बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

टाटाको नेक्सन, हुन्डाईको भेन्यु र रेनो काइगरका यस्ता छन् विशेषता

सोमबार, ०२ फागुन २०७८, १२ : ५७
सोमबार, ०२ फागुन २०७८

बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् । तर उपभोक्ताहरूलाई गाडीको विशेषताहरू उपयुक्त लागे यसै पनि रुचाइन्छ । त्यसमध्येको एउटा उदाहरण हो टाटा नेक्सन । 

नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यू र रेनोको काइगरलाई लिन सकिन्छ । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा जम्मा ४ स्टार रेटिङ पाएको छ ।

तीन गाडीका विशेषता र भिन्नता यस्ता छन् 

टाटा नेक्सनको तौल जम्मा १ हजार २३७ केजी छ । हुन्डाई भेन्यूको १ हजार ११२ देखि १ हजार २५१ केजी छ । रेनो काइगर १ हजार १२ केजी छ । नेक्सनको तौल दुईभन्दा बीचमा पर्ने हुँदा औसत मान्न सकिन्छ । टाटा नेक्सनको लम्बाई ३ हजार ९९३ एमएम, चौढाई १ हजार ८११ र उचाई १ हजार ६०६ एमएम छ। यसको लम्बाई ३ हजार ९९५ एमएम, चौढाई १ हजार ७७० एमएम र उचाई १ हजार ६०५ एमएम छ । काइगरको लम्बाई ३ हजार ९९१ एमएम, चौढाई १ हजार ७५० एमएम र उचाई १ हजार ६०० एमएम छ ।

टाटा नेक्सनको ह्विलबेस २ हजार ४९८ एमएम छ भने भेन्यू र काइगरको ह्विलबेस २ हजार ५०० एमएम छ। भेन्यूको ग्राउन्ड क्लेरेन्स जम्मा १९० एमएम र काइगरको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ। यता नेक्सनको ग्राउन्ड क्लेरेन्स भने यी दुईभन्दा धेरै छ। त्यो भनेको यसमा २०९ एनएम ग्राउन्ड क्लेरेन्स छ । टाटा नेक्सन नेपालको उखाडखाबड बाटोको लागि निकै उपयुक्त छ ।

बाहिरी आवरण
तीनवटै एसयुभीको बाहिरी डिजाइन आकर्षक छ । नेक्सनको लुक्स निकै बोल्ड छ भने पछाडिको भाग अलि स्लिम छ । नेक्सनको तुलनामा भेन्यूको आवरण भिन्न छ । यसमा ठूलो रेडियटर ग्रिल छ र हेडल्याम्पको लागि स्प्लिट थिम छ । नेक्सन र भेन्यूमा अगाडि भागमा फग लाइट छ । तुलनात्मक रुपमा काइगरमा भने फग लाइट छैन । त्यस्तै, भेन्यू र नेक्सनमा सन रुफ छ तर काइगरमा छैन । भेन्यूको तुलनामा टाटामा डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइट छ ।

तीनैवटा गाडीमा एड्जस्टेबल हेडल्याम्प र रिअर भ्यू ऐना पाउन सकिन्छ । यी गाडीमा अलोय ह्विलको प्रयोग गरिएको छ । भेन्यू र काइगरको तुलनामा नेक्सन बढी युवा पुस्ताले रुचाउने डिजाइनमा तयार पारिएको छ ।

आन्तरिक विशेषता
तीनवटै गाडीको इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ । गाडीहरूमा सफा र फराकिलो ड्यासबोर्ड पाउन सकिन्छ । तुलनात्मक हिसाबमा नेक्सनको क्याबिन फराकिलो र बढी विशेषताले भरिपूर्ण देखिन्छ । यसमा पुरै डिजिटल इन्स्ट्रमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजको लागि ठाउँ पनि छ । यो डुअल–टोन थिममा आधार भएकोले पनि अझ आकर्षक देखिन्छ । नेक्सनमा जस्तै काइगरमा पनि डुअल–टोन ड्यासबोर्ड भने पाउन सकिन्छ ।

भेन्यू र काइगरको तुलनामा नेक्सनमा चालक र यात्रुलाई बस्नको लागि फराकिलो ठाउँ छ । त्यस्तै, यात्रु सुविधाको लागि नेक्सनमा अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा छ । जुन काइगर र भेन्यूमा छैन।

सुरक्षा
टाटा नेक्सनले वयस्क सुरक्षाको लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाको सुरक्षाको हकमा ३ स्टार रेटिङ पाएको छ । भेन्यू र काइगरले ग्लोबल एनक्यापममा ४ स्टार रेटिङ पाएको छ । काइगरमा चार वटा एयरब्याग छन् । नेक्सन र भेन्यूमा दुईवटा एयरब्याग छन् ।

काइगरमा पङ्चर रिप्येर किटहरू पाइदैन तर नेक्सनमा यो किट उपलब्ध छ। त्यस्तै, नेक्सनमा हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी छन् । जुन काइगर र भेन्यूमामा समावेश गरिएको छैन । नेक्सनमा इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षा छन् । यी तीनवटै गाडीमा चाइल्ड सेफ्टी लक राखिएको छ ।

इन्जिन र ट्रान्समिसन

एकै सेगमेन्टको भेन्यू, काइगर र नेक्सनमा सबैभन्दा बढी डिस्प्लेसमेन्ट नेक्सनको छ । नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिनमा उपलब्ध छ । १ हजार १९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ ।

जसले ५ हजार ५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १ हजार ४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ । जसले ४०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ ।

हुन्डाई भेन्यू पनि १.२ लिटर कप्पा पेट्रोल र १.५ लिटर यू २ सिआरडिआई डिजेल विकल्पमा उपलब्ध छ । १ हजार १९७ सिसी डिस्प्लेसमेन्ट भएको भेन्यू पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ । जसले ६ हजार आरपिएममा ८३ पिएस पावर र ४ हजार आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ । यसको डिजेल भर्सनमा भने १ हजार ४९३ सिसी डिस्प्लेसमेन्ट छ, जसले ४ हजार आरपिएममा १०० पिएस पावर र १,५००–२,७५० आरपिएममा २४० एनएम टर्क जेनेरेट गर्छ । 

रेनोको काइगरमा ९९९ सिसी, ३ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ । यसले ६ हजार  आरपिएममा ८२ बिएचपी पावर र ४ हजार आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ । पावरको हिसाबमा यी तीन एसयुभीमध्ये सबैभन्दा बढी पावर नेक्सनको रहेको छ। यो पेट्रोल र डिजेल दुवैमा ६ गियर म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । 

इन्धन क्षमता

नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ। भेन्यूको पेट्रोल संस्करणले प्रतिलिटर १७.५२ किलोमिटर र डिजेल संस्करणले २३.४ किलोमिटरको माइलेज दिन्छ । यता काइगरले भने प्रतिलिटर १९.३ किलोमिटरको माइलेज दिन्छ । 

अन्य फिचर
टाटाको नेक्सनमा इको, सिटी र स्पोर्ट गरि तीन ड्राइभिङ मोड छ । जुन भेन्यू र काइगरमा पाइँदैन । यसमा ३५० लिटरको बुट स्पेस छ । भेन्यूमा पनि ३५० लिटरको बुट स्पेस छ । उता रेनो काइगरमा भने ४०५ लिटरको बुट स्पेस पाउन सकिन्छ । 

नेक्सनमा १६ इन्चको अलोय ह्विल छ । काइगरमा पनि १६ इन्चको ह्विल पाउन सकिन्छ । हुन्डाई भेन्यूमा भने जम्मा १५ इन्चको ह्विल छ। नेक्सनमा सन ग्लास होल्डर पनि दिइएको छ । जुन भेन्यू र काइगरमा छैन । 

मूल्य 
नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँ रहेको छ । यो हरियो, सेतो, रातो र ग्रे रंगमा  उपलब्ध छ ।  हुन्डाईको मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । यो ग्रे, सिल्भर, सेतो, निलो र सुन्तले रंगमा उपलब्ध छ । 

नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म उपलब्ध काइगर भने निलो, रातो, सिल्भर, ग्रे, सेतो र कालो गरि ६ रंगमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप