सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

बुधबार, ०४ फागुन २०७८, १० : ३७
बुधबार, ०४ फागुन २०७८

ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकारीविहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । 

कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन् । फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ ।

यस्तै मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय विहीन बनेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुखविहीन छ । पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका केही साता अघिदेखि प्रमुखविहीन छ । लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदा ति स्थानीय तहको काम प्रभावित भएको छ । 

कार्यालय प्रमुख नभएका स्थानीय तहमा कतिपय कर्मचारी र शिक्षकले समयमा पारिश्रमिक पाउन सकेका छैनन् भने महत्वपूर्ण काममा बाधा पुगेको छ । कार्यालय प्रमुखको पदपूर्ति कहिलेसम्म हुन्छ भन्नेबारे अन्योल छ । फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । 

यस्तै ६ वडा रहेको गाउँपालिकामा वडा सचिव नभएपछि  सिरिजङ्गा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने  निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई नआउञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने भएको हो । एकैपटक सरुवा गरिएपछि सिरिजङ्गा वडा सचिवविहीन बनेको हो । फक्ताङलुङ गाउँपालिकामा तीन वडामा मात्र सचिव रहेको गाउँपालिकाका सूचना अधिकारी ज्यप्रकाश रिजालले बताउनुभयो । अनमीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । मिक्वाखोला गाउँपालिकामा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप