बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियो

आइतबार, ०१ फागुन २०७८, १९ : २२
आइतबार, ०१ फागुन २०७८

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएका खेलमा विभागीय टोली एपिएफ र संकटाले गोल रहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ ।  त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोल रहित बराबरी खेलेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली तालिकामा सम्मान जनक स्थानको अपेक्षा सहित मैदान उत्रिएका थिए । तर पाएका केही राम्रा अवसरलाई दुवै टोलीले सदुपयोग गर्न नसक्दा अङ्क बाँड्न पुगे ।

एपिएफभन्दा तालिकामा माथि रहेको संकटाले सुरुआतबाट आक्रामक खेल देखाउँदै तीन अङ्कका लागि प्रयास गरेको थियो । तर एपिएफका विदेश गोल किपर युया कुरियामाले उत्कृष्ट खेल खेलेपछि संकटाको प्रयास धेरै पटक विफल भएको थियो । सोही क्रममा ११ औँ मिनेटमा संकटाका फोडे फोफानाको प्रहार युया कुरियामाले उत्कृष्ट बचाउ गर्दै सुरुवाती संकट टारेका थिए । ३५ औँ मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा एपिएफले अग्रताको अवसर खेर फाल्न पुगेको थियो । त्यसपछिको पहिलो हाफको समयमा पनि प्रयास विफल हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औँ मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले आकर्षक शैलिमा बचाए । खेल सकिन १० मिनेट बाँकी रहँदा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो । ८५ औँ मिनेटमा एपीएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपरले सहजै नियन्त्रण्मा लिए र बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीसँगै एपीएफले १० खेल ११ अङ्क जोडेको छ  ।  एपीएफ नवौँ स्थानमा रहेको छ । यस्तै संकटा १० खेलमा १५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । खेलमा एपीएफका गोलकिपर कुरियामा चुनिए ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारकै अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)ले पनि गोल रहित बराबरी खेल्दै अङ्क बाँडे । तालिकाको मध्यभागमा रहेका दुवै टोलीले अङ्कका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । पहिलो हाफमा हिमालयन शेर्पाले दबाब दिएर खेले पनि दोस्रो हाफमा भने रक्षात्मक खेल पस्किएको थियो । अघिल्ला खेलमा औसत प्रदर्शन गरेको एनआरटीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको हिमालयन शेर्पाले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेको थियो । सोही कारण दुवै टोली एक÷एक अङ्क बाँड्दै यस सिजनको लिगको भेट टुङ्गाएका हुन् ।

बराबरी सँगै एनआरटीले १० खेलमा १४ अङ्क जोडेको छ । एनआरटी लिगको सातौँ स्थान रहेको छ भने हिमालयन १० खेलमा १२ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । यस सँगै सहिद स्मारक ए डिभिजन लिगमा १०औँ चरणका खेल पनि सकिएका छन् । साबिक विजेता मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । अब लिगमा मंगलबारबाट ११औँ चरणका खेल आरम्भ हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप