बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादीको हिरासत भोगेका जनयुद्धका ‘भ्यालेन्टाइन’

देवेन्द्र पराजुली र कल्पना धमलाको ‘लभस्टोरी’
आइतबार, ०१ फागुन २०७८, १८ : ११
आइतबार, ०१ फागुन २०७८

यतिबेला प्रणय सप्ताह चलिरहेको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाएको छ । अंग्रेजी क्यालेन्डरमा १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ पल्टँदैछ । प्रेमिल जोडीहरूको उत्सव चलिरहेको छ । पात्रोले भन्दैछ– अघिल्लो दिन जनयुद्ध दिवस, भोलिपल्ट भ्यालेन्टाइन डे । प्रेम र युद्ध !  

तत्कालीन विद्रोही नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको दिन अथात् फागुन १ गते । अनि प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । यी दुवै प्रसंग अनुकुल पात्र हुन् माओवादी नेता देवेन्द्र पराजुली र कल्पना धमला ।

विसं.२०५३ सालमा सँगसँगै बाँच्ने मर्ने कसम खाएर वैवाहिक सहयात्रा सुरु गरेको यो जोडी देश बनाउन भन्दै ०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्धमा होमिएको थियो । उनीहरु २५ वर्षदेखि एउटै डुंगामा सवार छन् ।

नेपाली समाजले इटालीको रोमबाट सुरु भएको ‘भ्यालेन्टाइन डे’ खुबसँग मनाउन थालेको छ । प्रेमका नाममा छुट्टिनु र भेटिनुलाई नयाँ पुस्ताले अफ्ठ्यारो मान्दैन । तर, देवेन्द्र कल्पनाको हकमा भने त्यो समय सहज थिएन, भ्यालेन्टाइन (इटालियन सैनिक) को जस्तै । अझ, देवेन्द्रलाई त ‘जनयुद्धका भ्यालेन्टाइन’ भन्दा पनि फरक पर्दैन ।

‘स्वास्थ्य उपचारका लागि हामी भारतको पटना पुगेका थियौं, त्यहीबेला हाम्रो टिम गिरफ्तारमा पर्‍यो,’ देवेन्द्र स्मृतिमा जान्छन्, ‘कल्पना, म र केही साथी भने गिरफ्तार हुनबाट बच्यौँ र त्यहाँबाट भाग्न सफल भयौं । तर, पार्टीले भने शंकाको घेरामा राख्यो र दुवैजनालाई हिरासतमा लियो । हामी श्रीमान–श्रीमती धेरै नै मिल्ने, कहिल्यै नछुट्ने भएकै कारण पार्टीले शंका गर्‍यो ।’

पार्टीबाट भएको अन्याय स्मरण गर्छिन् कल्पना, ‘पार्टीले देवेन्द्रले गल्ती गरेको कुरा पटक पटक दोहोर्‍याइरह्यो, मैले गलत कुराको इन्कार गरिरहेँ’ देवेन्द्र थप्छन् ‘मलाई पार्टीले हिरासतमा लियो, १३ महिना जीवनसाथीबाट अलग भएर बस्नुपर्‍यो । चिनजानका साथी नभएका होइनन् तर, मनको बह पोख्ने कोही थिएन ।’

श्रीमान एकातिर, श्रीमती अर्कातिर । न खबर, न चिट्ठीपत्र । सम्झनामै उनीहरूले १३ महिना बिताए । देवेन्द्र सम्झन्छन्, ‘पार्टीले दिएको टेक नाम कुसुम अर्थात् ‘कमरेड कुसुम’ थियो, उनै प्रिय कुसुमका नाममा शब्द कोर्थेँ, भावना पोख्थेँ ।’

पतिको प्रेम र आफूप्रतिको समर्पण छल्काउँदै कल्पना भन्छिन्, ‘उहाँले केही डायरी भर्नुभएको रहेछ जहाँ मेरा नाममा पनि थुप्रै पाना भरिएका थिए । डायरीमा भरिएका पानाहरु पढेँ । कुनै दिन पुस्तक निकाल्छौँ ।’

दुईमध्ये कसले पहिले प्रेमको प्रस्ताव राख्यो ? योचाहिँ उनीहरूको स्मरणमा छैन । या, उनीहरु बताउन चाहँदैनन् ।  जनयुद्धकालमा साथीहरूले मिलाइदिएको जोडीले एक्लाएक्लै भेट्ने अवसर पाउन मुस्किल थियो, सुरक्षाको दष्टिकोणले । ‘विवाह गर्ने पक्का भइसकेपछि त एक्लाएक्लै भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर, सहज थिएन, यद्यपि असहजताका बीचमा हामीले कहीँ कतै चिया पसलमा भेट्यौं, विवाहअघि केही पार्क घुम्यौं,’ हाँसोको फोहरा छोड्दै स्मृतिमा जान्छन् देवेन्द्र ।

विवाहका लागि परिवारको सहमति उनीहरुलाई अपरिहार्य लाग्थ्यो । अन्ततः आफन्तहरूको सहमति र उपस्थितिमा ठमेलमा देवेन्द्र र कल्पनाको विवाह सम्पन्न भयो । तर, सिन्दुर पोते चुरा धागोको आवश्यकता यो दम्पतीले ठानेन । ‘आमाबुबाले टीका लगाएर आर्शिवाद दिनुभयो, समान्य भोज भयो, विवाह सकियो,’ देवेन्द्रले प्रगतिशील विवाहको प्रसंग सुनाए ।

नेपाली समाजमा हुर्किएकी नारी कल्पनामा बेहुली बन्ने, श्रृंगार गर्ने रहर थिएन होला त ! समाजको साझा जिज्ञासा हुन सक्छ । जिज्ञासा मेटाउँदै कल्पना भन्छिन् ‘अहँ थिएन, सिन्दुर, धागो, टीका चुरा एक हिसावले महिलाका लागि बन्धन् हुन् । धार्मिक हिसाबले पनि यो नारीका लागि बन्धन नै हो भन्ने मेरो बुझाइ हो । त्यसैले यी कुरा मेरा लागि रुचीकर बनेनन् ।’

देख्ने र चिन्नेहरूले कल्पना र देवेन्द्रको विवाहलाई प्रेमविवाह नै हो भनेर दावी गर्छन् । आफ्नै छोरीसमेत बाबा–ममीको सम्बन्ध देखेर प्रेम विवाह नै हुनुपर्छ भनेर जिद्दी गर्छिन । तर, कल्पना अर्कै वास्तविकता सुनाउँछिन्, ‘हाम्रो सम्बन्ध प्रेमबाट उदाएको होइन । पार्टी र पार्टीभित्र काम गर्नेहरूले तपाईहरु बिवाह गर्नुहोस् भनेर प्रस्ताव गरिदिनुभयो अनि हामी विवाह गर्ने निधोमा पुगेका थियौं ।’

कल्पनाको कुरोमा सही थप्दै देवेन्द्र भन्छन्, ‘हाम्रो प्रेम भएर विवाह भएको होइन, बरु पार्टीभित्रका साथीहरू अमृता थापा, बलावती शर्मा, कृष्णध्वज खड्का, रेखा शर्मालगायतले प्रस्ताव गरेपछि चाहिँ प्रेम सुरु भयो ।’

सहयात्राका लागि माया, प्रेम र विश्वास नै काफी हुने कल्पना–देवेन्द्र दम्पतीको बुझाइ छ । विवाहको २५ वसन्तमा पनि कल्पना र देवेन्द्रको जोडी उस्तै रहरलाग्दो छ । आफ्नै पार्टीभित्र पनि यो जोडीको खुबै चर्चा हुन्छ । कल्पना पति–पत्नीबीचको सम्बन्धको चर्चा गर्छिन् ‘हामी सँगै हिड्छौं । म स्कुटर चलाउँछु, उहाँ पछाडि बस्नुहुन्छ, पार्टीका कार्यक्रम र बैठकमा सँगै पुग्छौं । कतिपयले हाम्रा बारेमा जोक र चुट्किला नै बनाउनुहुन्छ ।’

ठास्सठुस्स भन्दा बढी सहयात्रामै २५ वर्ष बिताएका उनीहरुले कहीँ ठेस ब्यहोरेका छैनन् । बरु, सशस्त्र द्वन्द्वका बखत एक अर्कासँग छुट्टिएर भूमिगत हुनुपर्दाका वियोगान्त छन् उनीहरूसँग । जीवन र मरणको दोसाँधमा युद्धमा होमिँदा श्रीमान–श्रीमतीको पुनः मिलन होला नहोला भन्ने चिन्ताले सताउँथ्यो । द्वन्द्वमा होमिँदा बच्चा जन्माउने कि नजन्माउने, जन्माएपछि के गर्ने जस्ता प्रश्नले सताउँथे उनीहरूलाई ।

मातृ चाहना र परिस्थितिबीचको मनोदशा पल्टाउँछिन् कल्पना । भन्छिन्, ‘परिवर्तनका लागि लडिरहेका कयौं साथीहरूको अवस्था देखेर कहाली लाग्थ्यो, बच्चा जन्माइसकेका साथीहरूको अवस्था, घरपरिवारको असहयोगजस्ता अनेकन समस्या देखेर म बच्चा जन्माउनै चाहन्नथेँ । ‘यद्यपि उहाँको साथ, सहयोग र भरोसाले २०५५ भदौमा छोरीलाई जन्म दियौं । तर, छोरीको आडभरोसा हामीभन्दा हाम्रो परिवार थियो ।’

छोरीको जिम्मा परिवारलाई लगाएकै कारण आजसम्म पनि छोरीले बाबा ममीलाई ठूलोबुबा ठूलोममी भन्छिन्, अनि काका काकीलाई चाहिँ बाबा ममी !

काखकी छोरी छाडेर भूमिगत हुनुपर्दा युद्धबाट फर्किएर छोरी भेट्न पाइएला नपाइएला भन्ने चिन्ताले पिरोलिन्थ्यो देवेन्द्र दम्पती । अझ भूमिगत अवस्थामा पार्टीको कारवाहीपछिको बिछोडले त यो दम्पती खुबै बिछिप्त बनेको थियो ।

२५ वर्ष लामो प्रेमिल यात्रामा उनीहरूले २०७० सालमा जुम्ल्याहा छोरालाई जन्म दिएका छन् । एक छोरी र दुई छोराका साथमा राजनीतिक यात्रा पनि अघि बढाइरहेकै छन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विज्ञान तथा प्रविधि मन्त्रालयसमेत सम्हालेकी कल्पना पछि बाबुराम भट्टराईकै ट्रयाकमा रहेर नयाँ शक्ति पार्टीमा लागिन् । तर, पछि धमला र पराजुलीको जोडी माओवादीमै फर्कियो ।

‘दश वर्षे जनयुद्धमा सँगै संघर्ष गरेका कमरेडहरुसँगै रहेर यात्रा अघि बढाउँ भनेर फर्किएका हौं’, पराजुली दम्पती सुनाउँछन्, ‘हिजो जनयुद्धमा सँगसँगै जीवन–मरणमा लागेका कमरेडहरूसँग बहस गर्न आनन्द आउँछ ।’

आज जनयुद्ध दिवसको दिन । माओवादी आन्दोलनको चर्चा गर्दा पार्टीभित्रको प्रणालीबाट भने देवेन्द्र र कल्पनाको यो जोडी सन्तुष्ट छैन । पार्टी संस्थागत निर्णयमा जानुपर्छ, पार्टीका नेता तथा कार्यकर्ता आफ्नै बैध कमाइबाट बाँच्न सक्ने अवस्थामा देशलाई विकास र समृद्धिको बाटोमा पुर्‍याउनुपर्छ भन्ने देवेन्द्र र कल्पना दम्पतीको चाहना छ । जसका लागि उद्यमशीलताको बहस सुरु हुनुपर्ने उनीहरूको मत छ ।

भिडियो हर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप