फोहोर व्यवस्थापनमा खै गम्भीर ?
यसपटक नेपालमा मेरो बसाइँ झन्डै २ महिनाको रह्यो । नेपाल बसाइँका क्रममा म टोल छिमेकी, इष्टमित्रहरुसँगको भेटघाटबाहेक डम्पिङ साईट लगायतका ठाउँमा गएँ । फोहोर र फोहोर उठाउने कवाडी लगायतको बारेमा सोधीखोजी पनि गरेँ । उनीहरुको धारणा सुने र समाधानबारे बुझ्नमा केही समय खर्चिएँ । सकेसम्म म नुहाइ ढुवाइ गरेर चिटिक्क घरबाट बाहिर निस्कन्छु । जति नै चिटिक्क परेर निस्के पनि बाटोको गल्ली गल्लीमा, नदीको किनारामा थुप्रिएको फोहोरले वातावरण प्रदूषित छ । हावा प्रदूषित छ ।
यसबाट सहरको सुन्दरता खस्किदो अवस्थामा मात्र नभइ नगरवासीको स्वास्थ्य अवस्थामा समेत बिग्रदो छ । जथाभावी फोहोर फाल्दा उत्पन्न समस्या विकराल बन्दा मेरो मन पोल्छ, सकस हुन्छ । मेरो चिटिक्कपन, मेरो सौन्दर्य र नगरको ऐतिहासिक सौन्दर्य धमिलो र फोहोर वातावरणमा बिलाइजान्छ । स्वास्थ्यसँग गाँसिएको नगरको फोहोर वर्षौंदेखि पेचिलो विषय बनिरहँदा, फोहोर व्यवस्थापनप्रति सरोकारवाला निकाय किन गम्भीर र जिम्मेवार छैनन् ?
पछिल्ला समयमा काठमाडौंलगायत अन्य अव्यवस्थित सहरीकरण र बढ्दो फोहोरका कारण वातावरण प्रदूषण भई जनस्वास्थमा असर पर्ने क्रम तीव्र छ ।
फोहोरका विषयमा राज्यको व्यवस्थापन एकदमै कमजोर देखिएको छ । काठमाडौंलगायत अन्य शहरमा जताततै फोहोरमैला व्यवस्थापन जटिल बन्दै गएको छ । जति सक्दो चाँडो सरोकारवाला व्यक्तिमा फोहोरको दीर्घकालीन व्यवस्थापन खोज्नुपर्ने आवश्यकताको बोध हुन जरुरी छ ।
एकातिर फोहोर व्यवस्थापनमा सरकारको ठूलो धनराशि खर्चनुपर्ने अवस्था छ भने अर्कोतिर फोहोरबाट लिन सकिने वैकल्पिक उत्पादनका बारेमा खास ध्यान दिइएको छैन । फोहोर व्यवस्थापन भनेको उपत्यकाको फोहोर ल्यान्डफिल्ल साईटमा पुर्याउनु मात्र नभई यसको विविध पक्षको व्यवस्थापन पनि हो ।
अव्यवस्थित फोहोर व्यवस्थापनले र वातावरणमा पर्न सक्ने प्रभाव बारेमा पनि अहिले नै सोच्नु आवश्यक हुन्छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार कुल जनसंख्या २९ लाख ९६ हजार ३४१ रहेको काठमाडौं उपत्यकाबाट दैनिक करीब १२ सय टन फोहोर उत्पादन हुन्छ ।
जैविक फोहोर झन्डै ६६ प्रतिशत र नकुहिने फोहोर (प्लास्टिक, फलाम) आदि झन्डै ३४ प्रतिशत उत्पादन हुन्छ । नगरपालिकाको फोहोर संकलन र विसर्जन कामबाहेक अरु प्रक्रिया र व्यवस्थित पूर्वाधार निर्माणमा गम्भीर प्रयास भएको छैन । घरमा फोहोर छुट्याउनु अपरिहार्य छ । कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गीकरण गरियो भने व्यवस्थापनका लागि कम खर्चिलो र सजिलो हुन्छ ।
कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेकाले पनि यसको व्यवस्थापनमा समस्या देखिएको छ । कुहिने फोहोर मल बनाउन, जनावरको लागि खाना, दाना उत्पादन गर्ने र वैकल्पिक ऊर्जा उत्पादनका लागि आकृष्ट हुनुपर्छ ।
कृषि प्रधान देशमा एकतिर बर्सेनि विदेशी मुद्रा खर्चेर रासायनिक मल खरिद गर्नुपर्ने बाध्यता छ । त्यो पनि बेलैमा ल्याउन ल्याउन नसक्दा किसानले दुःख पाउने गरेको अवस्था छ । त्यसैले फोहोरबाट प्राङ्गारिक मल कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । नकुहिने फोहोर (रिसाइकल) पुनः प्रशोधन गरी प्रयोग गर्नु पर्दछ । जसले गर्दा बाँकी फोहोर विसर्जन गर्न र व्यवस्थापनमा सहज हुन्छ ।
पछिल्लो समयमा तीव्र गतिमा बढेको प्लास्टिकजन्य फोहोरका कारण वातावरण, इकोसिस्टम र जनजीवनलाई सयौँ वर्षसम्म हानी पुर्याउँछ । प्लास्टिकजन्य फोहोरले नाली र ढल थुनिएर विभिन्न सहर बर्सेनि जलमग्न हुँदै आएका छन् । गाईवस्तुले प्लास्टिक खाएर फुड चेनमार्फत् दूध र मासु हाम्रो जनजीवनसम्म पुग्दछ । कतिपय अवस्थामा जनावर मरेको सम्म सुनिन्छ । प्लास्टिक प्रदूषणबाट क्यान्सरको सम्भावना बढ्ने अध्ययनहरूले देखाइसकेका छन् ।
फोहोरको व्यवस्थापन नहुँदा सरुवा रोग निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने उपत्यकामा भित्रिने नागरिकको चापसँगै यो तथ्याङ्कको ग्राफ बढ्दै जान्छ । अब फोहोरलाई स्रोतमा घटाउने विधिलाई प्रमुख मुद्दाका रूपमा अघि बढाउनुपर्छ ।
फोहोर संकलन प्रणाली, संकलन केन्द्र, फोहोर प्रशोधन केन्द्र, रिसाइकल केन्द्र, रिसोस रिकभरी क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास गरिएको छैन । फोहोर विसर्जनपछि गरिनुपर्ने फोहोरको ढाकछोप, स्वास्थ्य सुरक्षा विधि र वातावरणीय संरक्षण जस्ता बिषयमा पनि काम हुन सकेको छैन । फोहोरमैला व्यवस्थापन सम्बन्धि तथ्याङ्क र अध्ययन, दीर्घकालीन योजना, उपयुक्त प्रविधि, वैज्ञानिक व्यवस्थापन, व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभावले पनि यसको व्यवस्थापनमा समस्या निम्त्याएको छ ।
नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याइ उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले कार्यान्वयन गर्ने, आवश्यक अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्छ । अन्तरनगरपालिका समन्वय गरी फोहोरमैला व्यवस्थापनमा समुदाय, निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना अगाडि ल्याउन आवश्यक छ ।
काठमाडौं उपत्यकामा वर्षेनी फोहोर सडकमै थुप्रिने बाध्यता छ । यद्यपि फोहोरलाई मोहरमा परिणत गर्नेजस्ता कार्यक्रम त सरकारले ल्याएको छ तर प्रभावकारी बनेको छैन । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यो विषयमा स्थानीय तह आफैं गम्भीर बन्न जरुरी छ ।
फोहोर व्यवस्थापनमा परिवार र व्यक्तिलाई जिम्मेवार बनाउनु त्यत्तिकै आवश्यक छ । सरकार वा नगरपालिकाले आफ्नो घरआँगन सफा गरिदिन्छ भन्ने नागरिक मानसिकताको विकल्प खोज्नु पनि त्यत्तिकै आवश्यक हुन्छ । साथै फोहोर व्यवस्थापन सम्बन्धि काम गर्न सक्षम निकायको स्थापना, वैज्ञानिक उपकरण, प्रविधि तथा अभ्यास, पर्याप्त स्रोत परिचालन गरेर दीर्घकालीन फोहोर व्यवस्थापन गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनका लागि नीति र कानुनी व्यवस्थाका भएता पनि समस्या बढ्दै जानुमा संस्थागत समस्या छ । पर्याप्त कानुनी व्यवस्थाका बाबजुद पनि अपेक्षित काम हुन नसकेको पक्षलाई अब सोच्नुपर्छ ।
फोहोरमैला व्यवस्थापनका लागि नीति, कानुनी व्यवस्थाका कार्यान्वयनमार्फत् र विगतको कमीकमजोरी सच्याएर नयाँ बाटो तय गर्नुपर्छ । फोहोर व्यवस्थापनमा सरकार र स्थानीय तहमात्र जिम्मेवार नठानी प्रत्येक नागरिकको कर्तव्य र दायित्वको बोध गरी फोहोरको व्यवस्थापन, सभ्य र स्वास्थ समाजको निर्माणममा जिम्मेवार हुनुपर्छ । सरकारले उपत्यकाको फोहोर व्यवस्थापनमा वैज्ञानिक विकल्प ल्याउनु पर्छ । फोहोर व्यवस्थापनमा विश्वका मुलुकहरूले अपनाएका विकल्प नेपालमा पनि लागू गर्न सकिन्छ ।
लेखक नेपाली काँग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष तथा सियोल राष्ट्रिय विश्वविद्यालय
अनुसन्धानकर्ता हुन् ।