बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुन आईजीपीले गराउलान् स्थानीय तहको चुनाव ?

चुनाव हुनुभन्दा १० दिनअघि नेपाल प्रहरी र सशस्त्रमा आईजीपी फेरिने
बुधबार, ०४ फागुन २०७८, ०६ : ४८
बुधबार, ०४ फागुन २०७८

काठमाडौं । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचनको सुरक्षाका गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी थालेका छन् ।

तर, चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचनभन्दा केही दिनअघि परिवर्तन हुँदैछ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १९ मा अवकाश जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् । आईजीपीको चारवर्षे पदावधिका कारण खनाल अवकाशमा जान लागेका हुन् । खनालको अवकाशपछि उनकै ब्याचमेट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आईजीपी) बन्नेछन् । केसी २२ दिनमात्र आईजीपी हुनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीले पनि नयाँ नेतृत्व पाउनेछ । 

 दुवै संगठनका आईजीपीको अवकाशसँगै मन्त्रिपरिषद्ले नियुक्त गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वले स्थानिय तह निर्वाचनको चुनावी सुरक्षाको कमाण्ड गर्नेछन् ।

विश्वराज र सहकुलको प्रतिस्पर्धा  

नेपाल प्रहरीमा अहिले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले २०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यतिवेला गृह मन्त्रालयले पाँचवटा डीआईजीको दरबन्दी थप्नुपर्ने रायसहितको  संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, तत्कालीन मन्त्रिपरिषद्को प्रशासनिक समितीका संयोजक ईश्वर पोखरेलले एआईजीको दरबन्दी थपेर मन्त्रिपरिषद्बाट सो ओएण्डएम स्विकृत गराए ।

सो पदमा विश्वराज पोखरेल बढुवा भएर भावी महानिरीक्षक हुन एकल दाबेदार भएका थिए ।

नेकपा (एमाले)को अर्को समूहले सो निर्णयमा असन्तुष्टि जनायो । मन्त्रिपरिषद्ले विश्वराजलाई जसै गरी सहकुल थापाका लागि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गर्ने निर्णय लियो । थापालाई एआईजीमा बढुवा गरेसँगै भावी महानिरीक्षकमा एकल प्रतिस्पर्धा अन्त्य भयो ।

एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डिआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ जना एआईजीको पद थप्ने तयारी गरेको छ ।

एआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अब बस्ने मन्त्रिपिरषद्ले सो ओएण्डएम स्विकृत गर्ने तयारी छ ।

एआईजीको दरबन्दी थपेर प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह सहितका दाबेदारहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । देउवा नेतृत्वको सरकारले विश्वराज र सहकुल थापाको विकल्प खोजेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार धीरज प्रताप सिंहलाई एआईजी बनाएर शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुन नरोक्ने बताउँछन् वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘कानुनले तेस्रो व्यक्तिलाई महानिरीक्षक बनाउन रोक्दैन ।’

नवराज सिलवालको मुद्दामा सर्वोच्च अदालतले ज्येष्ठता​ र कार्य सम्पादन मूल्यांकनको अंक हेर्नुपर्ने भनेको थियो । तर, रविप्रताप राणाको मुद्दामा अदालतले ‘भविष्यमा आईजीपी भएर नेतृत्व गर्न सक्ने क्षमता हेर्नुपर्छ’ भनेको थियो । अदालतका पुराना नजिरलाई समेत कुल्चेर नवराज सिलवालको मुद्दामा आदेश गरेको आरोप लगाएर तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ । ‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता​, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ’ नियमावलीमा भनिएको छ–‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’

सशस्त्रमा ३ जना प्रतिस्पर्धामा

सशस्त्र प्रहरी बलमा वैशाख १९ पछि आईजीपी हुने दाबेदारहरु अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा कार्यरत छन् । प्रतिस्पर्धाको एक नम्बरमा छन्, डिआईजी राजु अर्याल ।

अर्यालपछिको वरियतामा छन्, डिआईजी नारायणदत्त पौडेल र  सिपी गौतम । मेरिट लिस्टको २ र ३ नम्बरमा रहेका पौडेल र गौतम पनि आईजीपीका प्रतिस्पर्धी हुन् । आफ्ना ब्याचमेटहरु मध्येबाट एक नम्बरमा भएको हुनाले अर्याल प्रतिस्पर्धामा अगाडि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप