शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

हाकिमको टाउकोमा वीपीको चश्मा

बुधबार, ०४ फागुन २०७८, १४ : ५१
बुधबार, ०४ फागुन २०७८

भन्सार अड्डामा छुट्टै रौनक छ । नयाँ हाकिम आएदेखि धेरैको दिनमा भोक र रातमा निद्रा परेको होइन । सेवाग्राहीलाई गुनासो गर्न अनुरोध गरियो । जनगुनासो तुरुन्त सुनुवाई गर्न निर्देशन भयो । नियतबस दुःख दिने कर्मचारीलाई सोधपुछ गरियो । आवश्यक कागजपत्र पुग्दा ‘प्रक्रिया नमिलेको’ भन्न नपाइने भयो । सेवाग्राहीले एजेन्टलाई नभई बैंकमा राजश्व जम्मा गर्न लगाइयो । कार्यालयको गतिविधिबाट कर्मचारीको इज्जत बढेको थियो । सीमित कर्मचारीबाहेक बाँकी कर्मचारी, सेवाग्राही आदि सबै खुशी थिए । आज उनै हाकिम ३ महिनामै पुरानो भएर सरुवाको पत्र बुझ्नुपर्यो ।

विगतमा दसौं ठाउँमा उनलाई यसैगरी सरुवा गरिएका छन् । यिनले अब त आफू फेरिन जरुरी छ भन्ने कहिल्यै सिकेनन् । शक्तिका पूजारी हुन जानेका भए ‘मालदार’ अड्डालाई अखडा बनाएर रहन सक्थे । अनि बल्ल शालिन गायक आभाषको गीत सही ठहरिन्थ्यो, संसारलाई फेर्छु भन्थ्यो, आफैँ फेरिएछ ।”

...

चोक र अखडाहरु फेरि पुरानै लयमा फर्किएका छन् । चिया अड्डा, कफी चोक, पराठा बजार उस्तै भीड अँगालेर बसेका छन् । चुनावअघि झैं तास हाउस, रेष्टुरेन्ट, साइँलीको भट्टी पनि उस्तै व्यस्त देखिन्छन् । छट्टु ठेकेदारको टट्टु हाफ कट्टुमै दुबै हातमा लड्डु बोकेर सरकारी कार्यालयभित्र देखिन्छ । नयाँ हाकिमको स्वागतको तयारी भैसकेको छ, जसका लागि बजारमा भएका मध्ये सबैभन्दा महँगो मदिरा मगमगाइरहेको छ । कार्यालय तिहारको घरझैं जगजगाइ रहेको छ । काला–सेता सिसा लागेका महँगाभन्दा महँगा गाडी लिएर बडाहरू महाबडाको दर्शन भेटमा आइपुगेका छन् ।

नयाँ हाकिमको आगमन भयो । तडक भडकका साथ धुमधामले स्वागत भयो । जनताका पसिनाबाट उठेका सरकारी सम्पत्तिको धज्जी उडाउनलाई यही यथेष्ट प्रमाण थियो । यो त चलनै हो भन्ठानेर शायद स्थानीय र राष्ट्रिय खबरहरु बन्न सकेनन् । गीता छुँदै कड्किएर खाएका वाचाहरु झैं त्यतै कतै सेलाए । खानेहरुले अब पिँडालु र घ्यू होइन, कम्पनीमा शेयर र ठेक्कामा कमिशन खान थाले । यस्तो माहौल बन्न थाल्यो कि भोजन र मन्जनबीचको समयसिमा नै रहेन ।

कागज र प्रक्रिया पुग्दासमेत चिया होटल र पान पसलमा टोकन बुझाउनुपर्ने बाध्यता सिर्जना हुँदै गए । सुझाव पेटिका खोलिन छोडेको धेरै भैसकेथ्यो । सचेत सेवाग्राहीहरुले गुनासाका चिर्कटो खसाल्दै गए । ‘अप्लाई अप्लाई नो रिप्लाई ।’

दिन सधैँ एकनाश किन रहन्थ्यो र ? जनता बुझ्दै गए, कानून जान्दै गए, प्रक्रिया केलाउँदै गए । भ्रष्ट कर्मचारी प्रश्नका घेराबीच रहे । शङ्का र उपशङ्काबीच तिनले आ–आफ्ना बचाउ गर्न लागे । एक हप्तादेखि त सेवाग्राहीले गेटमैं नमस्कार गर्दै प्रश्न, गुनासो, बाध्यता, अड्चन सबै सबै प्ले कार्डमा लेखेर छताछुल्ल गर्दै थिए ।

यो पाला अचम्मकै विरोध भयो– संसारले सिक्नुपर्ने जस्तो । तिनले ढुंगामुढा हानेर आफ्नै पसिनाका सरकारी भवन तोडफोड गरेनन् । टायरबालेर धर्तीमातालाई उकुस मुकुस पारेनन् । नवजात शिशुहरु आरामका निद्रा निदाइरहे, किनकि चर्काचर्की नारा कसैले लगाएनन् । जिन्दावाद र मुर्दावादले कसैलाई देउता र राक्षस बनाएनन् । गेट बाहिर बसेर आन्दोलनका नाइके हाँसेर “नमस्कार, सञ्चै हुनुहुन्छ ? मेरो काम के गरेपछि चाँडै हुन्छ ? एउटै प्रकृतिको कामका लागि घुस पनि किन फरक फरक खुवाउनु परेको होला ? जस्ता प्रश्न सोध्ने गर्दथे ।

हरेक दिन फरक फरक अनुरोध हुन्थ्यो । “हजुरलाई तातो चिसो के ल्याउँ ? भन्दै दुबै हातमा पानी र चिया लिएर कर्मचारीलाई सोध्दथे । आन्दोलनकारीहरु कार्यालय प्रवेश गर्दा र घर फर्किदा मात्रै गरिने यस्तो आन्दोलनबाट भएका फोहोर आफैं टिपेर जान्थे । मानिसहरु आफैंलाई चिमोट्थे अनि पो विश्वास गर्दथे ।

आन्दोलनले बिस्तारै स्थानीय, कलाकार, साहित्यकार, कर्मचारी, मिडियाको ध्यान आकर्षण गर्दै थियो । यो हप्ता त हाकिमसाब लाजले रातापिरा भए । आफ्ना दाहिना, देब्रा कर्मचारी टोलीसहित आएर सम्बोधन नै गर्न थाले । “म वीपीको चश्मा छोएर कसम खान सक्छु, मैले कसैलाई घात गरेको छैन । जनताकै नोकर हुँ ।” महामहिम बीच–बीचमा कड्किए, ओठ–मुख सुकाए । आन्दोलन गर्नेहरु टाउको हल्लाउँदै मुस्कुराइरहेका थिए ।

एकाएक वीपीको चश्माको कुरा आएपछि कार्यालयभर कर्मचारीहरूबीच खैलाबैला चल्यो । एउटा अर्कोलाई भन्दै थिए, कसम खानलाई वीपीको चश्मा कार्यालयमा कतै छैन । देख्नुभा’छ त खर्सा’प ?

एउटाले भने, वीपीको चश्मा नामसारीको घुस कसले लियो ? दोश्रोले सोधे, वीपीको चश्मा बेचेर आएको कमिशन कसले एक्लै खायो ? तेश्रोले सोधे, वीपीको चश्मा कसले साट्यो ? शङ्कामाथि उपशङ्का भयो ।

अलि पुरानोले भने, नआत्तिऊ, त्यो चश्मा हामीकहाँ आएकै छैन ।” नयाँले भन्यो, सुब्बासा’प, नयाँ हाकिमसा’पले चश्माको कसम भनेको कस्तो कोड हो ? सुब्बासापले भने, कोड होइन सर, यो त हामीलाई थपिएको लोड हो । गर वा मर भन्ने जोड हो । अब कि त सरुवा गरौं नत्र फिर्ता भरुवा गरौं ।” गबारोले खाएको ढोडझैं रुख्खा सुख्खा भएर ती बोले ।

असल कर्मचारीहरु भन्दै थिए, नखाएको विष लाग्दैन । हामीले कसैका चिया, चश्मा, चेक लिएका छैनौं । कसैका चाकडी, चाप्लुसी पनि गर्दैनौं । हाम्रा लागि कानून नै सबथोक हो । चश्मा लिएको भए लिनेलाई नै सोध्नू ।”

बाँस एकापसमा ठक्कर खाएर आगो निकाल्छ र आफूसहित जङ्गलभरिको रुखबिरुवा नष्ट गर्दछ । खासमा यो चश्माले उसैगरी संसारै भस्म गराउँदै त छैन भन्ने प्रश्न धेरैका मनमा खेल्न थाले । चश्माले दुई आँखालाई बाँधेका छन्, टाउकोलाई गरुङ्गो बनाएका छन्, नाकको शिखरमै टेकेर साम्राज्य बिस्तार गरेका छन् त कानलाई समातेर उपनिवेश निर्माण गरेका छन् । प्रसङ्गले नयाँ मोड लिन थाल्यो ।

पृथ्वी गोलो छ । भोगटे जस्तो गोलो छ । पृथ्वी तेरो टाउको जस्तो छ ।” भैरव अर्यालले यति मात्रै भनेनन्, टाउकोलाई टोपी स्ट्याण्ड मानेका छन् । नगरकोटीले टाउको छोप्ने शिरपोसबारे थुप्रै लेखेका छन् । हैन लेखकहरू टाउको वरिपरि किन घुम्छन् हँ ? वीपीले टाउकोको दायाँबायाँका कानमा अडिने चश्मालाई दोषी चश्मा बनाएर लेखेका छन् । वीपीको चश्माले कर्मचारीहरू अझै रन्थनिएका छन् । खासमा दोष कर्मचारीको हो कि चश्माको हो उनीहरु खुट्याउनै सकिरहेका थिएनन् ।

पुराना कर्मचारी पढ्नका लागि चश्मा छुटेर प्रतिवेदन लेखिरहेका थिएनन् । नयाँ कर्मचारी चश्मालाई टाउकोमा राखेर चश्मा खोजिरहेका थिए । तिनले “हामी चश्माबिना पनि सोच्न सक्छौं’ भन्ने बिर्सिरहेका थिए । आन्दोलनले यी सबैका भित्री बाहिरी चश्मा देखाइदिए ।

चश्मा एउटा समस्या हो कि समस्या एउटा चश्मा हो भन्ने दोधारहरु पनि प्रशस्तै थिए । भनिन्छ, मान्छेलाई दुई अनुहारमा देख्नु छ भने पावर चश्मा लगाएर र नलगाएर हेर्न सकिन्छ । चश्मासम्बन्धि नयाँ नयाँ विचारहरु जन्मिरहेका थिए ।

कार्यालयका नयाँ हाकिमले पनि चश्मा नै लगाएका छन् । एक कान दुई कान मैदान हुँदै कतैबाट चश्मा हराएको कुरा सुनेपछि कार्यालय सहयोगी दोब्रिँदै आए र भने “चश्मा भेटियो ।” कर्मचारीहरुबीच खासखुस भयो । “चश्मा भेटियो, चश्मा भेटियो ।” नयाँ हाकिमले कर्मचारीको खासखुस र गाइँगुइँलाई ठूलै स्वरमा सुने ।

सोधेः “के भेटियो ?

सहयोगीः “चश्मा ।”

हाकिमः “कसको ?

सहयोगीः “वीपीको ।”

हाकिमः “खोई कहाँ छ ?

सहयोगीः “हजुरको टाउकोमा ।”

यतिन्जेल टाउको र चश्मा एकअर्काका पर्याय भैसकेका छन् । सबै अट्टहासले हाँस्दछन् । आन्दोलन फिर्ता लिन हाकिम अनुरोध गर्दछन् । जनताका कसम खाएर काम गर्ने प्रतिबद्धता गर्दछन् ।

आजकाल कार्यालय घरजस्तै आत्मीय बनेको छ । झ्यालमा पुग्ने बित्तिकै सेवाग्राहीलाई वाइफाइको पासवर्ड दिइन्छ । कागजपत्र सुरुमैँ हेरिन्छ । खाली नै भएपनि गुनासोपेटिका दिनदिनै खोलिन्छ ।

.....

छ्या कुर्सीमैं पो निदाएछु ।

उठेर पान पसल पुग्न हम्मे हम्मे  हुन्छ । बाहिर राँको अनि जिन्दावाद र मुर्दावादको ढ्वाङ घन्किरहेकै छ । हवाइ फायर र टायरहरुले काम पाइरहेकै छन् । अब त सडकमा हुलदङ्गा, होहल्ला, भाषणबाजी, नारा, जुलुस, बन्दाबन्दी, धरपकड आदिजस्ता समाचार पनि राष्ट्रिय समाचारमा चर्चामैं रहनेवाला पो छ त । सबै नेपालीले न्याय पाउने वीपीको दूरगामी दृश्य खिच्ने चश्मा अझै हराइरहेकै छ । जदौ !

लेखक पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप