यस्तो केही गर्दैनथे । त्यसैले सन्त ज्ञान दिलदासले ‘सञ्जे दानी, मूला झानी, आएका पितृलाई ढुङ्गाले हानी’ भन्ने कवितासमेत लेखेका थिए ।

उनीहरूमा सबै जात एकै थिए । जातभातको प्रभाव थिएन, सन्तज्ञान दिलदासले आफै दलित बिहे गरेका थिए । पूर्वका सम्पूर्ण राई, लिम्बु, किराँतीहरूले सन्त परम्परा मान्थे । त्यसैले जोसमनि जति प्रगतिशील त हाम्रा अहिलेका कम्युनिस्ट पनि भएका छैनन् । यो खालको परिवेशबाट तारानाथ शर्मा प्रभावित थिए । 

त्यसबेला खास गरी बल्लभमणि दाहाललगायत झर्रोवादीहरू सबै कम्युनिस्ट थिए । बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, चूडामणि रेग्मी लगायत सबै कम्युनिस्ट थिए । यी सबै काशी पढ्न गएका थिए । सन्तज्ञानको पनि प्रभाव भएको हुनाले महानन्द पनि त्यस्तै डुलन्ते नै थिए । जोसमनि र महानन्दको प्रभाव झर्रोवादीहरूलाई परेको हुनाले जोसमनि सन्तका कुरा कम्युनिस्टलाई आफ्नो मार्क्सवादी सिद्धान्तको नजिक लाग्यो । अलि नास्तिक पनि थिए भनेर महानन्द गुरु नै भन्थे । 

काशीमा बस्दा महानन्दले वा टर्न्बुलले काशीवासी बोली भनेको, ज्ञान दिलको ठेट नेपाली प्रयोग र महानन्दको जनजिब्रोवादको आदिको प्रभाव ती युवाहरूमा परेको थियो । त्यतिबेला काशीमा नेपाली भाषा, हिन्दी भाषा वाच्य र अभिव्यक्तिहरूले गिजोलिएको थियो । नेपाली बोल्नेहरूले थुप्रै अङ्ग्रेजी शब्द मिसाएर बोल्थे । तर अङ्ग्रेजी बोलेका बेला शुद्ध बोल्थे, नेपाली मिसाउँदैनथे । किनभने अङ्ग्रेजी बिटुलो बनाउनु हुँदैन थियो तर नेपालीमा चाहिँ विभिन्न भाषाका शब्द प्रयोग गरी फोहोर बनाएपछि नेपालीहरूलाई के के न गरेको जस्तो हुन्थ्यो, अझै पनि आधुनिक भएजस्तो लाग्छ ।

अहिले पनि पुराणमा पण्डितले बोलेको सुन्नेहरूले बुझ्दैनन् । उनीहरू नेपाली शब्द हुँदाहुँदै पनि संस्कृत शब्द चलाउँछन् । यो देखेपछि झर्रोवादीहरूले नेपाली शब्द हुँदाहुँदै पनि संस्कृत, हिन्दी, अङ्ग्रेजी शब्द चलाउनु हुँदैन भनेर निर्णय गरे । यो पृष्ठभूमिले तारानाथ शर्मालाई झर्रोवादी बनायो । त्यसपछि नेपाली बोलचालको भाषालाई उत्थान गर्नुपर्छ, साहित्यमा, पठनपाठनमा प्रयोग गर्नुपर्छ र त्यसैलाई उठान गर्नुपर्छ भन्ने तारानाथ शर्मालाई लाग्यो ।   

काशी पुगेपछि त्यहाँ भेला भएका बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, कोषराज निरौला लगायतबाट तारानाथ शर्मा प्रभावित भए । तीमध्ये अलिकति नेता बालकृष्ण पोखरेल थिए । उनले पनि नेपाली भाषा जनमनको भाषा हो, अङ्ग्रेजी, हिन्दी जस्तो होइन, हामीले चोखो नेपाली लेख्नुपर्छ भने ।

तारानाथ शर्मा काशीमा पुगेपछि श्यामप्रसाद शर्माको प्रभाव, इलामको जनजिब्रोवादको प्रभाव पनि आएर काशीमा मिसियो र नौलो पाइलोमार्फत झर्रो नेपाली लेखन सुरु गरे । बालकृष्ण पोखरेल भन्थे, “म नेपाली भाषामा यस्तो यस्तो हुनुपर्छ भनेर भन्थेँ, तारानाथले रातभरि लेखेर भोलिपल्ट लेख नै देखाउँथे । जस्तो भन्यो त्यस्तो लेखेर ल्याउँथे ।

त्यसअघि झर्रो (र ठिम्से) शब्द क्षेत्रीहरूको वर्गीकरणमा मात्र प्रयोग हुन्थ्यो । पोखरेलले त्यो शब्द नेपाली भाषा पनि लेख्नुपर्छ भने । उनीहरूले हिज्जेमा जति आगन्तुक शब्द छन्, ती आगन्तुक शब्दको नेपालीकरण गर्ने भनेर निर्णय गरे । उनीहरूले सहर पातलो लेख्ने, गरिब ह्रस्व लेख्ने भनेर निर्णय गरे । संस्कृत, हिन्दी, अङ्ग्रेजी शब्द नचलाउने, नेपाली शब्द खोज्ने, अभिव्यक्ति, वाक्यका छाँटहरू, कि, भने लगाएर प्रयोग गर्ने भने । उसले के भन्यो भने, उसले भन्यो कि जस्ता वाक्य बनाउने भन्ने निर्देशिका बनाए । 

चूणमणि रेग्मीहरूले चैनपुरबाट ‘नौलो पाइलोे’ पत्रिका छाप्न बनारसमा लगेर बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूलाई छोडेका थिए । अनि ती दुबै लगायतको सम्पादनमा ‘नौलो पाइलो’ प्रकाशनमा आयो । यस पत्रिकाका माध्यमबाट झर्रोवादी आन्दोलनलाई मूर्त रूप दिइयो भनेर तारानाथ शर्माले भन्नुहुन्थ्यो । 

नेपाली छाँटको अभिव्यक्ति, नेपाली हिज्जे नेपालीकरण गर्नुपर्छ भनेर वीरगञ्जमा बसेका बेला श्यामप्रसाद शर्माबाट प्रभावित भएको कुरा बालकृष्ण पोखरेलले बताउँथे । त्यसबेला वीरगञ्जबाट सत्यकला शर्माको सम्पादनमा एउटा पत्रिका निस्किन्थ्यो, त्यसमा नेपाली हिज्जे यस्तो पो हुनुपर्छ भनेर श्यामप्रसाद शर्माले भन्नुहुन्थ्यो, त्यसको प्रभाव मलाई परेको छ भन्ने बालकृष्ण पोखरेलको भनाइ थियो । 

तारानाथ शर्मा काशीमा पुगेपछि श्यामप्रसाद शर्माको प्रभाव, इलामको जनजिब्रोवादको प्रभाव पनि आएर काशीमा मिसियो र नौलो पाइलोमार्फत् झर्रो नेपाली लेखन सुरु गरे । बालकृष्ण पोखरेल भन्थे, “म नेपाली भाषामा यस्तो यस्तो हुनुपर्छ भनेर भन्थेँ, तारानाथले रातभरि लेखेर भोलिपल्ट लेख नै देखाउँथे । जस्तो भन्यो त्यस्तो लेखेर ल्याउँथे । त्यस्तो राम्रो नेपाली तारानाथले लेख्थे ।

त्यो झर्रोवादको सिद्धान्तमा चाहिँ मेरो भाग धेरै छ तर प्रयोगमा तारानाथलाई मैले जित्न सकिनँ । अक्षर पनि राम्रा लेख्थे । झर्र्रोवादमा तारानाथ जति गहिराइमा पुगे, त्यति गहिराइमा म पुग्न सकिनँ ।” तारानाथ शर्मा अङ्ग्रेजीका गुरु भए पनि नेपाली साहित्यमा आख्यान, निबन्धहरू त्यति नै लेखेका छन् । त्यसमा उहाँको झर्रोवाद प्रगाढ रूपमा आयो । 

तीन जना झर्रोवादीहरूले भाषाविज्ञान अध्ययन गरेका थिए । सबैभन्दा पहिले बालकृष्ण पोखरेलले कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्र अर्थात् फिलोलोजीमा कुमार चटर्जीको गुरुकुलमा पिएचडी गरे । बालकृष्ण पोखरेलले पहिले झर्रोवादी लेखनबाट नै प्रभावित भएर पिएचडी गरे ।

उनी पछाडि बल्लभमणि दाहालले नेपाली व्याकरणमा पुनाबाट पिएचडी गरे । त्यसपछि तारानाथ शर्माले अमेरिकाको ह्विस्कन्सिन विश्वविद्यालयबाट नेपाली सहायक क्रियामा पिएचडी गरे । उनको पिएचडीको थेसिस चाहिँ अक्जुलरी युज इन नेपाली ल्याङ्ग्वेज हो ।

उनले एमपीए वर्माको गुरुकुलमा पिएचडी गरेका हुन् । पहिले उनी व्याकरणका कुराभन्दा साहित्य बढी लेख्थे तर फर्केर आएपछि  गरिमामा धारावाहिक रूपमा नेपाली सहायक क्रिया छ, हो, हुन्छ जस्ता विषयमा धेरै लेख लेखे । त्यसपछि व्याकरणका पुस्तकहरू पनि लेखे । उनले नेपाली भाषाको व्याकरणका पक्षमा लेख्न थालेको चाहिँ पिएचडीपछि मात्र हो । 

त्रिभुवन विश्वविद्यालयले नयाँ शिक्षा लागू गरेपछि र बल्लभमणि दाहालले पुनाबाट २०३१ सालमा पिएचडी गरेर फर्केपछि अनिवार्य नेपाली विषय राखे । त्यसमा वासुदेव त्रिपाठीको पनि हात छ । त्रिपाठी नेपाली विभागका प्रमुख थिए, उनको सल्लाहबिना लागू हुँदैनथ्यो । 

त्यसपछि २०३४ सालमा पद्मकन्या क्याम्पसमा नेपालभरका अनिवार्य नेपाली विषय पढाउने गुरुहरूको पहिलो राष्ट्रिय अधिवेशन भयो । बल्लभमणि दाहालले आधुनिक शब्दलाई नेपालीकरण गर्ने भने । जस्तै गरिब ह्रस्व, सहर दन्त्य मात्र लेख्न सहमति गराउने काम भयो । त्यसपछि पनि विभिन्न क्षेत्रीय सम्मेलन, गोष्ठीहरू भए । त्यो सहमति गराउने क्रममा विश्वविद्यालयका गुरुहरूमा छलफल भयो, सहमति गराउने काम बालकृष्ण पोखरेल, बल्लभमणि दाहालले गरे । 

त्यसबेला बालकृष्ण पोखरेल प्रज्ञा प्रतिष्ठानमा सदस्य थिए । त्यो समयमा आगन्तुक शब्दको नेपालीकरण गर्ने र नेपाली हिज्जेलाई सरलीकरण गर्ने भन्ने मन्त्रलाई शब्दकोशको रूपमा राख्ने कार्य पनि पोखरेलबाट भयो । तर त्यसको काममा बल्लभमणि दाहाल लाग्नुभएको थियो । 

यसरी झर्रोवाद इलामबाट आयो, बनारसमा जन्म भयो । त्यसका सम्पन्न वक्ता, दह्रो कदम वा कार्य चाहिँ नेपाली बृहत् शब्दकोश २०४० भयो । त्यसमा तारानाथ शर्मा कम हुनुहुन्थ्यो त्यसबेला तर त्यसको जुन मन्त्र हो, त्यसमा उहाँ पनि सामेल हुनुहुन्थ्यो । 

(प्राडा माधवप्रसाद पोखरेलसँग रातोपाटीकर्मी शिखर मोहनले गरेको कुराकानीमा आधारित )

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्राडा माधवप्रसाद पोखरेल
प्राडा माधवप्रसाद पोखरेल
लेखकबाट थप