अलपत्र बन्यो मुख्यमन्त्री सभाहल, ठेकेदार नै ‘बेपत्ता’
प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्य अनुसार निर्माण सुरु गरिएको ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ अलपत्र अवस्थामा रहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको सो सभाहल म्याद समाप्त हुन ३ महिना बाँकी रहँदासम्म पनि अलपत्र अवस्थामा रहेको छ । निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न विछ्याइएको रडहरु खिया लागिसकेको छ भने निर्माण सामग्रीहरु असरल्ल अवस्थामा रहेको छ ।
मन्त्रालय र उपमहानगरपालिका आफैंको सभाहल नहुँदा विभिन्न कार्यक्रम गर्नका लागि समस्या देखिएपछि मुख्यमन्त्री सभाहल निर्माणको योजना अनुसार गत २०७७ कात्तिक १७ गते प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए ।
वैज्ञानिक प्रविधिको सो भवन हेटौंडा उपमहानगरपालिकाको पछाडी रहेको जग्गामा निर्माण सुरु गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी भवनको निर्माण कार्य सुरु गरिएको थियो । निर्माण पश्चात सो सभा हलको सम्पूर्ण व्यवस्थापन हेटौंडा उपमहानगरपालिकामा रहने भनिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले सो सभा हलको निर्माणको ठेक्का आह्वान गरेको थियो ।
कार्यालयले १८ महिनाको समय सिमा तोकेर कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माणको ठेक्का आह्वान गरेको थियो । चार सय जना क्षमताको सो सभाहल निर्माणका लागि घटाघट विधि अनुसार संरक्षण निर्माण सेवा/ शेभ इन्जिनियरिङ्ग कन्स्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कार्य सुस्त, ठेकेदार हराए
ठेक्का सम्झौता गरेको १५ महिना वितिसक्दा समेत सो सभाहलको प्लिन्थ लेभलको काम पनि सम्पन्न हुन सकेको छैन । १५ महिनाको अवधिमा सभाहलको १५ प्रतिशत मात्र भौतिक प्रगति भएको भौतिक पुर्वधार विकास मन्त्रालय अन्तर्गतका भवन तथा शहरी विकास कार्यालयले जनाएको छ ।
सो सभाहल आगामी बैशाख १९ गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ तर निर्माण कार्य सम्पन्न हुनेमा भवन तथा शहरी विकास कार्यालय नै शंकामा रहेको छ ।
सो आयोजनाहरु निर्माणमा ढिलाई हुँदा समेत भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतका भवन तथा शहरी विकास कार्यालय मौन देखिएको छ । कार्यालयले भवन निर्माणमा ढिलाई भएको प्रति खासै प्रतिक्रिया देखाएको छैन । कार्यालयले म्याद रहँदा सम्म केही गर्न नमिल्ने बताउँदै आएको छ ।
निर्माण कम्पनीले निर्माण सामग्रीहरु असरल्ल पारेर हराइपछि भने कार्यालयले तीन पटक ताकेता पत्र पठाइसकेको छ तर हालसम्म पनि ठेकेदार सम्पर्कमा नआएको कार्यालयका इन्जिनियर महोब्वत फिरोज अलिले बताउँछन् ।
उनका अनुसार नयाँ प्रविधिको भवन भएकाले निर्माण सामग्री समयमा प्राप्त हुँदा सभाहल निर्माणमा केही ढिलाई भएको हो । कोरोना संक्रमण जोखिमका कारण पनि निर्माण कार्य गर्न समस्या भएको उनले बताए ।
‘नयाँ प्रविधिको सो सभाहलको निर्माण सामग्री बाहिरी देशबाट आयात गर्नु पर्ने हुन्छ । सो सभाहल स्याण्डवीच इपिएस स्याण्डवीच प्रविधिबाट प्यानल बोर्डको ट्रस्ट भएकाले कोरोनाका कारण निर्माण सामग्री आयातमा ढिला भएकाले समय लागेको हो ।’ उनले भने ।
सभाहललाई समयमा नै सम्पन्न गर्न कार्यालयको तर्फबाट खबरदारी गर्ने काम निरन्तर भएकाले म्याद भित्र निर्माण कार्य सम्पन्न नगरे कारवाही प्रक्रिया अघि बढाउने उनले बताए ।
कार्यालयले निर्माण कार्य गर्न कुल लागतको २० प्रतिशत रकम निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
-
उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स
-
भारतीय लोकसभामा बंगलादेशी हिन्दुहरूमाथि भएको हिंसाबारे चर्चा
-
गंगालाल तुलाधार बने एकीकृत समाजवादीको बागमती इन्चार्ज, सहइन्चार्ज को–को ?
-
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
-
अर्थतन्त्र सम्हाल्न 'असफल' अर्थमन्त्री