आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धि : अब कुन बैंकबाट ऋण लिँदा सस्तो ?

आइतबार, ०१ फागुन २०७८, २० : ४६
आइतबार, ०१ फागुन २०७८

२७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, यस पटक माघ महिनाको अन्तिम दिन अर्थात् माघ मसान्तका दिन सार्वजनिक बिदा परेकाले एक दिन ढिला गरी बैंकहरूले फागुन १ गते नै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

गत शुक्रबार बसेको बैंक छाता संगठन नेपाल बैंकर्स संघ बैठकले गरेको भद्र सहमति अनुसार २७ वटै वाणिज्य बैंकहरूले निक्षेपमा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । अर्थात्, बैंकहरूले सामान्य बचतमा न्यूनतम ६.०३ प्रतिशतदेखि ९.५० प्रतिशत र मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत प्रस्ताव गरेका हुन् । 

यस्तो ब्याजदर अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म साधारण बचतमा ५ प्रतिशतदेखि ९ प्रतिशत र मुद्दती निक्षेपमा १०.०५ प्रतिशतसम्म प्रस्ताव गरिएको थियो । अघिल्लो महिनाको तुलनामा बैंकहरूले फागुन महिनाका लागि ८.८८ प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई आउँदो महिनाका लागि बितेको महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतसम्मले वृद्धि गर्न पाउने छुट छ । 

दुई–तीन महिनायता व्याप्त तरलता अभावबीच बैंकहरूले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर आफूखुसी निक्षेपमा ब्याजदर अफर गर्न थाले पनि सो कार्य नियन्त्रण गर्न राष्ट्र बैंकले एक महिनाका लागि अधिकतम १० प्रतिशतले ब्याजदरदर तलमाथि गर्न पाउने व्यवस्था गरिदिएको थियो । सोही व्यवस्था बमोजिम नै बैंकहरूले ब्याजदर वृद्धि गरेका हुन् ।

उसो त निक्षेपमा ब्याजदर वृद्धिको प्रभावस्वरुप यता कर्जाको ब्याजदरसमेत स्वतः बढेको छ । निक्षेपमै बैंकहरूले अधिकतम ११.०३ प्रतिशत ब्याजदर अफर गरेसँगै अब कर्जाको ब्याजदर १७–१८ प्रतिशतसम्म पुग्ने अवस्था बनेको छ । यद्यपि, यस्तो ब्याजदर बैंकहरूले अफर गर्ने आधारदर (बेस रेट), कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर (स्प्रेडदर) र सोमा बैंकले राख्ने नाफाको प्रतिशतमा भरपर्छ । 

कुन बैंकको ब्याजदर कति पुग्ला ?
निक्षेपको ब्याजदरसँगै बैंकहरूले प्रस्ताव गरेका कर्जाको ब्याजदर हेर्दा अब ऋणीहरूले कर्जामा न्यूनतम १५–१६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । तर, यसपटक निक्षेपमा नै अधिकतम ११.०३ प्रतिशतको ब्याजदर अफर गर्दैगर्दा बैंकहरूले आफ्नो आधारदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर घोषणा गरिसकेका छन् । 

सिभिल बैंकले आफ्नो बेस रेटमा अधिकतम ८ प्रतिशत प्रिमियम जोडेर कर्जामा ब्याज लिने बताएको छ । हाल बैंकको बेस रेट ९.७४ प्रतिशत रहेको छ । यसरी बेस रेटमा ८ प्रतिशत जोड्दा बैंकद्वारा वितरण हुने कर्जामा अधिकतम १७.७४ प्रतिशतसम्म ब्याजदर पुग्ने देखिन्छ । यस्तै, माछापुच्छ्रे बैंकले आफ्नो ८.४२ प्रतिशतको आधारदरमा ७.५० प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएको छ ।

नबिल बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले आफ्नो आधारदरमा अधिकतम ७ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएका छन् । यी बैंकहरूको बेस रेट न्यूनतम ७.६२ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म रहेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले आफ्नो ८.९८ प्रतिशतको बेस रेटमा ६.९९ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएको छ भने कुमारी बैंकले ८.९३ प्रतिशतको बेस रेटमा अधिकतम ६.५ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जानकारी दिएको छ । 

सनराइज बैंकले ९.०३ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, एनआईसी एशिया बैंकले ९.४२ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, सिद्धार्थ बैंकले ८.५८ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले र एनएमबी बैंकले आफ्नो ८.५८ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले प्रिमियम जोडेर कर्जामा ब्याजदर लिने बताएको छ ।

७ वटा बैंकले बेस रेटमा ५ प्रतिशतभन्दा कम प्रिमियम जोड्ने
प्रस्तावित ब्याजदरमा ७ वटा बैंकले आफ्नो बेस रेटमा ५ प्रतिशतसम्म मात्र प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएका छन् । जसमा सरकारी स्वामित्वका ३ वाणिज्य बैंकसहित ४ निजी बैंकहरू छन् । 

कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले फागुन महिनाका लागि आफ्नो आधारदर (बेस रेट) मा जम्मा ४ प्रतिशतले मात्र प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने बताएको छ । नेपाल बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोड्ने बताएको छ । हाल यी तीन सरकारी बैंकको बेस रेट क्रमशः ७.५३ प्रतिशत, ६.१४ प्रतिशत र ६.९२ प्रतिशत छ । 

यस्तै, निजी बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ७.४७ प्रतिशतको बेस रेटमा ५ प्रतिशत मात्र प्रिमियम जोडेर ब्याज लिने जनाएको छ । नेपाल बंगलादेश बैंकले पनि ५ प्रतिशत तथा लक्ष्मी बैंक र सिटिजन बैंकले पनि ५ प्रतिशतले नै प्रिमियम जोडेर कर्जाको ब्याज लिने जनाएका छन् । 

हाल लक्ष्मी बैंक र सिटिजन बैंकको बेस रेट क्रमशः ८.७४ प्रतिशत र ९.०८ प्रतिशत रहेको छ । यी कम्पनीहरूको कर्जाको ब्याजदर प्रिमियम जोडेर अधिकतम १४.०८ प्रतिशत हाराहारी पुग्ने देखिन्छ । 

फागुन महिनाका लागि २७ वाणिज्य बैंकहरूले प्रस्ताव गरेका ब्याजदर (प्रतिशतमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप