बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हिमाली जिल्ला मनाङमा अद्यावधिक नामावली आएन

मङ्गलबार, ०३ फागुन २०७८, २० : २३
मङ्गलबार, ०३ फागुन २०७८

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन । 

निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामावली जिल्लामा आइपुगेको छैन । 

निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन स्थगित गरी अद्यावधिकको काम भइरहेको निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो । कार्यालय तथा स्थानीय तहमा पुगेर सङ्कलन भएको मतदाता नामावली सङ्ख्या अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको तर हालसम्म आइनपुगेको उनले बताए । 

बाहिरी जिल्लाका व्यक्तिले भने यहाँ नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका मतदाताको विवरण रुजु गरी विभाग पठाइएको छ, दाबी विरोधको काम भइरहेकाले उमेर नपुगेको र नाम दोहोरिएको भए हटेर आउनेछ”, उनले भने । जिल्लाको जनसङ्ख्या भन्दा मतदाता नामावली बढी भएपछि दोहोरो वा नामावली नमिलेको खण्डमा घटेर आउने उनेले बताए ।

कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमार्फत् २६३ मतदाता थपिएका थिए । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट भएको मतदाता नामावली सङ्कलनबाट पनि ६ हजार ९० मतदाता पुगेको उनले बताए । 

मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको उनले जानकारी दिए । गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्या बढी छ । “निर्वाचन कार्यालयले अद्यावधिक नामावली स्थानीय तहमा पठाइसक्नुपर्ने हुन्छ । तर, जिल्लामा अद्यावधिक भएको नामावली नआउँदा पालिकामा पठाउन सकिएको छैन”, निर्वाचन अधिकारी सुवेदीले भने, “अद्यावधिक भएको नामावली आउनासाथ पालिकामा पठाउने गरी काम गरिरहेका छौं ।”

विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता सङ्ख्या ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ५९० मतदाता रहेको जिल्लामा कात्तिकपछिको अद्यावधिक भएको मतदाता नामावली विभागमा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप