शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घनश्याम ढकालको स्मृति दिवस मनाइयो

सोमबार, ०२ फागुन २०७८, १५ : ४४
सोमबार, ०२ फागुन २०७८

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक सहिद घनश्याम ढकालको स्मृति दिवस तथा व्यक्तित्व र कृतित्वबारे परिचर्चा कार्यक्रम आयोजना गरेको छ । जुममार्फत् आइतबार सम्पन्न कार्यक्रममा घनश्याम ढकालको व्यक्तित्व कृतित्वबारे वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, सावित्री दुरा र डा. धनप्रसाद सुवेदीले चर्चा गरे । 

कार्यक्रममा मोहन वैद्य ‘किरण’ले घनश्याम ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिवद्ध र इमान्दार व्यक्ति रहेको चर्चा गर्दै अहिले राजनीतिक क्षेत्रमा जसरी विचलन देखा पर्यो, त्यसरी नै साहित्य र सौन्दर्यको क्षेत्रमा पनि विचलन देखा परेको विचार राखे । उनले अगाडि भने, ‘नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादतर्फ अगाडि बढ्ने महान् अभियान पूरा भएको छैन, त्यसलाई पूरा गर्ने सन्दर्भमा घनश्याम ढकाल विशेष रूपले संस्मरणीय छन् ।’

डा. धनप्रसाद सुवेदीले भने, ‘हाम्रोमा धेरैजसो स्रष्टामा आफूहरू बन्द कोठामा बसेर लेख्ने, क्रान्तिका ठूल्ठूला कुरा गर्ने तर अरूलाई सँगसँगै नहिँडाउने प्रवृत्ति छ । घनश्याम ढकालमा त्यस्तो प्रवृत्ति देखिदैन ।’ उनले कुनै समयका क्रान्तिकारी मदनमणि दीक्षित, तारानाथ शर्मा र भूपि शेरचन पछिल्लो समय आफ्नो विचारमा अडिन सकेनन् तर घनश्याम ढकाल झन्पछि झन् उर्जाशील र प्रतिवद्ध रहेको विचार राखे । 

कार्यक्रमका अध्यक्ष निनु चापागाईले घनश्याम ढकाल बहुमुखी व्यक्तित्वका धनी रहेको भन्दै सातोटा विधामा कलम चलाएता पनि सबैमा स्तरीयता कायम गरेको विचार राखे । घनश्याम ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवसमा सहभागी हुन जाँदै गर्दा भृकुटीमण्डमा सडक दुर्घटनामा परी निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप