मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरूङ मार्गको ठेक्का

सोमबार, ०२ फागुन २०७८, ११ : ४८
सोमबार, ०२ फागुन २०७८

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो ।

सुरूङ मार्ग बनाउन आह्वान गरिएको टेण्डरमा नौ कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक प्रस्ताव स्वीकृत भएका चारवटै कम्पनी चिनियाँ थिए । जसमध्ये सबैभन्दा कम मूल्य ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का आवेदन गर्ने चिनियाँ कम्पनीले ठेक्का हात पारेको हो । चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल विस्तार आयोजना र काठमाडौं–तराई÷मधेस द्रूतमार्गको ठेक्का आयोजना अलपत्र पारेको छ ।

आगामी साउन महिनासम्म सक्नुपर्ने नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम जम्मा १२ प्रतिशत सकिएको छ । तोकिएको समयमा आयोजना निर्माण नसकिने भएपछि कम्पनीले थप दुई वर्षको म्याद थप मागिरहेको छ । यो आयोजनाको ठेक्का कम्पनीले १५ अर्ब रुपैयाँमा हात पारेको थियो ।

यस्तै, द्रुतमार्ग अन्तर्गतको महावेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरूङ मार्गसहित पुल र सडकको ठेक्काको लक्ष्यअनुसार काम भइरहेको छैन । कम्पनीले यो आयोजना २१ अर्ब ६१ करोड रुपैयाँमा हात पारेको थियो । यसरी, दुईवटा आयोजनाको ठेक्का हात पारेर अलपत्र पारेको कम्पनीले सिद्धबाबा सुरूङ मार्गको ठेक्का हात पारेको हो ।

सिद्धबाबा सुरूङ मार्गको निर्माण कार्य पाँच वर्ष भित्र सक्नुपर्नेछ । यस्तै, निर्माण सम्पन्न भएपछिको पाँच वर्षसम्म सुरूङ मार्गको मर्मत सम्भार गर्ने जिम्मेवारी पनि निर्माणकर्ता कम्पनीकै हुनेछ । नेपालको आफ्नै लगानीमा बन्ने यो सुरुङमार्गको लागि अर्थमन्त्रालयले वि.सं. २०७६ सालको मंसिरमा नै १० अर्ब १५ करोड बजेट सुनिश्चित गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप