आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा प्रदर्शन र घेराउ : राजावादीदेखि कम्युनिस्ट पार्टीसम्म सडकमा

बुधबार, ०४ फागुन २०७८, १० : ३५
बुधबार, ०४ फागुन २०७८

अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरूले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र घेराउका कार्यक्रम राखेका छन् । खासगरी राजनीतिक दल र उनीहरूका भ्रातृ संगठनले संसद् भवन नयाँ बानेश्वर आसपास केन्द्रित भएर विरोधका कार्यक्रम गर्न लागेका हुन् । 

यस क्रममा बुधबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर पुगेर धर्ना दिने भएका छन् । उनीहरूले एमसीसीको विरोधमा आज नेपाल बन्द नै घोषणा गरेपनि खासै प्रभाव परेको छैन । यता सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाईसीएल नेपालले पनि एमसीसीको विरोधमा प्रदर्शनसहित संसद् भवन घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती उनीहरूको भनाइ छ । एमसीसी टेबल गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद् भवन घेराउ गर्न लागिएको ती संगठनका नेता कार्यकर्ताले बताएका छन् । 

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । १२ बजे मीनभवनस्थित कमर्श क्याम्पसमा भेला भएर एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

कम्युनिस्ट पार्टी मात्रै नभएर राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा बैठकमा एसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय सङ्गठनहरूको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाका नेता कार्यकर्ता बबरमहलमा जम्मा भएर विरोध प्रदर्शन गर्ने तयारीमा लागेको पाठकको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप