अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने
बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले बताएको हो । बीमा बोर्डबाट एक बीमित बिरामीलाई रिफर गरेबापत २०० रुपैयाँ सो अस्पतालले प्राप्त गर्छ ।
देशभर बीमितको उपचार गर्ने अस्पताल ४३४ वटा छन् । प्रायः अस्पतालले बीमा बोर्डले तोके अनुसार कुनै पनि प्राथमिक सेवा नदिई रिफर गरेको पाइएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शोभित रिजालले बताए । स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ९ को (नियम २० को उपनियम (२) सँग सम्बन्धित) अनुसूची ९ मा बिपी, पल्स, धड्कन, ज्वरो, श्वासप्रश्वास जाँच गरेर मात्रै सम्बन्धित अस्पतालले रिफर गर्नुपर्छ । तर, अस्पतालहरूले रिफर गर्दा केही पनि जाँच नगरीकन बोर्डलाई प्रेषण पुर्जी पठाउने गरेका छन् ।
उनले भने, ‘अर्को अस्पतालमा रिफर गर्दा बिरामीको केही पनि जाँच नै नगरीकन पठाउने बीमा बोर्डसँग क्लेम गर्नेलाई पैसा बोर्डले दिँदैन ।’ अस्पतालमा पुग्ने बीमितलाई उनीहरूले भनेकै आधारमा जाँच नगरीकन रिफर गर्ने अस्पतालहरूलाई प्रति बिरामी २०० रुपैयाँ काटी दिइएपछि अस्पतालमै उपचार गर्छन् कि भन्ने अपेक्षा रहेको उनले बताए ।
उनले भने, ‘दुई सय रुपैयाँ नपाएको कारणले बिरामीलाई रिफर गरेनन् र आफैले बिरामीको जाँच गर्न थाले भने निजी अस्पतालहरूमा उपचार गर्न जानेको दर पनि घट्छ ।’ स्वास्थ्यसम्बन्धी चेतना बढ्नु सकारात्मक कुरा भए पनि रोग लागेर बीमाको चेकजाँच गर्ने कति अस्पताल पुग्छन् भन्ने बारे अध्ययन गर्न अत्यन्त जरुरी चिकित्सकहरू बताउँछन् ।
सेवा शाखामा गुनासै गुनासो
अस्पतालमा उपचार गराउन पुग्नेहरूले सेवा शाखामा उपचार र औषधि नपाएको बारम्बार गुनासो गर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा गराए पनि अस्पतालले उपचार गरिदिएन भन्दै बारम्बार कल आउने सूचना अधिकारी रिजालले बताए । स्वास्थ्य बीमा गराएकाहरूले सरकारले तोकेका अस्पतालमा मापदण्डमा आधारित भई उपचार पाउने उनको भनाइ छ । ’स्वास्थ्य बीमा गराउँदा नजिकैको जुन अस्पतालमा उपचारका लागि नाम लेखिएको छ । त्यही अस्पतालमा उपचार गर्न जानुपर्छ,’ उनले भने, ‘यदि त्यस अस्पतालमा उपचार नभएको खण्डमा सोही अस्पतालबाट रिफरल लेटर लगेर अर्को अस्पतालमा उपचार गर्न पाइन्छ ।’
वार्षिक रूपमा ३५०० तिरेर स्वास्थ्य बीमा गराएकाले एक लाख रुपैयाँसम्मको औषधि उपचार गर्न पाउँछन् । त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक अनुसार वार्षिक ३५ सयको स्वास्थ्य बीमा गरेर टाठाबाठले एक लाखसम्मको सुविधा लिने गर्छन् । केहीले आवश्यकता भन्दा बढी फाइदा उठाइरहेका छन् भने केहीले अस्पतालकै मनोमानीका कारण औषधि समेत समयमै पाएका छैनन् ।
अस्पतालहरूले बीमा बोर्डबाट गएको पैसाले अन्यत्र खर्च गर्ने हुँदा बीमितले औषधि नपाएको स्वास्थ्य बीमा बोर्डका कर्मचारीको भनाइ छ । ती कर्मचारीले भने, ‘बीमाबाट गएको पैसाले तलब भत्ता ख्वाउँछन् ,अन्तअन्त खर्च गर्छन् । तर औषधि किन्दैनन् ।’
स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म अस्पतालहरूले उपचारको क्लेम गरे अनुसार पाँच अर्ब रुपैयाँ निकासा गरिसकेको छ । अझै अस्पतालहरूले क्लेम गरे अनुसार दुई अर्ब दिन बाँकी छ ।
सरकारको लक्ष्य अनुसार स्वास्थ्य बीमा गर्न सकेनन्
सरकारले अनिवार्य स्वास्थ्य बीमाको व्यवस्थाका लागि पहल गर्नुपर्ने सूचना अधिकृत रिजालले बताए । ‘सबै जना बीमित भइसकेपछि पहिलो वर्ष उपचारको क्रममा ६ /६ महिनामा होल बडी जाँच गरेर, वा आवश्यक जाँच गरेर, औषधि ल्याएर एक लाख सक्छन् होला, उनले भने, वर्षेनी बीमित भएपछि यसरी नियमित रूपमा जाँच गराउन जाँदैनन् ।’
हरेक नेपाली बीमित भएपछि ३५०० रुपैयाँ प्रत्येक वर्ष जनताबाट आउने गर्छ र बिस्तारै सेवा लिने दर घट्दै जान्ने उनको भनाइ छ ।
सरकारले ०७८/०७९ सम्ममा कुल जनसङ्ख्याको ५० प्रतिशत जनतालाई स्वास्थ्य बीमा गराउने लक्ष्य राखेको छ । तर, हालसम्म २८.८६ प्रतिशत पारिवारिक कभरेज स्वास्थ्य बीमा गराएको बीमा बोर्डले जनाएको छ । ५० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बीमा गराउने सरकारको लक्षणलाई पुरा गर्न नसकिने बीमा बोर्डका कर्मचारीहरू बताउँछन् ।
२८ प्रतिशत घरपरिवारले गरे स्वास्थ्य बीमा
नेपालमा हालसम्म स्वास्थ्य बीमा २८.८६ प्रतिशत घरपरिवार गराएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार नेपालमा ५४ लाख २७ हजार ३०२ परिवार सङ्ख्या छ । जसमध्ये १५ लाख ६६ हजार ३४६ जना घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । बोर्डका अनुसार प्रदेश १ मा चार लाख ८८ हजार ८९१ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेशमा एक लाख १९ हजार ७११ परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने बाग्मती प्रदेशमा दुई लाख ८२ हजार ५१६, गण्डकी प्रदेशमा दुई लाख १५ हजार २१३, लुम्बिनी प्रदेशमा दुई लाख ४६ हजार ४४६, कर्णाली प्रदेशमा ७८ हजार ३३४, सुदूरपश्चिम प्रदेशमा एक लाख ३५ हजार २३५ परिवारले स्वास्थ्य बीमा गराएका छन् ।
बीमितमध्ये महिला बढी
स्वास्थ्य बीमा बोर्डका अनुसार पाँच वर्षको अवधिमा ५१ लाख १६ हजार ३९७ जनाले बीमा गराएका छन् । जसमा महिलाको सङ्ख्या २६ लाख ४५ हजार ३०५ छ भने पुरुषको सङ्ख्या २४ लाख ७० हजार ५३५ र ५५७ अन्य छन् ।
यस्तै, प्रदेश अनुसार प्रदेश १ मा कुल जनसङ्ख्याको ३६.८१ अर्थात् १६ लाख ६९ हजार ३३८, मधेस प्रदेशमा दुई लाख ८३ हजार ६८६ अर्थात् ५.२४ प्रतिशत, बाग्मती प्रदेशमा १० लाख १९ हजार २२२ अर्थात् १८.४३ प्रतिशत जनसङ्ख्या बीमित भएका छन् । गण्डकी प्रदेशमा २६.२२ अर्थात् छ लाख ३० हजार २४४, लुम्बिनी प्रदेशमा आठ लाख एक हजार ८८५ अर्थात् १७.८२ छन् भने कर्णाली प्रदेशमा दुई लाख ९६ हजार ५९४ अर्थात् १८.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा चार लाख १५ हजार ५०७ अर्थात् १६.२७ प्रतिशत जनसङ्ख्या बीमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो