आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अर्थ मन्त्रालयका दुई विभागमा महानिर्देशक हेरफेर, राजस्वमा शाक्य र भन्सारमा भट्टराई

सोमबार, ०२ फागुन २०७८, ०५ : ३४
सोमबार, ०२ फागुन २०७८

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकमा रितेशकुमार शाक्य र भन्सार विभाग महानिर्देशकमा कमल भट्टराईलाई नियुक्त गरी खटाएको छ । सहसचिव शाक्य यसअघि मन्त्रालयकै योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख थिए । सहसचिव भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख थिए ।

यसअघि महानिर्देशक रहेका सहसचिव शोभाकान्त पौडेल गत शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि आन्तरिक राजस्व विभागमा महानिर्देशक पठाइएको थिएन । यस्तै, भन्सार विभागका महानिर्देशक नारायण सापकोटा लुम्बिनी प्रदेशको अर्थ सचिवमा सरुवा भएका थिए । 

गत भदौ २ गते यी दुई सहसचिवलाई अर्थमन्त्री जनार्दन शर्माले उल्लेखित विभागहरूमा महानिर्देशक जिम्मेवारी दिएका थिए । जिम्मेवारी पाएको ६ महिनामै सरुवा भएपछि अर्थमन्त्रीले  यी दुई महत्वपूर्ण विभाग रिक्त नराख्न आइतबार दुई सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । 

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आधादर्जन सहसचिवहरू आकांक्षी थिए । तर, मन्त्रालयका प्रवक्तासमेत रहेका शाक्यले जिम्मेवारी पाएका हुन् । शाक्य लेखा समूहका कर्मचारी हुन् । राजस्व विभागमा राजस्व समूहका सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिने गरिएको थियो । भन्सार विभाग महानिर्देशक जिम्मेवारी पाएका भट्टराई पनि प्रशासन सेवा अन्तर्गतका कर्मचारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप