आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सांगीतिक जोडी माण्डवी र विपिनको प्रेम कहानी : त्यो प्रेम र ती डेटिङ को भुल्न सक्छ र ?

सोमबार, ०२ फागुन २०७८, ०९ : १०
सोमबार, ०२ फागुन २०७८

गायिका माण्डवी त्रिपाठी र संगीतकार विपिन आचार्य  सांगीतिक क्षेत्रका लागि एक उदाहरणीय जोडी हुन् । ‘प्रेम दिवस’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा रातोपाटीले माण्डवी र विपिनलाई प्रेम कहानी सुनाउन आग्रह गर्दा सहर्ष स्वीकारे । प्रेमलाई २०६७ सालमा विवाहमा परिणत गरेका यो जोडीले विवाह गरेको पनि एक दशक नाघिसक्यो । समयसँगै दुबैको प्रेम झन् झाँगिँदो छ । दुवैले एकै स्वरमा भने, ‘हामी दिन प्रतिदिन झन् झन् गहिरो प्रेममा डुब्दैछौ ।’ 

गीत संगीतको सिलसिलामा एकअर्कासँग नजिकिएका उनीहरू बीचको प्रेम स्टुडियोमा टुसायो । माण्डवी र विपिनको पहिलो भेट गुञ्जन स्टुडियोमा भएको थियो । त्यो भेट ‘गाउँकी छोरी’ बोलको गीतले गराएको थियो । ‘मैले मान्डवीको नाम सुनेको त थिएँ तर भेट्ने मौका मिलेको थिएन,’ विपिनले भने, ‘गीतको कारणले भेट्ने अवसर जुर्‍यो ।’ माण्डवीले भने भेट अगाडि विपिनको नाम कहिल्यै नसुनेको बताइन् ।

‘गाउँकी छोरी’ गीतपछि विपिन र माण्डवीबीच धेरै गीतमा सहकार्य भयो । गीतसंगीतको सिलसिलामा उनीहरू दैनिकजसो भेट्न थाले । ‘माण्डवीसँग प्रेम भएर होइन, चलेकी गायिका, काममा पनि उनी सहज थिइन्,’ विपिनले भेटको विषयमा भने ‘त्यो समय प्रेम गर्ने सोचमा पनि थिइन ।’ विपिनको कुरा नसकिँदै माण्डवीले थपिन्, ‘गायन मेरो पेसा थियो । त्यसैले विपिनले बोलाए भेट्थे । गीत गाउँथे, पारिश्रमिक लिन्थे ।’

अनि बस्यो प्रेम 

कामको सिलसिलामा करिब डेढ बर्ष उनीहरूको भेटको शृङ्खला बारम्बार चलिरह्यो । दुवैले सहकार्यमा दर्जन बढी गीत गरिसकेका थिए । आफ्नो संगीतमा लोकफ्लेबर भए विपिन  माण्डवीलाई दिन्थे । एकपटक माण्डवीले विपिनलाई भनिन् ‘तपाईंले त आधुनिक गीत पनि गर्नु हुँदो रहेछ । म आधुनिक, फिल्मी सबै प्रकारको गाउँछु नि ।’ माण्डवीले त्यो विपिनसँग नजिकिन होइन, थप कामको लागि भनेकी थिइन् । त्यसपछि विपिनले पनि उनलाई सबै थरिको गीत दिन थाले । त्यति बेलासम्म दुवैबीच गायिका र संगीतकारको मात्र सम्बन्ध थियो ।

दिन बित्दै गए । एकदिन विपिनले माण्डवीले नयाँ एल्बम गर्दै गरेको थाहा पाए । माण्डवी चलेकी गायिका भएकोले उनको एल्बममा संगीतकार वा संगीत संयोजनको रुपमा जोडिएर फोटो राखेर चर्चित हुने लोभ पलायो । अर्काे कारण त्यतिबेला चलेका संगीतकार सुरेश अधिकारी, राजु सिंह लगायतसँग पनि उनी उभिन चाहन्थे ।

पहिले विपिनले माण्डवीलाई काम दिन्थे । तर यसपाली विपिनको अनुरोधमा एक गीतको संगीतको जिम्मा माण्डवीले दिइन् । साथमा कामको पैसा पनि । विपिनले संगीत तयार गरे । गीत रेकर्डिङ लागि दुवै स्टुडियो पुगे तर खाली थिएन । यो शृङ्खला केही दिन चल्यो । सधैँ रेकर्डिङमा कुर्नुपर्दा माण्डवी रिसाउँछिन् कि भन्ने डर विपिनलाई थियो । ‘त्यस बेला नै मेरो उनीप्रति प्रेम पलाएको रहेछ’ विपिनले भने, ‘मैले घरमा माण्डवी राम्री छिन् भनेर आफ्ना लागि माग्न अनुरोध गरे ।’

संगीतको कम्पोज सुन् माण्डवी घरमा कैयौ पटक आइसकेको र चिनजान पनि राम्रो भएकोले विपिनको परिवारले माण्डवीसँग विवाहको कुरो पुर्याए । त्यो समय माण्डवीले विपिनलाई एउटा राम्रो संगीकारको रुपमा मात्र हेर्थिन् ।

‘विपिन अनेष्ट, फ्यामिली ओरेन्टेट र राम्रो लाग्थ्यो’ माण्डवीले भनिन्, ‘विपिनको घर जाँदा बहिनी र फ्यामिलीलाई केयर गरेको देख्दा उहाँप्रति एक किसिमले आकर्षित हँुदै गएकी थिएँ । विवाहको प्रस्ताव आयो, मैले सहर्ष स्वीकारे ।’

‘विवाहको प्रस्ताव मैले नै पठाएको थिएँ,’ माण्डवीको बोलीमै विपिनले लोली मिसाए, ‘अरू त होइन, उनको बाबालाई भने मेरो बारेमा खुलदुली रहेछ ।’ 

डेटिङमा एक कप चिया

विपिन र माण्डवीबीच विवाहको कुरो पारिवारिक सहमतिमा पक्का भयो । डेढ वर्षदेखि कामको सिलसिलामा भेटे पनि एक कप चिया समेत सँगै खाएका थिएनन् उनीहरू । विवाहको पक्कापक्की पछिको पहिलो भेटमा उनीहरूले एक कप चिया खाए । अब त भेटघाट झन् बाक्लिन थाल्यो । माण्डवीको गीत रेकर्डिङ भए विपिन स्टुडियोसम्म पुर्‍याउन जान्थे । विपिनले कसैलाई संगीतको कम्पोज सुनाउने क्रममा पनि माण्डवी जान्थिन् ।

‘हामी भेट्थ्यौ तर प्रेमका कुरा कहिल्यै गरेनौँ । बरु फोनमा अन्य हल्का कुरा हुन्थ्यो’ माण्डवीले भनिन्, ‘विवाह अगाडि एकदिन साधारण ठाउँमा चिया खान गएका थियौ ।’ विवाह अगाडि चिया खान गएको कुरोमा विपिनले अगाडि थपे, ‘त्यो समय मसँग हजार रुपैया मात्र थियो । ५ सयमा जहाँ ट्याक्सी खर्च पुग्छ, त्यहाँ गइयो ।’

‘विवाहपछि एकअर्काेसँग एडजस्ट हुन समय लाग्यो,’ माण्डवीले थपिन्, ‘हामीलाई मात्र होइन । हरेक नवविवाहीत जोडीलाई यस्तै हुन्छ ।’ माण्डवीको कुरोमा विपिनले सहमति जनाए । 

‘प्रेम त विवाह अगाडि पनि थियो । एकअर्काे प्रतिको समर्पण भने विवाहपछि भयो,’ विपिनले थपे, ‘यो मेरै हो । यसले जे गरे पनि मेरै लागि हो र मैले जे गरे पनि उसकै लागि हो भन्ने समर्पण भाव आयो ।’

अहिले विपिन माण्डवी विनाको जीवन कल्पना गर्न पनि नसक्ने बताउँछन् । ‘जुन बेला विवाह गरेँ । त्यो समय पनि माण्डवी बाहेक अन्यलाई भेटेको भए पनि विवाह गर्ने थिइनँ,’ विपिन भन्छन्,‘माण्डवी बिना मेरो जीवन अधुरो हुन्थ्यो ।’ माण्डवी पाएर जीवन खुसी, सुखी र सफल भएको विपिन सुनाउँछन् ।

माण्डवीले पनि विपिनको कुरा दोहोर्याइन्, ‘हामी दुवै एक अर्काेलाई सपोर्ट गर्छौँ । अर्काे अगाडि बढ्यो भन्ने रिस राख्दैनौ । हाम्रो सफल दाम्पत्य जीवनको रहस्य यही हो ।’ प्रेम र विश्वासले एक अर्काेप्रति अहिलेसम्म शंका गर्नुपर्ने अवस्था नआएको उनी मुस्कुराउँदै सुनाउँछिन् ।

झगडा नि हुन्छ

भनिन्छ, अगुल्टो न ठोसी बल्दैन । त्यस्तै हो श्रीमान् श्रीमतीको सम्बन्ध र प्रेम । जो कोहीको पनि कहिलेकाहीँ झगडा हुन्छ । विपिन र माण्डवीबीच पनि कहिलेकाहीँ झगडा हुन्छ । बढी रसाउने माण्डवी हुन् । ‘उनलाई रिसाउन कुनै ठूलो कारण चाँहिदैन,’ विपिनले माण्डवीको हात समाउँदै भने,‘रिसाएको समय बेला धेरैजसो फकाउने मै हुँ ।’ 

‘उहाँलाई लाटो रिस उठ्छ । रिसाउनै नपर्ने कुरामा पनि रिसाउनु हुन्छ,’ माण्डवीले पनि विपिनको पोल खोलिन्, ‘रिसाएपछि खानै छोड्न्हुन्छ ।’

विपिन मात्र होइन, माण्डवी पनि रिसाएको बेला खाना छोड्थिन् पहिले । ‘एक पटक दिदीले रिसाएर खाना छोड्नु हुँदैन । खाना छोड्यो भने घरमा अलच्छिनी लाग्छ भन्नुभयो । त्यो समयदेखि मैले त्यो बानी हटाएँ,’ माण्डवी प्रेमभावले विपिनतिर हेर्दै भनिन् ।

‘बाहिर रिसाए पनि भित्र म कहिल्यै रिसाएको हुन्न । खाना त पेट घटाउने मौका साँचेर छोडेको हो,’ माण्डवीको आरोप स्वीकार्दै विपिनले बाठो शैलीमा स्पष्टीकरण दिए ।

माण्डवी र विपिनको अहिले दुई सन्तान छन् । त्यसैले पनि अचेल उनीबीच झगडा कम हुन्छ । बच्चा भएपछि रिसाउन कम भएको बताएका उनीहरूले अहिलेसम्म डरलाग्दो झगडा कहिल्यै नभएको सुनाए ।

मिलिजुली घरधन्दा 

श्रीमान् श्रीमती भए पनि एकअर्काेका सबै बानी दुबैलाई मनपर्छ भन्ने हुँदैन । माण्डवीको धारणा पनि यही छ । ‘घरमा समय पनि दिनुहुन्छ । काममा पनि धेरै खटिनु हुन्छ,’ माण्डवीले अगाडि भनिन्, ‘कहिलेकाहीँ झुट बोल्नु हुन्छ ।’ विपिनले भने अहिलेसम्म माण्डवीमा मन नपर्ने बानी नभेटाएको बताए । ‘माण्डवीको मन नपर्ने कुरो केही देख्दिन । मनपर्ने कुरो भने धेरै छन् । सबैप्रति सकारात्मक सोच्ने, कसैको बिग्रियोस्, भत्कियोस् नभन्ने हो ।’ उनले भने ।

श्रीमान् श्रीमती एक रथको दुई पाङ्ग्रा हो । विपिन घरको काम महिलाले मात्रै गर्नुपर्छ भन्ने सोच राख्दैनन् । घरको काम विपिन र माण्डवी मिलेर गर्छन् । ‘म धेरै समय स्टुडियोमा ब्यस्त हुने भएकोले माण्डवीले घरको काम धेरै गर्नु परेको छ,’ विपिनको सहानुभूतिको कुरा नसिध्याउदै माण्डवी बोलिन्, ‘होइन, उहाँ पनि धेरै काम गर्नुहुन्छ । बेलुका अफिसबाट फर्किएपछि भाडा माझ्नेदेखि सबै काममा उहाँले सघाउनु हुन्छ ।’ 

माण्डवी हिट गायिका हुन् । उनका फिल्मी गीतदेखि आधुनिकसम्म थुप्रै गीत हिट छन् । तर मिडियामा खासै चर्चा छैन । विपिनले छायामा रहने माण्डवीको खराव बानी भएको बताउदै सुधार्न उनलाई अनुरोध समेत गर्छन् । विपिनको अनुरोधको जवाफ सेम टु यु भन्दै माण्डवीले फर्काइन् । भनिन् ‘यो मात्र होइन, हाम्रो धेरै बानी मिल्छ ।’

अहिले घुमफिरमा कमी 

विपिन र माण्डवी पहिले सँगै धेरै घुम्थे । बिना प्लानिङ ककनी लगायत विभिन्न ठाउँका, रिसोर्ट, रेष्टुरेन्ट पुग्थे । अप्ठ्यारो बाटो र नपुगेको ठाउँको अनुभव गरौं भन्दै हिँडिरहन्थे । उनीहरूको घुमघाम देखेर साथीहरु समेत डाहा गर्दथे । तर अहिले भने यो जोडीको घुमघाममा ब्रेक लागेको छ । ‘पहिले हामी दुई जना थियौं र बाइकमा हिँड्न सजिलो हुन्थ्यो, अहिले ४ जना भएका छौं,’ माण्डवीले घुमघाम कम हुनुको कारण खोलिन्, ‘बच्चा छाडेर हिँड्न मिल्दैन । सबै जान एउटा बाइकमा अटिदैन ।’

सन्तान जन्मनु अगाडिको जीवन बिन्दास मान्ने उनीहरूको प्रेम सन्तान भएपछि झन् बढेको छ । ‘हाम्रो प्रेम अहिले पहिले भन्दा झन् बढेको छ,’ विपिनले भने, ‘हामी दुबैको प्रेम अहिले एकअर्काेमा भन्दा पनि सन्तानमा फोकस छ ।’ माण्डवीले पनि सन्तानको जिम्मेवारीमा आफूहरू बढी फोकस भइरहेको बताइन् । ‘म तिमीलाई माया गर्छु भनेर हामीले कहिल्यै भनैनौँ । हामीमा भित्र भित्रै माया छ,’ विपिनले भने । 

‘माया फिल गर्ने कुरो हो । गर्छु भन्दैमा पत्याउन सकिन्न । फिल्म हुनुपर्‍यो,’ माण्डवीले भनिन् ।

सरप्राइज गिफ्ट

उनीहरू एक अर्काेलाई उपहार दिन मामिलामा पनि अगाडि छन् । भ्यालेन्टाइन डे, बर्थ डे होस् वा अन्य बहाना । उनीहरू एक अर्काेलाई गिफ्ट दिन पछि पर्दैनन् । यो मामिलामा विपिन भन्दा अझ अगाडि माण्डवी छिन् । उनी विदेशका कार्यक्रमबाट फर्किदा होस् वा स्वदेशमै रहँदा विपिनका लागि कपडा, घडी लगायत विभिन्न गिफ्ट गरिरहन्छिन् । आफूलाई सरप्राइज गिफ्ट दिन मनपर्ने माण्डवीले बताइन् ।

विपिनले दिएको गिफ्ट कहिलेकाहीँ माण्डवीलाई मनपर्दैन । केही पटक उनले फिर्ता समेत गराएकी छन् । त्यसैले विपिन माण्डवीका लागि गिफ्ट किन्न पसल पुगे पनि हेरेर फर्किदै धेरै पटक पैसा दिएर भनेका भनेका छन्, ‘मनपरेको गिफ्ट मेरो तर्फबाट किन ।’

विपिनका केही गिफ्ट आफूले फिर्ता गरेको माण्डवीले स्वीकारिन् । आफ्नो तुलनामा विपिनले गिफ्ट कम दिने गरेको माण्डवीले गुनासो पनि गरिन् । माण्डवीको गुनासोमा विपिनको हाँसो छुट्यो ।

के हो प्रेम ?

प्रेमको परिभाषा यही हो भन्न सकिन्न । किनभने हरेक व्यक्तिले यसको फरक परिभाषा दिन्छन् । माण्डवी भने प्रेम एउटा रमाइलो सुन्दर आधार र जिम्मेवारी भएको बताउँछिन् । जति उमेर बढ्दै गयो, त्यति प्रेम रमाइलो हुने उनको धारणा रहेको छ । विपिन भने प्रेम विश्वास र जिउने आधार भएको बताए । प्रेम नभए मानिस लफङ्गो हुने विपिनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप