शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा भएका दुर्घटनामा ५ जनाको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७८, १२ : ३६
मङ्गलबार, ०३ फागुन २०७८

भक्तपुरसहित देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको भक्तपुर नगरपालिका-९ च्यामासिंह चोक नजिक बा.३ ख ४७६५ नम्बरको बस र बा.६१ प ६६१८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाइ सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० कमलबिनायक बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भिरकोट घर भएका ३४ वर्षीय देबेन्द्र कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता दाङको राप्ती गाउँपालिका-१ पाखापानीस्थित सडकमा रा.१ क १२८६ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीया डिला पौडेलको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयलाई लिएर मृतकका आफन्तले सोही स्थानमा बाटो अवरोध गरेकोमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ महुकीस्थित सडकमा स.१ त ६१०८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार छिन्नमस्ता गाउँपालिका-३ बस्ने २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

 त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ मिलन पार्क नजिक सडकमा लु.६० प ३६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गैडहवा गाउँपालिका-९ हात्तीबजार बस्ने २० वर्षीय प्रेम रुचाल र सोही ठाउँ बस्ने २० वर्षीय राउल थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप