बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कश्यपको कथा : सत्य डग्दैन झुटो तग्दैन

सोमबार, ०२ फागुन २०७८, १५ : १४
सोमबार, ०२ फागुन २०७८

 

 

एकदिन बिहान सबेरै राजा जगदादित्यसमक्ष आएर द्वारपालले भने–

‘महाराज ! बाहिर कोही आएका छन्, हजुरसँग तत्कालै भेट गर्न चाहन्छन् । छिमेकी मुलुकबाट आएको हुँ भन्छन्, देख्दा कुनै विशेष व्यक्ति वा राजदूत जस्ता लाग्छन् ।’

‘सम्मानपूर्वक विश्राम गराउनु र दिउसो सभामा उपस्थित गराउनू ।’ द्वारपाललाई आदेश दिँदै राजा जगदादित्यले प्रधानमन्त्रीतर्फ फर्केर भने–

‘विशेष सभाको प्रबन्ध गर्नू र राजसभाका सदस्यहरूलाई अनिवार्य उपस्थित गराउनू ।’

राजाको आदेश अनुसार दिउसो तोकिएकै समयमा राजसभा बस्यो । देशका भद्रभलाद्मी, विद्वान्, विदुषी, कुटनीतिज्ञ सबै उपस्थित भए । आगन्तुक विद्वान् भने केही विलम्ब गरी आएर आसन ग्रहण गरे । 

आसनग्रहणको क्रम सकिएपछि आगन्तुक विद्वानलाई सम्बोधन गर्दै राजा जगदादित्यले भने–

‘भन्नुहोस् महाशय ! कहाँबाट कति कामले आउनुभयो ? सकेको सहयोग पाउनुहुनेछ । परिचयसहित प्रस्तुत हुनुहोला ।’

‘अवश्य महाराज !’ आगन्तुकले फुर्तीसाथ उठ्दै भने–

‘नजिकै छिमेकी देशको नागरिक हुँ । नाम भने अनाम भनेर बुझ्दा हुन्छ । षड्शास्त्र खारेर आएको छु तर मसँग शास्त्रार्थ गर्न सक्ने मानिस भने अहिलेसम्म एउटै फेला परेका छैनन् । यसैका लागि आएको हुँ । सुनेको छु तपाईँको दरबारमा एकसेएक विद्वानहरू हुनुहुन्छ अरे । आशा छ निराश हुनुपर्ने छैन । होइन भने यहाँहरू पनि झुटो प्रचारको भोको हुनुहुँदो रहेछ वाध्य हुनेछु ।’

आगन्तुकको सभ्य र सङ्गीन कुरा सुनेर राजा जगदादित्य रातोपीरो भए । उनको राज्यप्रति छिमेकीले हेर्ने दृष्टिकोण पहिलेदेखि नै राम्रो थिएन । त्यसमाथि उतैबाट कुनै अपरिचित व्यक्ति आएर चुनौती दिइरहेको अवस्था थियो । यसलाई बेवास्था गर्दा बचेखुचेको इज्जत पनि गुमाउनुपर्ने अवस्था थियो । त्यसैले राजाले आशापूर्ण दृष्टि लगाउँदै सभातिर हेरे तर कसैले पनि मुख खोल्न सकेनन् । आगन्तुक देख्दै खाइलाग्दा थिए । त्यसमाथि षड्शास्त्र खारेको कुरा गरिरहेका थिए भने बोलुन् पनि कसरी । कसैबाट पनि उत्तर नआएपछि अन्त्यमा चतुरे (चतुर्भुज शर्मा, जो भरखरै आएर सभाको छेउमा बसेका थिए) ले आशनबाट उठ्दै भने–

‘अतिथि महाभागसित शास्त्रार्थ गर्न तत्पर छु तर यसका लागि मैले भोलिसम्मको समय पाउनुपर्ने हुन्छ ।’

‘लौ ! यो कुन ठूलो कुरा भयो र ?’ सभासद बोल्नुपूर्व नै आगन्तुक विद्वानले भने–

‘निश्चिन्त भएर जान सक्नुहुन्छ, भोलिसम्मको समय पाउनुभयो । आशा छ भोलि आएर कुनै बाहानाबाजी गर्नुहुने छैन ।’

आगन्तुकले नै सहमति जनाएपछि अरूले बोल्नै परेन । भोलि पुनः बस्ने निर्णय गर्दै त्यसदिनको बैठक स्थगित गरियो ।

भोलिपल्ट तोकिएकै समयमा बैठक बस्यो । सबैले समयमै आएर आसन जमाए । चतुरे भने कसैलाई एउटा अजङ्गको बाकस बोकाएर केही समयपछि आए । बाकस हेर्दै १०० केजी भन्दा बढीको जस्तो भारी देखिन्थ्यो, जसलाई बहुमूल्य रेशमी कपडाले ढाकिएको थियो ।

‘आउनुहोस् महाशय ! नजिकै बसौँ ।’ प्रवेश गर्ने बित्तिकै बकस अगाडि राख्दै चतुरेले भने–

‘तपाईँजस्ता विद्वानसँग शास्त्रार्थमा भाग लिन पाउनु भाग्यकै कुरा हो । यसका लागि सर्वप्रथम यहाँलाई धन्यवाद दिन चाहन्छु । नाम निकै सुनेको भए पनि भेटको साइत जुरेको थिएन । बल्लबल्ल जुरेको साइतमा विषय पनि विशेष नै हुनुपर्छ जस्तो लागेकाले पुस्तक पनि त्यस्तै लिएर आएको छु । आज हामी यसै पुस्तकका विषयवस्तुमाथि बहस गर्नेछौँ ।’

‘आहा ! कति राम्रो !’ आगन्तुक विद्वानले उत्साहित भए जस्तो गर्दै भने–

‘ठीक भन्नुभो तपाईँले । हामी जस्ताले छलफल गर्ने भनेकै यस्तै विषयमा हो । सामान्य विषयमा बहस गर्ने त अरू छँदैछन् नि ? तर पहिले यो त बताउनुस् कि पुस्तकको नाम चाहिँ के हो  नि ?’

‘एऽऽ नाम ?’ मुसुक्क हाँस्दै चतुरेले भने–

‘यसको नाम ‘टाक्कटुक्क ठाक्कठुक्क गोरक्षाबन्धन’ हो । भौतिकशास्त्र र रासायनशास्त्रको राम्रो घुलन भएको पुरानो ग्रन्थ हो । पुर्खाको धरोहर भएकाले कीरा नलागोस् भनेर बाकसभित्र राख्ने गरेको छु । आशा छ तपार्ईँले पनि यसबारे सुन्नुभएको छ ।’

पुस्तकको आकृति देख्दैमा आगन्तुक विद्वान झस्किसकेका थिए । त्यसमाथि पुस्तक नाम सुनेपछि सातोपुत्लै उड्यो । उनले यस्तो पुस्तक न नपढेका थिए न नामै सुनेका थिए । तैपनि अनुहारमा त्यसको छनक आउन दिएनन् र  बचाउको बाटो खोज्दै भने–

‘हो, यसबारे मलाई थाहा छ । पुस्तकको आकार जति ठूलो छ विषय पनि त्यति नै गम्भीर छ । यस्ता पुस्तकका बारेमा बहस गर्न तयारी पनि त्यस्तै गरेर आउनुपर्ने हुन्छ । त्यसैले म पनि भोलिसम्मको समय माग्छु दिनुहुन्छ ?’

‘हुन्छ महाशय ! किन नहुने भोलि यसै समयमा यही भेट्न सक्छौँ ।’

यति बनेर चतुरे उठे । त्यसदिनको बैठक पनि भोलि फेरि बस्ने गरी स्थगित गरियो । 

भोलिपल्ट पुन बैठक बस्यो । तोकिएको समयमा सबै आए तर आगन्तुक विद्वान् भने देखा परेनन् । परून् पनि कसरी उनी त डरले बिहानै भागिसकेका थिए । भनिन्छ ‘सत्य डग्दैन झुटो तग्दैन ।’ ती कथित विद्वानलाई पनि त्यस्तै भयो ।

निकै बेर कुर्दा पनि उनी नआएपछि राजा जगदादित्यले चतुरेतर्फ फर्कैँदै भने–

‘भन्नुस् शर्माजी ! यो कस्तो पुस्तक हो ? मिल्छ भने नामको अर्थ पनि खुलाउनुहोला ।’

चतुरेले लामो सास फेर्दै भने–

‘यो कुनै पुस्तकको ठेली नभई गाई बाँध्ने काठको किलाको भारी हो महाराज !’

‘अनि नामको अर्थ ...?’

‘यसको पनि खासै अर्थ छैन ।’ प्रश्न पूरा हुन नपाउँदै चतुरेले भने–

‘गाईलाई दाम्लोले बाँध्नका लागि टाकटुक ठाकठुक गरी किलो ठोक्नुपर्ने हुनाले नाम पनि त्यस्तै मिल्दो ‘टाक्कटुक्क ठाक्कठुक्क गोरक्षा बन्धन’ राखेको हुँ । बाकसमा राखेर कपडाले ढाक्नुको आशय भने आकर्षक देखाउनु हो । धुर्त विद्वान्लाई ठेगान लगाउन यो भन्दा अर्को उपाय नदेखेर नै यस्तो नाटक गर्न वाध्य भएको हु महाराज !’

चतुरेको चलाखीलाई सभासद सबैले ताली ठोकेर स्वागत गरे । राजाले भने आसन्न ठूलै सङ्कटबाट बचाएको भन्दै उनको प्रशंसा मात्र गरेनन् ठूलै पुरस्कारको राशिले स्वागत गर्दै विदा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप