शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रूस–युक्रेन विवाद : सुनको मूल्य वर्षकै महँगो, प्रमुख कमोडिटीको मूल्य झनै बढ्ने

आइतबार, ०१ फागुन २०७८, १५ : ००
आइतबार, ०१ फागुन २०७८

  दुई युरो–एसियाली मुलुक रूस र युक्रेनबीच जारी सैन्य टकराव स्थितिको प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ । यही तनावका कारण नेपालमा पेट्रोलियम पदार्थ उच्च मूल्य विन्दुमा पुगिसकेको छ । अब पहेँलो धातु अर्थात् सुनको मूल्यसमेत दुई देशबीचको सैन्य संकटको छायामा पर्न थालेको हो । नेपाल पेट्रोलियम पदार्थमा जस्तै सुनमा समेत पूर्णतः परनिर्भर छ ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य वि.सं. २०७७ साल पुस २२ गतेयताकै सबैभन्दा उच्च हो । उक्त मितिमा नेपालमा सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । 

यस्तै, पुस २३ गते सुनको प्रतितोला मूल्य ९५ हजार ४०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार त्यसयता सुनको मूल्य निरन्तर घट्दै गत वर्ष फागुन २१ गते प्रतितोला मूल्य ८५ हजार ६०० रुपैयाँसम्म झरेको थियो ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यले रूस–युक्रेन विवाद लम्बिँदै जाँदा सुनको मूल्य उकालो लागेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘रूस र युक्रेनबीच युद्ध हुने त्रासका कारण सुनको अन्तर्राष्ट्रिय मूल्य निरन्तर बढ्दैछ, जसको प्रभाव नेपालसम्मै परेको हो ।’

अमेरिकी डलर विनिमयदर वृद्धिले समेत नेपालमा सुनको मूल्य उकालो लाग्ने गर्छ । सुनसम्बन्धी जानकारी दिने ‘गोल्डप्राइसडटओआरजी’का अनुसार हिजो शनिबार एकैदिन सुनको अन्तर्राष्ट्रिय मूल्य प्रति औंन्स (३१.१० ग्राम) ३२.०९ अमेरिकी डलर उकालो लाग्यो । यो भनेको एकै दिन सुनको मूल्य १.७६ प्रतिशत बढेको हो । यस्तै, गोल्डप्राइसका अनुसार हिजो शनिबार एकैदिन अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतितोला मूल्य १०३१.५६ डलरले उकालो लागेको छ ।


खासगरी महामारी, मानवीय संकट, युद्ध सम्भावना र बहुराष्ट्रिय कम्पनीको लगानी डुब्दा सुनको मूल्य बढ्ने गर्छ । ‘अन्यत्र गरेको लगानी डुब्ने सम्भावना हुँदा सुनमा लगानी गर्नेहरूको संख्या बढ्छ,’ शाक्यले भने, ‘यदी रूस र युक्रेनबीच युद्ध भए त्यहाँका मानिस देश छाडेर भाग्नुपर्ने स्थिति आउँछ ।’ त्यसरी भाग्दा आफूसँग भएको रकम बोकेर जाने, तर अन्य देशमा नचल्ने हुनसक्छ । त्यसैले, त्यस क्षेत्रका मानिसले सुनमा लगानी बढाएको हुनसक्ने शाक्यको भनाइ छ ।

‘रकम बोकेर जाने सम्भावना न्यून हुन्छ । तर, सुन त जुनसुकै देशमा चल्छ,’ शाक्यले भने, ‘त्यसैले सुनमा लगानी गर्नेको सम्भावना बढ्छ ।’ यसका साथै अन्तर्राष्ट्रिय रूपमा युद्धको सम्भावना र सैन्य संकट आउँदा सुन, चाँदी, खनिज धातु र पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा बढी प्रभावित बन्ने उनले बताए । 

यसअघि, कोरोना महामारीको चरम कुप्रभाव रहेका बेला पनि सुनको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । त्यतिखेर लगानी कम्पनीहरूले सुनमा ह्वात्तै लगानी बढाएका थिए । जसकारण सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो ।

विश्वभर फैलिएको कोभिड–१९ महामारी रोकथामका लागि गरिएको विश्वव्यापी लकडाउन खुलेपछि सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । वि.सं. २०७७ सालको साउन २५ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँ पुगेको थियो । उक्त समयमा विश्वभरका लगानीकर्ताले सुनसँगै सेयर बजारमा लगानी गर्दा सेयर र सुनको मूल्य सँगसँगै उकालो लागिरहेको थियो ।

‘लगानीका अन्य क्षेत्रमा निम्तिने अनिश्चिततका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुन्छन्,’ शाक्य भन्छन् । अन्य लगानीका क्षेत्रमा लगानी गर्दा लगानी नै डुब्ने सम्भावना हुन्छ । त्यसैले संकटको समयमा लगानीकर्ताहरूको प्रमुख आकर्षण यही क्षेत्रमा पर्ने सुन व्यवसायीहरू बताउँछन् ।

रूस तेस्रो ठूलो सुन उत्पादक
पेट्रोलियम पदार्थमा जस्तै सुन उत्पादन र खपतमा पनि रूस विश्वमै अग्रणी छ । विकीपेडिया (सन् २०२०) अनुसार रूस विश्वकै तेस्रो ठूलो सुन उत्पादक हो । उसले प्रतिवर्ष ३०० मेट्रिक टन सुन उत्पादन गर्दै आएको छ । रूसभन्दा अघि अष्ट्रेलिया (३२० मेट्रिक टन प्रतिवर्ष) दोस्रो स्थानमा र चीन (३८० मेट्रिक टन प्रतिवर्ष) पहिलो स्थानमा छ ।

रूस विश्वकै तेस्रो ठूलो सुन आपूर्तिकर्ता पनि हो । यदी, रूस युद्धमा होमिए उसको उत्पादनसँगै विश्व बजारमा आपूर्ति घट्छ । उल्टै रूसले विश्व बजारबाट सुन किन्नुपर्ने स्थिति आउनसक्छ । विकीपेडियाका अनुसार रूस विश्वको पाँचौ ठूलो सुन भण्डारणकर्ता हो । उसले दुई हजार २९८ मेट्रिकटन सुन भण्डारण (रिजर्भ) राखेको छ । महासंघका अध्यक्ष शाक्य भूराजनीतिक कारणले सुनको मूल्य उकालो लाग्न थालेको बताउँछन् । 

यी दुई मुलुकबीच युद्धको सम्भावना बढ्दै र विवाद लम्बिँदै जाँदा पेट्रोलियम पदार्थको मूल्य यसअघिदेखि नै उकालो लागिरहेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५.१० अमेरिकी डलर पुगेको छ । जसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने निश्चितजस्तै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप